बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आन्दोलनको चपेटामा परेको कैलाली प्रशासनलाई सहयोग जुट्दै, सेवा सुचारु

मङ्गलबार, ३१ भदौ २०८२, ११ : ५०
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • कैलाली जिल्ला प्रशासन कार्यालयमा आगजनीबाट क्षति पुगेपछि सेवाहरू रोकिएका थिए, तर अहिले पुनः सुचारु भएका छन्।
  • विभिन्न संघसंस्था र व्यवसायीहरूले स्क्यानर, फर्निचर, कम्प्युटर लगायतका सामग्री सहयोग गरेपछि सेवा सुचारु भएको हो।
  • इसेवा, चेम्बर अफ कमर्स, र विभिन्न विद्यालय लगायतका संस्थाहरूले सहयोग गरेका छन्, जसले सेवा प्रवाहमा सहजता ल्याएको छ।

धनगढी । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय, कैलालीलाई विभिन्न सहयोगी सङ्घसंस्था तथा व्यवसायीहरूले आवश्यक सामग्री उपलब्ध गराएपछि रोकिएका सेवाहरू पुनः सुचारु भएका छन् । सहयोगी निकायहरूबाट प्राप्त स्क्यानर, फर्निचर, कम्प्युटर जस्ता सामग्रीले नागरिकता लगायतका महत्त्वपूर्ण सेवा प्रवाहमा सहजता आएको प्रशासनले जनाएको छ ।

भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय आगजनी गरिएको थियो, जसबाट ३ वटा भवनमा क्षति पुगेको छ भने प्रशासनको पुरानो भवन जलेर पूर्णरुपमा ध्वस्त भएको छ । आगजनी र तोडफोडबाट कार्यालयका महत्त्वपूर्ण कागजात, फर्निचर र कम्प्युटर लगायतका सामग्री नष्ट भएपछि नागरिकता बनाउने जस्ता अत्यावश्यक सेवाहरू प्रभावित भएका थिए ।

क्षतिपश्चात्, अस्थायी रूपमा टेन्टबाट सेवा सुरु गर्ने तयारी गरिएको थियो भने कर्मचारी, प्रहरी र जेनजी समूहको सहयोगमा कार्यालय परिसरको सरसफाइ पनि गरिएको थियो । सेवा सुचारु गर्ने प्रयास स्वरूप प्रशासनले तत्काल आवश्यक सामग्री सहयोग गर्न अपिल गरेको थियो ।

उक्त अपिलपछि, विभिन्न सङ्घसंस्था र व्यवसायीहरू सहयोगी हात फैलाउँदै अगाडि बढेका छन् । यसै क्रममा इसेवा धनगढी शाखाले कार्यालयलाई एक थान स्क्यानर मेसिन उपलब्ध गराएको छ । इसेवाका धनगढी प्रमुख महेन्द्र शाहीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त मेसिन हस्तान्तरण गरेको जानकारी दिए । सूचना अधिकारी शिवराज जोशीले स्क्यानर मेसिनको अभावमा काम प्रभावित भइरहेकोमा अब सेवा प्रवाहमा सहज भएको बताए ।

यस्तै, धनगढी चेम्बर अफ कमर्सको नेतृत्वमा चेम्बर अफ कमर्स कैलाली र चेम्बर सुदूरपश्चिमले संयुक्त रूपमा एक थान कम्प्युटर सेट, टेबल, कुर्सी र मल्टी कलर प्रिन्टर सहयोग गरेका छन् । धनगढीको एरिष्टो इङ्लिस स्कुल, एक्सिस र ग्यालेक्सी बोर्डिङ स्कुल, सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए), नास्ट कलेज, एडुपल, प्रहरी पब्लिक ब्याडमिन्टन क्लब, आलोक फर्निचर, कम्प्युटर एसोसिएसन नेपाल र नेपाल चेम्बर अफ कमर्स लगायतले पनि विभिन्न सामग्री सहयोग गरेका छन् ।

विभिन्न निकायबाट प्राप्त सहयोगले सेवा प्रवाहमा ठुलो सहजता मिलेको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । सहयोगी संस्थाहरूले उपलब्ध गराएका सामग्री र कर्मचारीहरूको आफ्नै ल्यापटप प्रयोग गरेर हाल सेवा सुचारु गरिएको छ । 

आगजनीबाट विद्युत् प्रवाहमा समेत क्षति पुगेकाले अर्को भवनबाट तार ल्याएर कम्प्युटर सञ्चालन गरिएको प्रशासनले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप