बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कोशी सरकार दुई तिहाइको बोझले थलियो : चापागाईं

आइतबार, १५ भदौ २०८२, १६ : २२
आइतबार, १५ भदौ २०८२

सारांश

  • कोशी प्रदेश सांसद दुर्गा चापागाईँले दुई तिहाइको प्रदेश सरकार जनताप्रति जवाफदेही नभएको आरोप लगाए।
  • उनले महँगी नियन्त्रण, यातायात सुधार, र किसानका समस्या समाधान गर्न सरकारसँग माग गरे।
  • चापागाईँले प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, र आर्थिक विकासमा ध्यान नदिएको गुनासो गरे।

विराटनगर । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सांसद दुर्गा चापागाईँले दुई तिहाइ बहुमतको प्रदेश सरकार जनताप्रति जबाफदेही नभएको भन्दै कडा आलोचना गरेका छन् । कोशी प्रदेशसभाको आइतबार बसेको बैठकको विशेष समय लिएर बोल्दै उनले सरकार भौतिक पूर्वाधार विकास, संवैधानिक अधिकारको उपयोग तथा जनजीविकाका सवालमा पूर्ण रूपमा असफल भएको आरोप लगाएका हुन् । 

सांसद चापागाईँले दुई तिहाइको सरकार भए पनि प्रदेश सरकार आफैँ दिनप्रतिदिन थलिँदै गएको र जनताको जनजीवन झन् भयावह र विकराल बन्दै गएको बताए । नजिकिँदै गरेका मुख्य चाडपर्वहरूलाई लक्षित गर्दै उनले अनियन्त्रित, असुरक्षित र महँगी बजार नियन्त्रण गर्न तथा अस्तव्यस्त यातायात प्रणाली सुधार गरी गरिब तथा विपन्न वर्गलाई पनि चाडपर्वमा खुसीका साथ खान, हाँस्न र नाच्न पाउने वातावरण बनाउन सरकारसँग जोडदार माग गरे । 

कृषि क्षेत्रका समस्या औँल्याउँदै चापागाईँले लामो खडेरीपछि बल्लतल्ल धान रोपेका किसानले मल नपाएको, कृषि उपजको बजारीकरण नभएको र लम्कीस्किन जस्ता सङ्क्रामक रोगबाट पशु चौपायाको क्षति रोक्न सरकार असफल भएको गुनासो गर्नुभयो । उनले अण्डा, कुखुरा र माछाको अव्यवस्थित तथा अवैध आयात रोकेर प्रदेशलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले पर्याप्त ध्यान नदिएको तथा किसानले दूधको भुक्तानी समेत समयमा नपाएको उल्लेख गरे । 

गुणस्तरीय शिक्षा र स्वास्थ्यको पहुँचबाट आम सर्वसाधारण वञ्चित रहेको, प्रदेशवासीको आर्थिक अवस्था कमजोर बन्दै गएको र साना तथा ठुला व्यापारी, निर्माण व्यवसायी र उद्योगीहरू पलायन हुने अवस्थामा रहेको चापागाईंको भनाइ थियो । उनले प्रदेशको आर्थिक विकासका मुख्य आधार कृषि, पर्यटन र जलविद्युतमा योजनाबद्ध लगानी र कामको थालनी कहिलेबाट हुन्छ भन्दै सरकारलाई प्रश्न गरे र सरकार यतिखेर केमा व्यस्त छ भनी जानकारी माग गरे । 

सांसद चापागाईँले संसदीय प्रणालीमा सत्तापक्षको सरकार र प्रतिपक्षको सदन हुने प्रचलन भए पनि प्रदेशसभाको दोस्रो कार्यकालको तीन वर्ष बित्न लाग्दा पनि सरकार प्रदेशसभा नियमावली टुङ्ग्याउन तयार नभएकोमा आक्रोश व्यक्त गरे ।  उनले प्रदेश आमसञ्चार विधेयक र सरकारी कामकाजको भाषासम्बन्धी विधेयक सभामा अलपत्र अवस्थामा रहेको बताउँदै सरकार यी विधेयक र नियमावलीलाई अलपत्रै छाडेर यो अधिवेशन अन्त गर्न उद्यत रहेको आरोप लगाए । 

प्रदेशका मुख्य दुई दल सरकार सञ्चालनमा होस् वा प्रदेशसभा सञ्चालनमा पूर्ण रूपमा असफल भएको प्रस्ट हुने उनको भनाइ थियो । चापागाईँले सरकारलाई चालु संसद् अधिवेशनबाट नभाग्न र प्रदेश नियमावली तथा प्रक्रियामा रहेका विधेयकहरू टुङ्ग्याउन माग गरे । उनले संसद् छल्न नभई नयाँ बिजनेस सिर्जना गर्न आग्रह गर्दै प्रतिपक्षी दलहरू रचनात्मक सहयोग गर्न तयार रहेको स्पष्ट पारे । अन्यथा, सरकारको असक्षमता र असफलताको भागीदार बन्न प्रतिपक्ष तयार नरहेको उनले चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप