बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले विधान महाधिवेशन

ओलीको ‘नेपाली विशेषताको समाजवाद’ : जबजको विस्थापन कि परिष्कृत बनाउने प्रयास ?

एमाले प्रतिनिधि भन्छन्, ‘जबज हाम्रो मूलबाटो हो, विस्थापित हुनै सक्दैन’
शनिबार, २१ भदौ २०८२, १७ : ००
शनिबार, २१ भदौ २०८२

सारांश

  • एमाले महाधिवेशनमा पार्टीको विधि र नीतिबारे छलफल भइरहेको छ, जसमा विभिन्न नेताहरूको धारणा प्रस्तुत गरिएको छ।
  • केपी ओलीको राजनीतिक प्रतिवेदनमा नेपाली विशेषताको समाजवादको कार्यक्रमबारे छलफल भएको छ, कतिपयले जबज विस्थापनको आशंका गरेका छन्।
  • विभिन्न नेताहरूले जनताको बहुदलीय जनवादलाई परिमार्जन गर्दै अघि बढ्ने र पार्टीलाई शक्तिशाली बनाउने उद्देश्य राखेका छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । देशभरका झन्डै २४ सय एमाले महाधिवेशन प्रतिनिधि दुई दिनदेखि ललितपुरको गोदावरीमा पार्टीको विधि र नीतिका बारेमा ‘मन्थन’ गरिरहेका छन् ।

आगामी दिनमा पार्टीको मूल विधि, नीति र पार्टी संरचना कस्तो हुने भन्ने निर्क्योल गर्न काठमाडौँ आएका उनीहरूले नेतृत्वद्वारा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधानसम्बन्धी लगायतका प्रस्तावमा केन्द्रित भएर छलफल गरिरहेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको ९८ पेजको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको ३४ पेजको विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलको ३३ पेजको साङ्गठनिक प्रस्तावमाथि शुक्रबार १० समूहमा छलफल भएको छ ।

जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको एमालेले पछिल्लो समय ‘जबज’ लाई समयसापेक्ष बनाउँदै नेपाली विशेषताको समाजवादमा परिमार्जन गर्ने सङ्केत देखाएको छ ।

CPN UML_godawari_NPL (6)

अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा नेपाली विशेषताको समाजवादको कार्यक्रमअघि सारेसँगै प्रतिनिधिहरूले जबजलाई थप परिष्कृत गर्न लागेको बताएका छन् । तर, कतिपयले जबज नै विस्थापन गर्न लागिएको हो कि भन्ने आशंका पनि गरेका छन् ।

मदन भण्डारीकी पत्नीसमेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन प्रतिबन्ध लगाइरहेका बेला ओलीको यो प्रस्तावलाई कतिपयले जबज विस्थापन नै गर्न खोजेको रूपमा बुझेका छन् । तर एमाले महाधिवेशन प्रतिनिधिहरू जबजको विकल्प नभएको र उक्त सिद्धान्त विस्थापन गर्न खोजेको नभई त्यसलाई थप परिष्कृत गर्दै अघि बढाउन खोजिएको अर्थमा अध्यक्ष ओलीको प्रतिवेदनलाई बुझ्नुपर्ने बताउँछन् । 

उनीहरू पार्टीले गर्ने निर्णय आफूहरूले मान्नुको विकल्प नभएको भन्दै विद्या भण्डारीका सवालमा उठेका प्रश्नहरूलाई पार्टीले स्वीकार्य हुने गरी सम्बोधन गर्नुपर्नेमा मत राखेका छन् ।   

पूर्वमन्त्री समेत रहेका मोरङका एमाले नेता लालबाबु पण्डित भन्छन्, ‘जबजलाई विस्थापित गर्न खोजेका छैनौँ । त्यो त हाम्रो मूलबाटो नै हो ।’

lalbabu pandit

उनले अध्यक्षको प्रतिवेदनले जबजलाई समयानुकूल थप व्याख्या गरेको बताए । ‘जबज विस्थापन होइन, समयानुकूल परिष्कृत गर्दै जाने गरी नेपाली विशेषताको समाजवादको कार्यक्रम अघि सारिएको हो,’ पण्डितले रातोपाटीसँग भने । 

त्यस्तै उनले एमालेले मिसन ८४ भनिरहेको बेला भइरहेको विधान महाधिवेशनलाई सबैले चासोपूर्वक हेरिरहेको बताए ।  ‘भविष्यमा जनताको विश्वास जितेर सरकार निर्माण गर्ने विषय पनि भएकाले हामीले ‘समृद्ध नेपाल,सुखी नेपाली ’बनाउने सङ्कल्प पनि लिएका छौँ,’ पण्डितले भने, ‘त्यसका निम्ति राजनीतिक, सङ्गठनात्मक निर्माण पनि आवश्यक छ । भविष्यमा एमालेले राष्ट्र निर्माण र त्यसको जिम्मेवारी कसरी पुरा गर्ने भन्ने मार्गचित्र विधान महाधिवेशनले तय गर्छ ।’

उनले नीति निर्माण र यसको संरचना विधानसँग जोडिने भएकोले स्वाभाविक रूपमा यो विषय नेतृत्वसँग समेत जोडिने बताए । ‘समग्रमा भविष्यको शक्तिशाली एमाले बनाउने मूल उद्देश्य हो । त्यसका लागि आवश्यक नीति र विधि बनाउने हो’, पण्डितको भनाइ छ ।

एमालेको दोस्रो विधान महाधिवेशनमा गोरखाबाट प्रतिनिधित्व गरेकी पार्वती पाठक पार्टीको मूल नीति र नेतृत्व कस्तो बनाउने भन्ने निर्क्योल गर्न भइरहेको महाधिवेशनले सही नीति अवलम्बन गर्ने बताइन् ।

CPN UML_godawari_NPL (1)

उनले अध्यक्षको प्रतिवेदनले जनताको बहुदलीय जनवादलाई विस्थापन गर्न खोजेको भनेर कतिपयले भन्ने गरे पनि त्यो गलत रहेको सुनाइन् । ‘अहिले देशमा विभिन्न ताण्डवहरू चलिरहेका छन् । यस्तो अवस्थामा केपी ओलीको नेतृत्वबाहेक अरूको नेतृत्वले नचल्ने देखिन्छ,’ उनले भनिन्,  ‘उहाँले अघि सारेको नेपाली विशेषताको समाजवादको नीतिमार्फत यो देश र जनतालाई सुखी र समृद्धि तुल्याउने उद्देश्य हो ।’

पाठकले जबजलाई अङ्गीकार गर्दै र परिमार्जित गर्दै अध्यक्षले नेपाली विशेषताको समाजवादी कार्यक्रम अघि बढाएको दाबी गरिन् । ‘जसलाई एमालेले मात्रै होइन भोली नेपाली जनताले स्वीकार गर्छन् भन्ने लाग्छ । त्यसैले जबज विस्थापन होइन परिमार्जन मात्र गर्न लागिएको हो,’ पाठकको दाबी छ ।  

उनले पार्टीको आन्तरिक छलफलमा केही फरक मत आउनुलाई स्वाभाविक रूपमा लिनुपर्ने पनि बताइन् । ‘लोकतान्त्रिक पार्टीमा अध्यक्षले राखेको विषयमा कसैलाई केही लागेको छ भने त्यो कुरा राख्न पाउँछ । फरक मतका पनि महत्त्वपूर्ण कुरा भए समेटेको भए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ,’ पाठकको बुझाई छ । 

पूर्वप्रदेश सांसदसमेत रहेका धादिङका धनबहादुर घले पनि अध्यक्ष ओलीले अघि सारेको नेपाली विशेषताको समाजवादको विचार र कार्यक्रम जनताको बहुदलीय जनवादलाई नै टेकेर समाजवादलाई कार्यान्वयन गर्न ल्याइएको बताउँछन् । ‘नेपाली विशेषताको समाजवाद भनेको जबजकै एउटा माध्यमका रूपमा बुझ्नुपर्छ,’ घलेको भनाइ छ ।  

कञ्चनपुरका नन्दलाल चटौतको पनि अन्य महाधिवेशन प्रतिनिधिको भन्दा फरक मत छैन । उनले पनि पार्टीको मूल मार्गदर्शक सिद्धान्त जबज भएकाले अहिले त्यसलाई विस्थापन गर्ने कुरै नभएको बताए । ‘नेपालको समाज र  संस्कृति तथा नेपालको आर्थिक, सामाजिक अवस्थालाई सम्बोधन गर्नेगरी नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याएको हो,’ चटौतको भनाइ छ ।

गुल्मीका श्री पाण्डे बदलिँदो परिस्थितिमा नयाँ समाजसँग बदलिँदो नीति र विधि आवश्यक पर्ने बताउँछन् । ‘बदलिएको परिस्थितिमा प्राथमिक र वैज्ञानिक रूपमा अघि बढ्न सिक्नु र जान्नुपर्छ’, उनी भन्छन्, ‘अघि बढ्न लागेका दलहरू पश्चगमनिर फर्कन मिल्दैन । समयसापेक्ष नयाँ सिर्जना भएका परिस्थितिको ट्याकल गर्ने हो । ’

उनले जनताको बहुदलीय जनवादलाई ओझेल पार्ने वा विस्थापन गर्ने कसैको उद्देश्य र चाहाना नभएको दाबी गरे । ‘हिजोदेखि नै हामीसँग जबजका दस्ताबेजहरू छन्, पार्टी नेता कार्यकर्ता त्यहीबाट प्रशिक्षित छन् । नेता कार्यकर्ता सबैले आफ्नो मनमस्तिष्कमा जबजलाई आत्मसात् गरेर हिँडेका छन्’,  पाण्डेले भने, ‘विद्या भण्डारीले राखेका विचारहरू पनि एमालेलाई नै राम्रो गर्नुपर्छ भनेर भनिरहनुभएको छ यो नराम्रो होइन ।’

अर्का महाधिवेशन प्रतिनिधि चितवनका दिलिपकिशोर राई महाधिवेशनमा पेस भएका र पारित हुने राजनीतिक, साङ्गठनिक र विधान संशोधनका आधारमा पार्टीको दिशा निर्देश हुने बताउँछन् । ‘मूलतः हामी पाँच वर्ष हाम्रो पार्टी कसरी चलाउने भन्ने छलफलमा छौँ,’ उनले भने,‘जनताको बहुदलीय जनवाद नै नेपाली समाजको विशेषता हो ।’

जबजलाई विकसित र परिष्कृत गर्दै लानुपर्ने राईको भनाइ छ । ‘जबज लागु गर्ने क्रममा नै अहिले नेपाली विशेषताको समाजवाद भनिएको हो । जबकि जबजले नै अबको समाज गाइड गर्नुपर्छ भन्ने हिसाबले यो विचार आएको हो’, राईको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप