बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यालयमा दिवा खाजा खाएपछि एक सयभन्दा बढी विद्यार्थी अस्पताल भर्ना

बिहीबार, १९ भदौ २०८२, १७ : १९
बिहीबार, १९ भदौ २०८२

सारांश

  • महोत्तरीको पिपरा गाउँपालिकामा दिवा खाजा खाएपछि एक सयभन्दा बढी विद्यार्थी बिरामी भएर अस्पताल भर्ना भएका छन्।
  • विद्यालय प्रशासनका अनुसार खाजा खाने क्रममा एक विद्यार्थीको प्लेटमा छेपारो देखिएपछि स्वास्थ्य समस्या आएको थियो।
  • अहिले विद्यार्थीहरुको अवस्था सामान्य रहेको र रातिभर निगरानीमा राख्ने चिकित्सकले बताएका छन्।

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित श्रीआदर्श उच्च माविमा बिहीबार दिवा खाजा खाएपछि एक सयभन्दा बढी विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको छ ।

दिवा खाजाका क्रममा एक विद्यार्थीको प्लेटमा छेपारो देखिएको र केहीमा सामान्य स्वास्थ्य समस्या देखा पर्नासाथ सबै विद्यार्थीलाई अस्पतालमा ल्याएर चिकित्सकको निगरानीमा राखिएको विद्यालय प्रशासन स्रोतले जनाएको छ ।

दिवा खाजा खाएका विद्यार्थीलाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याएर चिकित्सकको निगरानीमा राखिएको हो । डा. रमेश यादवका अनुसार विद्यार्थीहरूमा अहिलेसम्म कुनै गम्भीर समस्या देखिएको छैन । यद्यपि रातभर निगरानीमा राख्ने उनको भनाइ छ ।

पालिका अध्यक्ष रामजानकी यादवले विद्यार्थी बिरामी भएको आफूले थाहा पाएको तर वास्तविकता बुझ्न नपाएको जानकारी दिए । उनले भने, ‘विद्यार्थीहरू दिवा खाजा खाएपछि बिरामी भएको भन्ने सुनेको छु ।’ आफू वास्तविकता बुझ्ने प्रयासमा रहेको उनको भनाइ थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप