मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
कलाकार

अभिनय ‘इन्जोय’ गर्ने सुरक्षा : ‘विवादले मलाई केही फरक पार्दैन’

मङ्गलबार, १७ भदौ २०८२, ०६ : ०८
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • अभिनेत्री सुरक्षा पन्तको नयाँ फिल्म 'कोसेढुंगा' प्रदर्शनमा आएको छ, जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।
  • फिल्ममा सुरक्षाले गाउँकी युवतीको भूमिका निभाएकी छिन्, र उनले अभिनयलाई लिएर खुसी व्यक्त गरेकी छिन्।
  • सुरक्षाले निर्देशनमा रुचि राखेको र आफ्नो श्रीमानसँग मिलेर फिल्म निर्देशन गर्ने योजना बनाएको बताएकी छिन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । आफूले गरेको कामले प्रशंसा पाउँदा खुसी नहुने को होला र ? हिजोआज अभिनेत्री सुरक्षा पन्त पनि प्रशंसाका शब्दहरूले पुलकित छिन् । 

उनको शीर्ष भूमिका रहेको फिल्म ‘कोसेढुंगा’ अहिले सिनेमा हलहरूमा चलिरहेको छ । फिल्मबाट उनले दर्शकहरूको राम्रो ‘रिभ्यु’ पाइरहेकी छिन्, जसले उनको खुसीको ग्राफ बढाइरहेको छ । 

‘फिल्मको राम्रो रिभ्यु देख्दा खुसी लागेको छ । केही पहिलेसम्म त लेख्ने चलन हराएको थियो,’ सुरक्षा भन्छिन्, ‘धेरैले म्यासेज, मेल र फोनबाट राम्रो प्रतिक्रिया दिइरहनुभएको छ ।’

‘नत्र भने जिन्दगी’ फिल्ममा समेटिएको छ यो गीत । फिल्ममा तिजको माहौलका लागि राखिएको यो गीतले पनि दर्शक-श्रोतालाई लट्ठ्याएको छ । यो गीत पनि फिल्मको ‘हाइप’ बनाउने एक कारण बन्यो । 

‘धेरैले मलाई यसै गीतका कारण चिन्नुभएको छ । एक्सपोजर बढेको छ । गीतलाई रुचाउनुभएको छ, जहाँ पुग्दा पनि गुञ्जिएको देख्दा खुसी लाग्दो रहेछ,’ सुरक्षा सुनाउँछिन् । 

सुरक्षा पाँच महिनापछि ठुलो पर्दामा आएकी हुन् । गत वैशाखमा उनी अभिनीत फिल्म ‘खेल’ प्रदर्शनमा आएको थियो । तर उक्त फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेन । 

‘ग्यापपछि फिल्म आउँदा दर्शकले ‘फ्रेस’ महसुस गर्छन्,’ सुरक्षा भन्छिन्, ‘दर्शकहरूले मिस गरिरहेका हुन्छन् नि त । आफूलाई पनि ग्रोथ भएको जस्तो लाग्छ ।’

अलि लामो ‘ग्याप’ हुनुको कारणमा सुरक्षा एकै प्रकारको भूमिकाको अफर आउनुलाई मान्छिन् । एकपछि अर्को उही खालको चरित्र निभाउँदा ‘भेरिएसन’ दिन नसकिने उनको तर्क छ । ‘अलि ब्रेक लिएर गर्‍यो भने मैले क्यारेक्टरका ग्राफहरू देख्न थाल्छु,’ उनी भन्छिन्, ‘यो फिल्ममा आफ्नो पर्फमेन्स अझै डिटेलमा गर्ने कोसिस गरेको छु ।’

surakshya-panta-in-kgkd

‘कोसेढुंगा’मा गाउँको एउटा सामान्य युवती ‘शीतल’को भूमिकामा छिन् सुरक्षा । 

‘गाउँमा हिरो भएर बसेकी केटी सिस्टमसँग ठोक्किँदा कसरी जिरो हुन्छे भन्ने भाइबमा छ क्यारेक्टर,’ उनी भन्छिन्, ‘मैले आफूले त्यसरी नै प्ले गर्ने हो पात्रलाई ।’ गाउँमा एउटी केटीले अहिले पनि सङ्घर्ष गर्नुपर्ने वास्तविक कथा फिल्ममा चित्रण गरिएको उनी बताउँछिन् ।

‘गाउँमा ऊ त आफू हाइफाइ भएरै बसेकी हो नि त । बाबुआमा थर्काएर । केटालाई थर्काएर,’ सुरक्षा भन्छिन्, ‘तर पछि उसको लाइफमा बज्रपात परेपछि कसरी चेन्ज हुन्छ भन्ने खालको ग्राफ मेरो क्यारेक्टरमा छ ।’ ‘कोसेढुंगा’मा सुरक्षालाई अभिनय गर्न मन लाग्नुको कारण कथाले छोएकाले हो ।  

‘सबैको मनलाई छुन्छ यस्ता कथाहरू । यो फ्याक्ट पनि हो, भइराखेकै कुराहरू हुन्,’ उनी भन्छिन् । 

फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन्, जसको अघिल्लो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ब्लकबस्टर भएको थियो ।  

506321050_18506891683047154_7350454613140447235_n

निर्देशक पौडेलका लागि पनि यो फिल्म विशेष भएको सुरक्षा बताउँछिन् । ‘पूर्णबहादुरको सारङ्गी’ले अनएक्सपेक्टेड व्यवसाय गर्‍यो,’ उनी भन्छिन्, ‘दाइलाई पनि प्रेसर हुन्छ नि । उहाँका लागि पनि फिल्म चल्नुपर्ने नै थियो ।’

फिल्ममा थुप्रै कलाकार छन् । तर रिलिज अगाडि प्रचारमा सुरक्षा मात्रै छाएकी थिइन् । ‘गीत चलेर हो, के गर्नु,’ हाँस्दै उनी भन्छिन्, ‘हिँड्ने मामलामा पनि अरू कलाकार भन्दा म नै बढी हिडेँ ।’ अन्य कलाकारहरूको व्यस्तताका कारण पनि आफू बढी देखिएको उनी बताउँछिन् । 

सुरक्षाका हरेक फिल्म आउँदा उनको भूमिकाको चर्चा हुन्छ । ‘मैले व्यक्तिगत रूपमा छनोट गर्ने हो, आफूलाई मन परेको स्टोरीमा काम गर्छु,’ सुरक्षा भन्छिन्, ‘कहिले कुन स्टोरी गर्न मन लाग्छ, कहिले कुन । यसअघि निर्वाह गरेका केही फिल्मका पात्रको चर्चा राम्रो भए पनि व्यावसायिक रूपमा सफल हुन नसक्दा खिन्नता महसुस भएको छ ।’

सुरक्षालाई फिल्मले पैसा कमाउन सकेन भन्ने चिन्ता चाहिँ हुन्छ, तर मुख्य कुरा हुँदैन । फिल्ममा अभिनय गर्दा मजा लिन्छिन् र अर्को फिल्ममा कसरी अझै राम्रो गर्ने भन्ने सोच्छिन् ।  

‘म अभिनयमा इन्जोय गर्छु । अब यो फिल्म गरेँ, मलाई मजा आयो । अबको कसरी झनै बेटर गर्ने भन्नेमा दिमागमा रहन्छ,’ उनी भन्छिन् । उनलाई अब कमेडी जनराको फिल्म गर्ने इच्छा छ । 

सुरक्षालाई अभिनय बाहेक केमा रुचि होला ? 

उनका समकक्षी अभिनेत्रीहरू केकी अधिकारी, नीता ढुंगाना लगायतले फिल्म निर्माणमा कदम चालिसकेका छन् । उनको भने फिल्म निर्माणमा रुचि छैन । बरु उनी निर्देशनमा रुचि राख्छिन् ।

‘मेरो सोच निर्देशन गर्नेछ । यो सोचलाई पूरा गर्न प्रोड्युसर्सहरू चाहिन्छ,’ उनी भन्छिन् ।’

आफूसँग ‘इनर्जी’ मिल्ने मान्छे पाएमा ‘टिम अप’ गरेर फिल्म निर्देशन गर्ने उनको योजना छ । ‘मेरो श्रीमान् पनि निर्देशनमै हुनुहुन्छ,’ उनी भन्छिन्, ‘हाम्रो सानो कम्पनी टिम पनि छ । अहिले बाहिरको म्युजिक भिडियोहरू गरिरहेका हुन्छौँ । केही समयपछि निर्देशनमा देखिए भने अचम्म नमान्दा हुन्छ ।’ 

सुरक्षा केही समयअघि एउटा विवादमा तानिइन् । पूर्वराजपरिवारका सदस्यको विषयमा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उनीविरुद्ध गालीको वर्षा भयो । सोही समयमा रिलिज भएको उनको फिल्म ‘खेल’लाई केहीले बहिष्कार गर्ने ट्रेन्ड समेत चलाए । 

तर यस्तो कुराले आफूलाई फरक नपार्ने सुरक्षा बताउँछिन् । ‘विवादको समय पनि मलाई केही महसुस भएको थिएन । यो लाइफ हो । सबैको आ–आफ्नो विचार, ओपिनियनहरू भइहाल्छ,’ उनी भन्छिन्, ‘त्यतिबेला म ‘चमेलीको पोइ’ फिल्मको सुटिङमा व्यस्त भएकाले सोसल मिडियामा के भयो भन्ने कुराले खासै फरक परेन । पर्दैन पनि ।‘

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप