आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
कविता

हामी जनसेवक हौँ

आइतबार, २२ भदौ २०८२, ११ : २६
आइतबार, २२ भदौ २०८२

राष्ट्रलाई शिरमा राखी
देश र जनताको नाममा कसम खाएका छौँ
समृदि र सुशासनको पहरेदार बन्न
जनजनमा उज्यालो छर्न
देशलाई सुमार्गमा लैजाने
राष्ट्रसेवक मात्र नभएर
जनताको पीरमर्कामा 
सीप र ज्यानै समर्पण गर्ने 
जनसेवक भएका छौँ । 

यही देशमा जन्मिएका हुन्
भृकुटी, सीता र योगमाया 
अनि पासाङ ल्यामु 
जसलाई सम्झँदा मात्र पनि 
आधा आकाश उज्यालो हुन्छ
जसको त्याग र समपर्णले देशलाई 
एउटा छुट्टै पहिचान बनाएको छ ।

हो म पनि एउटा पहिचान बनाउन चाहन्छु
त्यही पहिचानभित्र मेरो परिचय बनेको छ
हजारौँ हजारमा किन्न नसकिने
पहिचान दिएको छ मलाई 
किनकि म जनसेवक हुँ 
म राष्ट्रसेवक निजामती कर्मचारी हुँ । 

मलाई मेरो पेसाप्रति गर्व छ 
गाउँका दूरदराजमा रहेको 
सिटामोल खान नपाएर 
मृत्युलाई कुरिरहेका बाआमाहरूलाई 
सिटामोल पुर्‍याउन तल्लिन छु
साँच्चै भित्रैबाट स्पर्शको महसुस हुन्छ
सिटामोलको अभावमा ज्यानै जोखिममा 
हुनेहरूलाई सम्झनुस् त ? 
अनि आफूलाई त्यही ठाउँमा राखेर 
सम्झनुस् त ? 
कस्तो दर्द छ कस्तो पीडा हुन्छ
त्यही ठाउँमा मलम–पट्टी लगाउने गर्दछौँ
हामी स्वास्थ्यकर्मी 
त्यसैले त लाग्छ म जनसेवक हुँ
म राष्ट्रसेवक निजामती कर्मचारी हुँ । 

थाहा छैन मलाई 
म स्थायी सरकारको प्रतिनिधि हो कि होइन ?
भन्छन् कर्मचारी स्थायी सरकार हो 
हामीले देशलाई सही मार्गमा लैजान
पुलको काम गर्नुपर्छ
किनकि देशको नीति निर्माण गर्ने काम
राजनीतिज्ञहरूको हो 
हामी त केवल सेवक मात्र हौ 
त्यसैले त समृद्धि र सुशासनका लागि 
एउटा उद्घोष गर्ने वेला भएको छ
जहाँबाट छुट्टै इतिहासको जन्म होस् ।

असमानतालाई समानतामा ल्याउने 
बेथितिलाई हटाउने
एउटा महान् अभियानमा लागौँ
जुन अभियानले देश विकासमा लागिपरेका
हर व्यक्तिलाई समेट्न सकियोस् 
देशको विकासमा हरेकले एउटा इँटा थप्न सकुन्
अक्सिजनको अभावमा आफ्नै मुखले अक्सिजन दिएर 
बच्चाको ज्यान जोगाउने तिनै राष्ट्रसेवक हुन्
असल कामका प्रचार थोरै भएर होला
हरेक कर्मचारीलाई एएटै डाँलोमा राखरे 
तुलना गरिन्छ 
जहाँ विष पनि छ अनि अमृत पनि 
हामी अमृत भएर निस्कनुपर्छ
जनको मनमनमा बस्नुपर्छ ।

त्यसैले निजामती सेवा दिवसमा
एउटा प्रण गर्ने वेला भएको छ 
जसले आफ्नो जीवनको कुनै प्रवाह नगरी 
अरुका लागि जीवन समपर्ण गरे
उनैको सम्मानमा हरेक वर्ष 
निजामती सेवा दिवस मनाइन्छ
दिवस दिवसका रूपमा मात्र भन्दा पनि
हरेक क्षण उनीहरूले दिएको योगदानलाई 
सम्झँदै हामीले नयाँ उत्साह र जागर थप्नुपर्छ
देशको सच्चा पहरेदार भएर 
आफूलाई खुला किताब बनाउनु सक्नुपर्छ
समृद्धि र सुशासनका लागि बलियो खम्बा भएर 
सतिसालझैँ उभिन सक्नुपर्छ
किनकि हामी जनसेवक हौँ
हामी राष्ट्रसेवक निजामती कर्मचारी हौँ
सधैँ सधैँ सेवक हुन कामना छ
निजामती सेवा दिवसको शुभकामना ।
००० 
(सिअहेव / प्रमुख,  स्वास्थ्य चौकी, साल्पासिलिछो गाउँपालिका –२ कुलुङ, भोजपुर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मेनुका श्रेष्ठ
मेनुका श्रेष्ठ
लेखकबाट थप