वीरगञ्ज हैजा प्रकोप : डेढ साता बित्दा पनि पत्ता लागेन स्रोत
सारांश
- वीरगञ्जमा हैजा सङ्क्रमण देखिएको डेढ साता बित्दा पनि स्रोत पत्ता लाग्न सकेको छैन।
- जनस्वास्थ्यविज्ञका अनुसार सरकारले हैजाको स्रोत पत्ता लगाउन नसक्नु लज्जास्पद हो, पानीको स्रोत नै मुख्य कारक भएको बुझिन्छ।
- स्वास्थ्य मन्त्रालयले प्रकोपको कारक पत्ता लगाउन पानीका तीन वटा स्रोतमाथि अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौँ । वीरगञ्जमा हैजा सङ्क्रमण देखिएको डेढ साता बितिसकेको छ । तर हैजा कसरी सुरु भयो भन्ने हालसम्म पहिचान हुन सकेको छैन । सरकारले परीक्षणका लागि नमुना पठाएको बताए पनि डेढ सातासम्म पनि रिपोर्ट नआउनुले विभिन्न आशङ्का उब्जाएको छ ।
चिकित्सकका अनुसार हैजाको पुष्टि र यसको स्रोत पत्ता लगाउन विभिन्न चरणका परीक्षण आवश्यक पर्छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार हैजाको शङ्का लागेका बिरामीको दिसा परीक्षण गरिन्छ । दिसा परीक्षणमा दुई विधि अपनाइन्छ, जसमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र कल्चर पर्छ । पहिलो आरडीटी परीक्षणको रिपोर्ट १५ देखि ३० मिनेटभित्र आउँछ । यसले सङ्क्रमण पोजेटिभ वा नेगेटिभ भएको देखाउँछ । यो एक ‘किट’ बाट गरिने परीक्षण हो, जसले तत्काल परिणाम दिन्छ ।
दोस्रो, कल्चर र एन्टिबायोटिक सेन्सिटिभिटी टेस्टिङ (एएसटी) हो । यस परीक्षणबाट सङ्क्रमण पुष्टि गर्न, ब्याक्टेरियाको पहिचान गर्न र कुन एन्टिबायोटिकले काम गर्छ भनी पत्ता लगाउन सकिन्छ । यसका लागि बिरामीको दिसाबाट प्राप्त ‘भिब्रियो कोलेरी’ (हैजा गराउने ब्याक्टेरिया) लाई प्रयोगशालामा विकास गराइन्छ, जसका लागि कम्तीमा ४८ घण्टा समय लाग्ने ती चिकित्सकको भनाइ छ ।
उनका अनुसार ब्याक्टेरिया विकास भइसकेपछि मात्र ‘एन्टिबायोटिक सेन्सिटिभिटी टेस्टिङ’ (एएसटी) गरिन्छ । यसले कुन एन्टिबायोटिकले ब्याक्टेरिया मर्छ भन्ने देखाउँछ र प्रभावकारी उपचारका लागि बाटो खुला गर्छ । यो ‘एएसटी’को रिपोर्ट आउन थप तीन दिन जति लाग्छ । तसर्थ हैजाको पूर्ण पुष्टि र कुन एन्टिबायोटिकले काम गर्छ भन्ने जानकारी पाउन बढीमा पाँच दिनको समय लाग्छ । स्रोत पहिचानका लागि शंकास्पद स्थानबाट नमुना संकलन गरिसकेपछि दुईदेखि चार घण्टासम्ममा नतिजा आइसक्ने चिकित्सक बताउँछन् ।
वीरगञ्जको सवालमा हैजा कसरी फैलियो, पानीको स्रोत नै मुख्य कारक हो या अन्य कारणबाट यो सङ्क्रमण फैलिएको हो भन्नेबारे अझै प्रस्ट भइसकेको छैन ।
- स्रोत पहिचानमा किन ढिलो ?
सङ्क्रमित निरन्तर पुष्टि भइरहेको अवस्थाका बाबजुद लामो समयसम्म सरकारले कुन स्रोतबाट हैजा फैलिएको भन्ने पत्ता लगाउन नसक्नु लज्जाको विषय भएको जनस्वास्थ्यविज्ञ बाबुराम मरासिनी बताउँछन् । उनले भने, ‘हैजाको मुख्य स्रोत खानेपानी नै हो भन्ने कुरा सामान्य व्यक्तिले पनि सहजै बुझ्न सक्छ । लामो समयसम्म पनि स्रोत पहिचान हुन नसक्नुमा सरकारी निकायको नियतमा प्रश्न उठेको छ ।’
डा.मरासिनीले स्रोत पहिचान भएमा जिम्मेवार निकाय र व्यक्तिमाथि कारबाही हुने डरले सरकारले जानीजानी लुकाएको हुनसक्ने आरोप लगाए । पानीको नमूना परीक्षण गरी हैजाको जीवाणु पत्ता लगाउन दुई घण्टामात्र लाग्ने उनको भनाइ छ ।
हैजा अन्तर्राष्ट्रियस्तरमा ‘पब्लिक हेल्थ इभेन्ट अफ इन्टरनेशनल कन्सर्न’ अर्थात् रिपोर्ट गर्नुपर्ने रोग हो, जसका कारण हैजाको स्रोत पहिचान भए पनि सम्बन्धित निकायले लुकाएको हुन सक्ने मन्त्रालयकै अधिकारी बताउँछन् । अर्थात् सरकारले विश्व स्वास्थ्य संगठनलाई हैजाको सम्बन्धमा जानकारी गराउनुपर्ने भएकैले रिपोर्ट सार्वजनिकमा आलटाल गरेको हुन सक्ने ती अधिकारी बताउँछन् । ती स्वास्थ्य कर्मचारीले वीरगञ्जका घर–घरमा जम्मा गरी राखिएको पानीका कतिपय नमुनामा हैजाका जीवाणु भेटिएको सुनाए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक चिकित्सकका अनुसार कहाँको पानीबाट हैजाको फैलिएको हो भनेर परीक्षण गर्न धेरै समय लाग्दैन । बिरामीको घरको खानेपानी (धाराको पानी, चापाकलको पानी, ड्रममा राखिएको पानी, ट्याङ्करबाट आएको पानी) को परीक्षण गरेर सहजै स्रोत पत्ता लाग्ने उनको दाबी छ । खानेपानीको परीक्षण दुईदेखि चार घण्टाभित्र सकिने उनले बताए ।
ती चिकित्सकका अनुसार बिरामीले खाएका खानेकुराहरू (बासी, होटलबाट ल्याएको वा अन्यत्रबाट ल्याएको) परीक्षण गरिन्छ । सेरोटाइपिङले सङ्क्रमण फैलाउने ब्याक्टेरियाको प्रजाति पत्ता लगाउँछ । यो ब्याक्टेरिया नेपालमै पहिलेदेखि भएको वा बाहिरबाट आएको हो भन्ने यसबाट खुल्ने उनले बताए ।
यस्तै, पखाला लागेको व्यक्तिको कपडा वा व्यक्तिगत सरसफाइमा कमीले पनि हैजा सर्नसक्ने भएकाले यस्ता पक्षमा पनि अनुसन्धान गरिने ती चिकित्सकले बताए । हैजाको बिरामीको दिसामा ब्याक्टेरियाको मात्रा धेरै हुने र बिरामीको उठबस, सम्पर्कबाट पनि यो फैलिन सक्ने उनको भनाइ छ ।

- मन्त्रालय भन्छ– हैजाको स्रोत खोज्दैछौँ
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले प्रकोप फैलिएपछि पानीमा क्लोरिन हालेर शुद्धीकरण गर्ने कार्य भएको र अहिले पुरानो भण्डारणमा रहेको पानीको स्वच्छता परीक्षण भइरहेको बताए । प्रकोपको कारक पत्ता लगाउन पानीको मुख्य तीन वटा स्रोतमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।
हैजाको मुख्य कारण प्रदूषित पानी नै भए पनि खासगरी बोरिङ र ढलको सम्बन्धबारे आशङ्का निवारण गर्न खानेपानी मन्त्रालयसहित ६–७ वटा विभिन्न प्रयोगशालामा पानीका नमुनाको परीक्षण भइरहेको प्रवक्ता बुढाथोकीले बताए । यसको प्रतिवेदन आएपछि थप स्पष्ट हुने उनको भनाइ छ । प्रकोप फैलिएपछि पानीमा क्लोरिन हालेर शुद्धीकरण गरिएकाले धाराको पानीमा हैजाको स्रोत तत्काल पुष्टि नभएको उनले बताए ।
सुक्खाग्रस्त क्षेत्र घोषणा लगत्तै विभिन्न तहका सरकारले आफूखुसी गाडेका बोरिङका पाइप ढलसँग जोडिएको हुन सक्ने आशङ्का पनि प्रवक्ता बुढाथोकीले व्यक्त गरे । यस्तै ट्याङ्करहरूले ठुला सिमेन्टका ट्याङ्कीमा पानी भरेर टोलटोलमा वितरण गर्ने गरेको पाइएकाले यसको स्रोत र वितरण प्रक्रियाको शुद्धतामाथि पनि प्रश्न उठेकाले यसबारे पनि जाँच भइरहेको उनले जानकारी दिए ।
- सरुवा रोग ऐन आवश्यक
देशमा सरुवा रोग ऐन तत्काल निर्माण गरी स्वास्थ्य सुरक्षालाई बलियो बनाउनुपर्ने माग पनि उठेको छ । यसले भविष्यमा आउन सक्ने यस्ता महामारीको प्रभावकारी रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने डा.मरासिनी बताउँछन् ।
यदि सरुवा रोग ऐन बनेको भए पानीमा अनिवार्य क्लोरिन हाल्नुपर्ने, क्लोरिन नराखी पानी आपूर्ति गर्ने कार्यालय प्रमुखलाई कारबाहीका लागि स्पष्ट कानुनी प्रावधान हुने उनको भनाइ छ । यसले जिम्मेवारी निर्धारण गरी उत्तरदायित्व बढाउने उनले प्रस्ट पारे ।
ऐनले पानी, दुध, सरसफाइ लगायतका सबै पक्ष समेट्नुपर्ने हुन्छ । हैजा सङ्क्रमित बिरामीलाई कसरी व्यवस्थापन गर्ने, विदेशबाट जहाज वा अन्य माध्यमबाट सङ्क्रमित आएमा उनीहरूलाई कहाँ राख्ने, कसरी क्वारेन्टाइनमा राख्नेजस्ता विषयमा स्पष्ट कानुनी प्रावधान नहुँदा कतिपय सङ्क्रमितकै माध्यमबाट गाउँघरमा रोग फैलिने उनको भनाइ छ ।
हैजा सङ्क्रमण नियन्त्रणमा नआएकै कारण वीरगञ्ज र आसपासका शिक्षण संस्था एक सातादेखि बन्द छन् । यसै साताको सुरुवातमा प्रकोप क्षेत्रमा पुगेका गृृहमन्त्री रमेश लेखकले केन्द्रबाट विज्ञहरूको टोली खटाएर सङ्क्रमणको स्रोत यकिन गर्ने बताएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले प्रकोप क्षेत्रमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्यकर्मी, विश्वस्वस्थ्य संगठन(डब्ल्यूएचओ)का प्रतिनिधी, युनिसेफ, प्रादेशिक स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र वीरगञ्ज महानगरपालिका झाडापखाला नियन्त्रण, रोकथाम र स्रोत पहिचानमा निरन्तर जुटेको सुनाउँछन् ।
स्वास्थ्य मन्त्रालयले हैजा सङ्क्रमण भई अस्पतालमा भर्ना हुने दर कम भएको जनाए पनि वीरगञ्जमा नयाँ बिरामी पुुष्टि हुने क्रम रोकिएको छैन, जसका कारण हैजा सङ्क्रमण कुनै पनि समयमा तीव्र हुनसक्ने जोखिम रहेको जनस्वास्थ्यविद् बताउँछन् ।
मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा हैजाका ४६ जना नयाँ सङ्क्रमित फेला परेका छन् । हालसम्म ८९६ जनामा झाडापखाला पुष्टि भएको छ, जसमा ७९३ जना निको भइसकेका छन् । सक्रिय सङ्क्रमितको संख्या १०३ मा झरेको छ ।
हैजा प्रकोप फैलिएपछि भदौ ९ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । यस्तै गृहमन्त्री रमेश लेखक र विभिन्न राजनीतिक दलका नेताहरू केन्द्रबाट हैजा प्रकोप क्षेत्रमा अनुगमनका लागि पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण