बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

परिवारसँग भिडियो कलमार्फत सुख-दुःख साट्ने मुख्य बाटो नै राज्यले भत्काइदियो : आरके शर्मा

आइतबार, २२ भदौ २०८२, २० : १३
आइतबार, २२ भदौ २०८२

सारांश

  • एनआरएनए अभियन्ता आरके शर्माले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले परदेशी नेपालीहरू मारमा परेको बताए।
  • उनका अनुसार, सामाजिक सञ्जाल बन्द हुनुले विदेशमा रहेका नेपाली कामदार र विद्यार्थीहरूलाई परिवारसँगको सम्पर्कमा समस्या भयो।
  • शर्माले सरकारले रेमिट्यान्सलाई बजेटमा मात्रै महत्व दिएको तर वास्तविक जीवनका कठिनाइलाई बेवास्ता गरेको गुनासो गरे।

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता आरके शर्माले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै लाखौं परदेशी नेपालीहरू मारमा बताएका छन्। फेसबुकसहितका सामाजिक सञ्जाल विदेशमा पसिना बगाइरहेका श्रमिक र अध्ययनरत नेपाली विद्यार्थीहरूको परिवारसँग भिडियो कलमार्फत सुख-दुःख साट्ने मुख्य माध्यम भएपनि राज्यले बन्द गरेसँगै पीडा थपिएको उनको भनाइ छ । 

आइतबार शर्माले भने, गत वर्ष दशैं तिहार सकाएर श्रमिकहरु नेपाल फर्किने क्रममा एयरपोर्ट 'बन्द'को नाममा टिकटको मूल्य ३ देखि ५ गुणासम्म बढाइयो । परदेशी नेपालीहरू मारमा पर्दा त्यो पीडा सम्बोधन गर्न राज्य असफल रह्यो। अहिले फेरि दशैं तिहार नजिकिँदै गर्दा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले लाखौं परदेशी नेपालीहरूको जीवनमै ठुलो असर पारिरहेको छ। आफ्ना बूढाबाआमा, बालबच्चा, परिवारसँग भिडियो कलमार्फत सुख-दुःख साट्ने उनीहरूको मुख्य बाटो नै राज्यले भत्कादिने काम गरेको छ ।'

राज्यले बजेटको समयमा मात्र रेमिट्यान्सलाई महत्व दिने तर वास्तविक जीवनमा भोग्नुपर्ने कठिनाइलाई बेवास्ता गरेको उनको गुनासो छ। 'परदेशी नेपाली र स्वदेशी भुइँमान्छेहरूको आत्मसम्मानमाथि निरन्तर चोट पुगिरहेको छ, यसतर्फ बेलैमा गम्भीर पहल गर्न जरुरी छ,' शर्माले भने । 

बढ्दो भ्रष्टाचार, बेथिति र जनताको आवाजप्रति सरकारको बेवास्ता रहेकैले अहिले जेनजी पुस्तादेखि श्रमिकसम्मको असन्तुष्टि देखिएको उनले बताए।

 उनले भने, 'राष्ट्र विकासका लागि भ्रष्टाचार नियन्त्रण, जनताको आवाज सुन्ने प्रणाली र विदेश–स्वदेशमा रहेका नेपालीहरूको अधिकारलाई प्राथमिकतामा राख्न राज्यले तुरुन्त कदम चाल्नुपर्छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप