बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नुवाकोटको शान्ति–सुरक्षा सामान्य

शुक्रबार, २७ भदौ २०८२, ०१ : ५९
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • नुवाकोटमा जेनजी समूहको प्रदर्शनका कारण भएको विरोध र आगजनीपछि अवस्था सामान्य हुँदै गएको छ।
  • अराजक गतिविधि रोक्न निषेधाज्ञा जारी राखिएको छ भने नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गरिएको छ।
  • दैनिक जनजीवन सामान्य बनेको छ, तर राति कफ्र्यु र पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ।

नुवाकोट।  नुवाकोटको अवस्था सामान्य हुँदै गएको छ । जेनजी समूहको प्रदर्शनका कारण गत सोमबारदेखि भइरहेको विरोध तथा आगजनीबाट अशान्त भएको जिल्लाको अवस्था अहिले शान्तिपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।

उनका अनुसार अहिलेको विषम परिस्थितिको फाइदा उठाउँदै हुनसक्ने अराजक गतिविधि रोक्न निषेधाज्ञा भने जारी राखिएको छ ।

प्रजिअ घिमिरेका अनुसार, नेपाली सेनासहितको सुरक्षाकर्मीबाट जिल्लाको शान्ति, सुरक्षाको भरपर्दो प्रत्याभूति उपलब्ध गराइ अवस्था सामान्य बनेको छ । नियमित रूपमा पेसा व्यवसाय सञ्चालन, आवतजावतसहित आमनागरिकको दैनिक जनजीवन पूर्ववत् अवस्थामा फर्किएको छ ।

जिल्लामा जारी रहेको निषेधाज्ञाको समयमा बिना उद्देश्यले पाँच जनाभन्दा बढीको समूहमा भेला हुन, आवतजावत गर्न भने रोक लगाइएको छ । रातको समयमा कफ्र्यू लगाइने हुँदा उक्त समयमा आवतजावत गर्नुपर्ने अवस्था आएमा सुरक्षाकर्मीसँग समन्वय गर्न भनिएको छ ।

जेनजी समूहको विरोध प्रदर्शनका क्रममा जिल्लामा रहेका राजनीतिक दलका पार्टी कार्यालय, दलका नेताका घरमा आगजनीसहितको विरोध प्रदर्शनले सुरक्षाको अवस्था कमजोर भए पनि अहिले सामान्य हुँदै आएको छ ।

विशेषगरी अहिलेको विषम परिस्थितिको मौका छोपी चोरी, डकैती, लुटपाटलगायत अवाञ्छित गतिविधि हुनसक्ने भएकाले आम नागरिकलाई पनि सजग र सचेत भएर शान्ति सुरक्षा कायम गर्नका लागि सेनाले अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप