बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीको भष्मासुर प्रवृत्तिले डढेलोमा पेट्रोल छर्ने काम गर्‍यो : गंगानारायण श्रेष्ठ

बुधबार, २५ भदौ २०८२, १४ : ३१
बुधबार, २५ भदौ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव गंगानारायण श्रेष्ठले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको भष्मासुर प्रवृत्तिले देशमा दन्किरहेको डढेलोमा पेट्रोल छर्किने काम गरेको आरोप लगाएका छन् ।

श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै यस्ताे आरोप लगाएका हुन् । फासिवादी ओली सरकारले निहत्था नवयुवाहरूको नरसंहार नेपालको इतिहासमा सधैँ कालो दिनको रूपमा अङ्कित रहने लेखेका छन् । 

जेनजी पुस्ताले गरेको आन्दोलनमाथि सरकारले दमन गर्दा मंगलबार कम्तीमा १९ जना जेनजीको मृत्यु भएको थियो ।सरकारी दमनको आक्रोशमा हिजो देशभर राजनीतिक दलका नेताहरू, तीनका घर र सार्वजनिक सम्पत्ति ध्वस्त बनाएका थिए । 

‘नव फासिवादी ओली सरकारले जसरी निहत्था नवयुवाहरूको नरसंहार गर्‍यो, त्यो नेपालको इतिहासमा सधैँ कालो दिनको रूपमा अङ्कित रहनेछ । त्यो फासिवादी कदमको जति भर्त्सना गरे पनि कमी नै हुनेछ’, उनले लेखेका छन् । 

जेनजी युवाहरूले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारीहरूलाई कडा कारबाही गर्दै सुशासन र सदाचारको स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखजस्ता मागहरू अत्यन्तै समय सान्दर्भिक भएको उल्लेख गरेका छन् । 

जायज माग र मुद्दालाई ऐक्यबद्धता जनाउँदै थप क्षति हुनबाट रोक्न प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामा गर्न दबाब दिँदा समेत ओलीको दम्भ र घमण्डले कसैको कुरा नसुनेको उनले आरोप लगाए ।  

प्रिय जेनजी नवयुवा साथीहरू !

सर्वप्रथम विद्रोहको क्रममा सहादत प्राप्त गर्नुहुने  सहिदहरूप्रति उच्च सम्मानसहित पुनः एक पटक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । 

प्रिय नवयुवा साथीहरू !

ढिलै भए पनि प्रधानमन्त्रीले राजीनामा गरेपछि बढ्दै गरेको अराजकतालाई तपाईँहरूले नियन्त्रण गर्नुपर्थ्यो । किनकि, त्यसपछि शान्ति सुव्यवस्था कायम गर्ने मुख्य जिम्मेवारी तपाईँहरूको हुन आउँथ्यो । तर त्यसो हुन सकेन । जसको कारण हेर्दाहेर्दै देशको कानुन बनाउने, कार्यान्वयन गर्ने र कानुनको व्याख्या अनि न्याय निरूपण गर्ने सबै थलोहरू संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत जलेर खरानी भए । लोकतन्त्रमा राजनीतिक दिशावोध गर्ने राजनीतिक दलका कार्यालयहरू ध्वस्त भए । राति अबेरसम्म आइपुग्दा व्यक्तिको निजी सम्पत्ति लुटपाट र भौतिक संरचनामा समेत क्षति पुर्‍याउने काम भए । 

मलाई विश्वास छ, यस्ता अराजकतापूर्ण हर्कत तपाईँ नव युवाहरूबाट हुनै सक्दैन । तर यस्ता हर्कत गर्ने र गराउनेहरूको तपाईँहरूले राम्रो पहिचान गर्नुपर्छ । उनीहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ । यही सन्दर्भमा नेपाली सेनालाई पनि भन्न चाहन्छु( तपाईँहरूले समयमै सुरक्षाको जिम्मेवारी लिनुभएको भए देशलाई यो स्तरको खरानी हुनबाट जोगाउन सकिन्थ्यो होला । जेहोस् रातिबाट तपाईँहरूले जसरी सुरक्षाको जिम्मेवारी लिनुभएको छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु । साथै, देशका सबै नागरिक, राजनीतिक दल, विभिन्न सङ्घसंस्थाहरू सबैलाई शान्ति, सुरक्षा कायम गर्न अनुरोध पनि गर्दछु । 

लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र हो । लोकतन्त्रको विकल्प अरू कुनै तन्त्र हुनै सक्दैन । नेपाली जनताको झन्डै एक शताब्दी लामो त्याग, तपस्या, वीरता, बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी सबैको गौरव हो । समस्याको समाधान पछि फर्किएर सम्भव छैन । त्यसैले थप उपलब्धि हासिल गर्न अघि बढ्नुपर्छ । संसद् विघटन नै गर्ने हो भने पनि संसद् बोलाएर विधिवत् रूपमा संसद् विघटन गरी नयाँ विकल्प खोज्दा हुन्छ । संविधान च्यात्ने होइन, गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिकताजस्ता मुख्य उपलब्धिहरू कायम राख्दै संविधान संशोधन गर्दा हुन्छ । 

प्रिय नव युवा साथीहरू !

नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको पहल लिनु राम्रो कुरा हो । विद्रोहको निम्ति आवेग चाहिन्छ तर त्यसलाई निष्कर्षमा

पुर्‍याउन विवेकको खाँचो पर्छ । अहिले देशले भोगिरहेको सङ्कट कुनै एउटा पुस्ता, वर्ग, जाति, क्षेत्र, लिङ्ग, राजनीतिक दलले मात्रै समाधान गर्न सम्भव छैन । त्यसैले जे भयो, भयो अब योभन्दा बढी क्षति हुन नदिनुहोस् । इतिहासका खलपात्रहरू बाहेक सबैलाई एक ठाउँमा ल्याएर देश सम्हाल्न लाग्नुहोस् । 

अन्तमा, आफ्ना कमीकमजोरीको निर्मम समीक्षासहित देश निर्माणको महान् ऐतिहासिक कार्यमा अनवरत रूपमा लागिरहने प्रतिबद्धता गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप