चुत्रेनी खेलमैदान ‘डीपीआर’मै सीमित
सारांश
- म्याग्दीको बेनी नगरपालिका-६ चुत्रेनीमा खेलमैदान निर्माणको योजना डीपीआरमै सीमित छ।
- आर्थिक अभावका कारण डीपीआर तयार पारेको चार वर्षसम्म पनि योजना कार्यान्वयन सुरु हुन सकेको छैन।
- स्थानीय तहसँग पर्याप्त स्रोत नहुँदा र प्रदेश तथा संघीय सरकारको साथ नपाउँदा योजना अघि बढ्न सकेको छैन।
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मै सीमित भएको छ । खेलमैदान निर्माणका लागि विसं २०७८ मा तयार पारिएको रु चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयन हुन नसकेको हो ।
आर्थिक स्रोतको अभावमा डीपीआर तयार पारेको चार वर्षसम्म पनि योजना कार्यान्वयन सुरु गर्न नसकेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताए ।
“११ ए साइडको फुटबल खेल सञ्चालन गर्न सकिने क्षेत्रफलको खेलमैदानमा पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारमा योजना प्रस्ताव गरे पनि प्राथमिकतामा परेको छैन”, उनले भने, “स्थानीय तहसँग पर्याप्त आर्थिक स्रोत छैन । प्रदेश र सङ्घीय सरकारबाट साथ नपाउँदा सुविधायुक्त र व्यवस्थित खेलमैदान बनाउने योजना अघि बढ्न सकेको छैन ।”
गण्डकी प्रदेशमा विसं २०७९ मा सञ्चालन भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि चुत्रेनीमा खेलमैदान बनाउने चर्चा भएको थियो । राष्ट्रिय खेलकुद परिषद् र प्राविधिक टोलीले चुत्रेनी पुगेर खेलमैदानको अवलोकन पनि गरेका थिए ।
म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारदेखि चार किलोमिटर पश्चिमतर्फ म्याग्दी नदीको किनारमा बालजागृति आधारभूत विद्यालय परिसरको खेलमैदानमा प्यारापिट, घेराबार र स्टेजलगायतका पूर्वाधार आवश्यक छ । बेनी नगरपालिकाले हालसम्म करिब रु ४० लाख खर्चेर खेलमैदान सम्माएको, भूमिगत पानी व्यवस्थापन र केही ठाउँमा तारजाली लगाएको वडाध्यक्ष बानियाँले बताए ।
फुटबल, क्रिकेट, भलिबल, बास्केटबलका साथै एथलेटिक्स खेलको अभ्यास र प्रतियोगिता सञ्चालनका लागि चुत्रेनीको मैदानमा पर्याप्त जग्गा भए पनि व्यवस्थित हुन नसकेकोमा मुनसन युवा क्लबका अध्यक्ष दिनेश बानियाँले चिन्ता व्यक्त गरे ।
“बेनी नगरपालिकाका क्षेत्रकै ठूलो र पर्याप्त जग्गा भए पनि चुत्रेनीको खेलमैदानमा सरोकारवालाको आँखा पर्न नसक्नु दुःखद् छ”, उनले भने, “चुत्रेनीको खेलमैदानलाई पूर्वाधार तयार पारेर व्यवस्थित गर्नसकेमा खेलकुदसँगै यस क्षेत्रको आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुग्ने थियो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण