ढोका
सारांश
- कार्यशालामा, ढोकाको विषयमा चित्र र कविता बनाउने कार्यक्रम भयो, जसमा लेखकले आफ्नो सिर्जना र अनुभव प्रस्तुत गरे।
- लेखकले जीवनका विभिन्न घटना र अनुभवहरू वर्णन गरे, जसमा ढोका बन्द हुने र खुल्ने कुराको प्रतीकात्मक प्रयोग थियो।
- लेखकले जीवनका चुनौती र सम्भावनाहरूको बारेमा चर्चा गर्दै, ढोका खोल्ने र जिउने प्रयासलाई जोड दिए।
जीवन ढोका रहेछ, आज मेरो मनमा यस्तै विचार आइरहेको छ । यो विचार पनि मेरो मनमा त्यत्तिकै आएको होइन । सम्भावनाहरूको ढोका उघार्न खुला ढोकाहरूको विषयमा हुन लागेको कार्यशालामा गएको थिएँ । चित्रकारले ढोकामा चित्रहरू बनाउने र कविहरूले तिनमाथि कविता लेख्नुपर्ने कार्यक्रम रहेछ । कविको रूपमा निम्त्याइएको हुनाले मेरो भागमा समेत एउटा ढोका खोलेर विचारहरूमध्ये कुनै एउटालाई समात्नुपर्ने र त्यसलाई भावना र शिल्पले सजाएर कविता बनाउनुपर्ने जिम्मेवारी थियो ।
कार्यशालामा थुप्रै ढोकाहरू थिए र कतिपयमा कलाकारहरू रङहरूसँग खेल्दै सिर्जना गरिरहेका थिए ।
म भने केही पनि गर्न सकिरहेको थिइनँ । निकै दिनदेखि मेरो सिर्जनाको ढोका बन्द भएको थियो । म त केवल भत्कँदै पो गइरहेको थिएँ हरेक दिन । हरेक दिन टेलिभिजनका पर्दामा निर्दोष मान्छे मारिएको हेर्न विवश थिएँ । हरेक दिन अखबारका पानामा बालबालिका टुहुरो भएको पढ्न बाध्य थिएँ । हरेक दिन रेडियोमा रहरहरूभरि फक्रँदै गरेकी नवयौवनाले विधवा बन्नुपरेको अकल्पनीय पीडा सुन्न लाचार थिएँ, आफ्नो जीवनभरिको सहारा भुइँमा ढलेपछिको एक्लो र निस्सहाय अवस्थाले छटपटाइरहेका बुढा आमाबाबुको बिलौना सुन्न लाचार थिएँ ।
वास्तवमा लेख्नलाई विषयको कमी छैन मसँग यतिबेला । अनगिन्ती विषयहरू, रङरङका सपनाहरू र तिनको घाइते शरीरबाट बगेर माटोमा पैmलिएका रगतहरू, मान्छेका चोटग्रस्त अहंहरूमा स्वार्थन्धताले टेकिएका भद्दा बुटका कुरूप पदचिह्नहरू, हिमालजस्तो अकण्टक उठेको गरिबीले रात–दिन थिल्थिल्याएको जिजीविषा, स्कुलस्कुलमा पड्किरहेका बमगोलाका आवाजहरू, सर्वत्र अशान्ति, अस्थिरता र केके केके । तर विषयहरूले यसरी चारैतिरबाट च्यापेपछि, चारैतिरबाट घेरेर केही लेखिदिन मौन दबाब दिएपछि लेखक एकदमै निरीह बन्दोरहेछ । हिँड्दाहिँड्दैको बाटो एक्कासि हरायो भने बटुवा कसरी रनभुल्लमा पर्दो हो, लेखकले त्यसरी नै बाटो हराउँदो रहेछ सर्वत्र केवल विसंगतिको कोलेले ढाकेपछि ।
निर्माणको जस्तै भत्कनुको पनि एउटा प्रक्रिया हुनुपर्ने हो । पहिला छेउ भत्कन्छ, अनि किनारा खस्छ र त्यसपछि क्रमशः भित्री भाग खस्तै जान्छ, तर म त सिसा फुटेजसरी गल्र्यामगुर्लुम्म ढलेको थिएँ एकसाथ ।
यी सबै हुनुहरूको सामूहिक आक्रमणले भत्किएका बेलामा, आफ्नै सपनाका इन्द्रधनुषी रहरहरू समेत घाइते भएर फटाफट भुइँमा पछारिँदै गएको अवस्थामा यी लाचारीहरू, विवशताहरू र बाध्यताहरूले हरेक दिन मेरो मनमथिङ्गलबाट ढोकाहरू बन्द गरिरहेका थिए र बन्द ढोकाको अँध्यारोभित्र म निरन्तर निस्सासिइरहेको थिएँ । वास्तवमा जब मान्छेको जीवनबाट ढोकाहरू धमाधम बन्द हुन थाल्छन् तब सभ्यता पनि उल्टो हिँड्न थाल्छ । मेरो वरिपरिको सभ्यता बिब्ल्याँटोतिर गइरहेको टुलुटुलु हेर्दै म भत्किइरहेको थिएँ हरेक दिन ।
निर्माणको जस्तै भत्कनुको पनि एउटा प्रक्रिया हुनुपर्ने हो । पहिला छेउ भत्कन्छ, अनि किनारा खस्छ र त्यसपछि क्रमशः भित्री भाग खस्तै जान्छ, तर म त सिसा फुटेजसरी गल्र्यामगुर्लुम्म ढलेको थिएँ एकसाथ ।
यसरी ढोका चारैतिरबाट बन्द भएर निस्सासिइरहेको बेलामा ढोका खोलेर उज्यालोलाई बोलाउनुपर्ने र भत्केकोलाई पुनः जोडेर नयाँ सिर्जना गर्नुपर्ने निम्तो पाएर रमाएको पनि थिएँ, डराएको पनि थिएँ,
म एउटा कुनामा टोलाइरहेको थिएँ चित्रहरू हेर्दै । ढोकाहरूमा कोरिँदै गरेका चित्रहरू हेर्दाहेर्दै अर्कैअर्कै बन्दै गइरहेको थिएँ । लाग्यो, नयाँनयाँ ढोकाहरूको निर्माण भइरहेको थियो । यसैबेला एक जना कवि आइपुगे र भने, ‘अहो ! के गरेको यस्तो ?’
‘ढोकाहरू खोल्दै गएको ।’ ढोकाहरूको निर्माण र सिर्जना गरिरहेको अर्थमा कसैले भन्यो ।
‘तर यहाँ त ढोकाको मृत्यु भइरहेको छ ।’ उनले एक्कासि भने । उनको यो भनाइले कति जोडले मेरो मस्तिस्कमा ठोक्यो भने कहिलेदेखि बन्द भएको ढोकाको पल्ला घर्याक्क उघ्रियो । यसरी उघ्रेको ढोकाबाट एक मुठी उज्यालोसँग अर्को एक मुठी अँध्यारो पनि भित्रियो एकैचोटि । यही उज्यालो र अँध्यारोको दोछायालाई टेकेर मैले राम्ररी नियालेँ ढोकालाई । त्यहाँ त कलाकारहरूले पोतेका रातो, निलो, हरियो, पहेँलो, बैजनी, गुलाफी, कालो, सेतो र यी रङले बनाएका अर्कै विभिन्न रङ र केके आकारहरू थिए मुसुक्क हाँसिरहेका । मैले यी रङ र आकारहरूको अर्थ खोजेँ तर त्यहाँ मैले ढोका हेरिनँ, ढोका देखिनँ र ढोका खोजिनँ पनि ।
हो रहेछ, केही सुन्दर चित्र त बन्दै गएका रहेछन्, तर काठबाट बनेको वास्तविक ढोकाको भने मृत्यु भइरहेको रहेछ । म छक्क परेँ एकपल्ट– सम्भावनाहरूको ढोका खोल्न गरिएको कार्यशालाले ढोका खोल्यो कि बन्द गर्यो त ? यो प्रश्नले एकपल्ट नराम्ररी हल्लायो मलाई । र, सोचेँ, यसले त ढोका खोल्यो पनि र बन्द गर्यो पनि ।
यी सबै ढोकाहरू खोल्ने प्रयत्न हुन् । भोलिका लागि केही राम्रा र बाँच्न सकिने आधारहरू भएका सम्भावनाहरू अवश्य पनि आउलान् र जीवनलाई यो कहरबाट माथि उठाएर मुस्कुराउन सकियोस् । यो निश्चय पनि बाँच्ने प्रयत्न हो, ढोका खोल्ने जमर्को हो ।
कविहरू कविता लेख्न तम्सिए । ढोका खुल्नु र बन्द हुनुको घम्साघम्सीमा झिलिक्क झुल्केको विचारको उज्यालो पक्रेर मैले पनि लेख्न खोजेँ एउटा कविता । सोचेँ, ढोकाहरू त खुलेकै हुन् तर वास्तविक ढोकाको मृत्यु भएको पनि हुँदै हो । यो चेतनाले फेरि एकपल्ट बिथोल्यो मलाई, फेरि एकपल्ट म रन्थनिएँ र मेरा अभ्यन्तरका ढोकाहरू खुल्दै र बन्द हुँदै गरिरहे ।
के एउटालाई नमारी अर्कोको निर्माण गर्न सकिँदैन ?
के एउटालाई नछोपी अर्कोलाई देखाउन सकिँदैन ?
के एउटालाई नखेदी अर्कोलाई भेट्टाउन सकिँदैन ?
मेरा कविताहरूमा कतिपल्ट म मरेँ हुँला । म त हरेकपल्ट अलि बेग्लै अलि बेग्लै गर्दै अर्कैअर्कै जन्मदै गर्दो रहेछु । हरेकपल्टको कविता लेखनमा के मैले आफूलाई यसरी मार्नैपर्ने हो त ! यसले त मलाई हरेकपल्ट अर्कै, अझ अलि अर्कै बनाउँदै लगिरहेको रहेछ । बिहानको घाम पनि हरेक दिन अर्कैअर्कै ढोकाबाट निस्केर आउँछ होला र त्यसको प्रकाशमा म प्रत्येक आज प्रत्येक हिजोभन्दा अलि बेग्लै नयाँ लाग्दो हुँ सायद । यही लाग्नु नै मेरो हुनु हो रहेछ, मेरो कविता रहेछ, मेरो निबन्ध रहेछ ।
ढोकाहरूको कुरा गर्दा जहिले पनि यो ढोकाभन्दा उता के होला भन्ने एउटा उत्सुकता बाँकी नै रहिरहन्छ । ढोका खोलेर अर्कोतिर चियाएका बेलामा लाग्छ, जीवन भनेको यही उत्सुकता हो, यही एउटा सानो प्रश्न हो । त्यत्ति नै हो । म विगत ३८ वर्षदेखि यस ढोकाभन्दा उता के होला भन्ने उत्सुकताले हरेकपल्ट ढोका खोल्न लगाइएको छु, हिँडाइएको छु कहाँकहाँ र बोलाइएको छु । मैले लेखेका कविताहरू, निबन्धहरू र मेरा तमाम सिर्जनाहरू वास्तवमा मेरो जीवनप्रतिको विश्वास हुन्, मेरा बाँच्ने आधारहरू हुन् र यही एउटा प्रश्नको मैले गरेको उत्तरहरूको खोजी पनि हुन् । त्यसैले खुलेका ढोकाहरूबाट छिरेका उज्यालाहरू हुन् ।
कोरियाली कवि स्वर्गीय चोन सान प्योङले भने, ‘जीवनले जिउँदोपना खोज्छ ।’ उनले यही एउटा ढोका खोले र अघि बढे । कति वर्षपछि उनको त्यही एउटा वाक्यको बाटोबाट उनले बनाएको ढोकाबाट म स्वाट्टभित्र पसेँ । उनका कविताहरू र भावनाहरूमा निकैबेर डुबेर निस्केपछि पनि मलाई उनको त्यही भावना रमरम लागिरह्यो । वास्वतमा जीवनले जिउँदोपना खोज्छ । जिउँदोपना त्यहीँ हुन्छ जहाँ बाँच्ने आधारहरूको खोजी हुन्छ । कर्मको बाहुबलले आफ्नो संसार जसले आफैँ बनाउँछ, उसैले बाँच्ने आधारको खोजी गर्छ र भेटाउँछ । कमलो र नरम जीवनलाई पत्रपत्र चट्टानका अक्करे भिरहरू नाघ्दै, छिचोल्दै जसले माथि उठाउँछ शिखरमा र स्वप्नहरूको दिवस भेटाउँछ, उसैले प्राप्त गर्दछ, जिउँदोपना र जीवन बाँच्छ ।
जीवन बाँच्नु भनेको ढोका खोल्नु हो ।
मेरा आँखाहरू अघि उजाड बगरमा पिठ्युँमा नानी च्यापेर गिटी कुटिरहेका महिलाहरू देखा पर्छन् । ग्रीष्मको प्रचण्ड गर्मीमा धुवाँ र धुलोले सम्पूर्ण छोपेको बाटोको किनारमा मकै पोल्दै बेचिरहेका सपनाहरू देखा पर्दछन् । त्यस्तै, सम्झन्छु, बजारमा पाँच रुपैयाँ मुठा साग बेचिरहेकी एउटी महिला र उनको छेउमा बसिरहेको सानो कोपिलो बालक । म सँगैको अर्को पसलमा केही किन्दै थिएँ । सुनेँ त्यस कोपिलोको मसिनो तर कति धेरै विश्वास भरिएको आवाज— आमा, यो साग बेचेर आएको पैसाले मलाई जुत्ता किनिदिनु है ! म फनक्क फर्किएँ र हेरेँ सागका मुठाहरूमा र त्यस कोपिलाको आँखामा छाएको जीवनप्रतिको दृढ विश्वासमा । हरे ! जम्मै साग बेचिसक्ता उनले डेढ, दुई सय कमाउँदी हुन् । अब यसमा उनको नाफा कति नै बस्तो होला र ! मैले आपूmलाई रोक्न सकिनँ र चार मुठा साग किनेँ । मलाई लाग्यो, यो जिउँदोपनाको खोजी हो । मकै पोलेर बेच्ने, घरघरमा गएर फोहोर उठाउने, गिटी कुट्ने अथवा सागका मुठा बेच्ने— यी सबै जिउँदोपनाको खोजी हुन् । यी सबै ढोकाहरू खोल्ने प्रयत्न हुन् । भोलिका लागि केही राम्रा र बाँच्न सकिने आधारहरू भएका सम्भावनाहरू अवश्य पनि आउलान् र जीवनलाई यो कहरबाट माथि उठाएर मुस्कुराउन सकियोस् । यो निश्चय पनि बाँच्ने प्रयत्न हो, ढोका खोल्ने जमर्को हो ।
जीवन बाँच्नेहरूका लागि मात्र हो । यसलाई यसरी पनि भन्न सकिएला— जीवन बाँच्न खोज्नेहरूका लागि मात्र हो । सम्भावनाहरू अनन्त छन् हाम्रा वरिपरि । जीवन सम्भावनाहरूको ढोका खोल्न प्रयत्नशीलहरूका लागि मात्र हो । पूmलजस्तो कमलो जीवन खुरुर्र लगेर सेती नदीमा बिसाउने हो भने अथवा फेवातालको जलसमाधिमा आहुति दिने हो भने तिनीहरूका लागि सबै ढोकाहरू बन्द छन् । त्यसैले जीवन तिनीहरूका लागि होइन, तिनीहरूका लागि त बन्द ढोकाभित्रको सुरुङजस्तो कालो शून्यता हो, निर्जन अन्धकार हो ।
म कहाँकहाँ घुम्दै, बरालिँदै पुनः आइपुगेँ त्यहीँ कार्यशालामा । कविहरूले कविता लेखिसकेछन् । उनीहरूलाई आफ्नो सिर्जना सुनाउने हतारो भइरहेको थियो । कलाकारहरूका चित्रहरूमा केके एकदमै नयाँ आकारहरू बनिसकेछन् । र, अलिअलि बचेका प्राकृतिक ढोकाहरूको नामोनिसान हराइसकेको रहेछ । मुटु भएको मान्छेलाई दुख्नलाई के चाहिन्छ र जीवनमा ! म दुखेँ एकपल्ट फेरि बेस्सरी ढोकाहरू हराएको सम्झेर ।
आफ्नो विचारलाई स्थापित गर्न अर्काको विचारलाई मारिरहेको स्थितिमा केही विराम लागेको बेला हो यो । आफ्नो सपनालाई आकार दिन अर्काको सपनाको अपहरण भइरहेको त्रासदीपूर्ण अवस्थाबाट केही शान्तिको आशा पलाएको बेला हो यो । अब एउटा सत्य अथवा विश्वासको स्थापनाका लागि अर्को विश्वासको बिजोग नहोस् भन्ने चाहिरहेको मलाई, एउटा उज्यालोको प्राप्तिका लागि अर्को उज्यालो निभाउने कार्यलाई स्थायी रूपमै बन्द गरिनेछ कि भनेर प्रार्थना गरिरहेको मलाई आफ्नो कति दिनपछि खुलेको ढोका फेरि बन्द हुने पो हो कि भन्ने चिन्ताले पनि सताइरहेको थियो । त्यसैले मैले आफ्नो भर्खरै लेखेको कविता हेरेँ एकपल्ट । मलाई खुसी लाग्यो म फेरि एकपल्ट जोडिएँछु आफू भत्केको ठाउँहरूबाट । अब फेरि भत्कनु नपरोस् भन्ने कुरालाई मनमा खेलाउँदै मैले आफ्नो छोटो कविता पढेँ एकपल्ट—
ढोका बनाउन बसेको म
ढोका बनाउँदाबनाउँदै
स्वयं ढोका भएँ... ।
लेख्नलाई यति धेरै विषय भएको यस बेलामा म मेरा सबै सम्भावनाका ढोकाहरू खोल्न प्रयत्नशील भइरहेको छु । त्यसैले आजभोलि मलाई लाग्न थालेको छ, जीवन भनेको ढोका रहेछ ।
(२०६३ जेठ)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण