बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाढी-पहिरोका कारण देशका १६ स्थानमा मुख्य सडक अवरुद्ध

आइतबार, १५ भदौ २०८२, ११ : ३५
आइतबार, १५ भदौ २०८२

सारांश

  • अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ, जसले गर्दा यातायात प्रभावित भएको छ।
  • काठमाडौं, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध पारेको छ।
  • सडक अवरुद्ध हुँदा कतिपय स्थानमा एकतर्फी मात्रै सञ्चालनमा रहेको छ भने केही स्थानमा पूर्ण रूपमा यातायात बन्द भएको छ।

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका मुख्य राजमार्गका १६ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै केही स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । 

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकामा नागार्जुन नगरपालिका–८ स्थित भिमढुंगा ठुलो खोलामा पहिरो जाँदा धार्के चल्ने सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । 

कोशी प्रदेशमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुण नदीमा अविरल वर्षाका कारण डाइभर्सन बगाएपछि कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने तेह्रथुमको लालीगुराँस नगरपालिका तिनधुरेमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ  । 

बागमती प्रदेशमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका –२  मा बाढीका कारण नेपाल र चीन नाका जोड्ने पुल बगाउँदा डेढ महिनादेखि सडक पूर्णरुपमा अवरुद्ध छ । यसैगरी सोही वडाको स्याउ पार्किङमा पहिरो जाँदा पासाङल्हामु सडक पूर्ण अवरुद्ध छ । 

यस्तै गोसाईंकुण्ड गाउँपालिका –३ मेदामुदुङमा पहिरोका कारण पासाङ ल्हामु सडक एकतर्फी चालु छ ।  रसुवाकै उत्तरगया गाउँपालिका–५ नौबिसेमा बाढीका कारण गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रुवेसी जाने सडक एकतर्फी चालू छ । 

यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग, नुवाकोटको विदुर नगरपालिका १० तिरतिरे भिरमा पहिरो जाँदा पासाङ ल्हामु सडक पूर्ण रूपमा अवरुद्ध छ ।

गण्डकी प्रदेशमा बागलुङको बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरो जाँदा कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैडाकोट नगरपालिका–३ तरङखोलामा पहिरो जाँदा कालीकण्डकी करिडोर र तनहुँको बन्दिपुर गाउँपालिका–४ चुनपहरामा गएको पहिरोका कारण पृथ्वी राजमार्ग एकतर्फी चालू छ । 

म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भीरमा पहिरो जाँदा बेनी–दरवाङ सडक र लमजुङको लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झर्नामा पहिरो जाँदा बेसीशहर–मनाङ सडक पूर्ण रूपमा अवरुद्ध छ ।  

लुम्बिनी प्रदेशमा रोल्पाको रोल्पा त्रिवेणी गाउँपालिका–२ घोराही थवाङ सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध छ ।  दाङको लमही नगरपालिका–९ जालीमा बाढीका कारण राप्ती राजमार्ग र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ बरमकोट नौलापानीमा पहिरो जाँदा सालझण्डी ढोरपाटन सडक एकतर्फी  चालु छ । 

कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट  नगरपालिका–६ रिजिगारमा बाढीका कारण यस्तै सोही नगरपालिकाको  वडा नम्बर ११ सिसापानीको दुई स्थानमा गएको पहिरोका कारण जाजरकोट डोल्पा भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध छ । यस्तै कोलिकोटको शुभकालिका गाउँपालिका १ गगने खोलामा पहिरो जाँदा कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध छ ।

जाजरकोटको भेरी नगरपालिका –४ मूलपानीमा बाढीका कारण जाजरकोट सडक, सोही नगरपालिका १  कालेगाउँ मा पहिरोका कारण जाजरकोट–खलङ्गा–रिन्ना सडक र छेडागाड नगरपालिका–२, ४ मर्फिङमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप