अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई मन्त्री घिसिङको निर्देशन
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन निर्देशन दिएका छन्।
- भोटेकोसी गाउँपालिकाका वडाध्यक्षको ध्यानाकर्षण पत्रपछि मन्त्री घिसिङले सडक विभागलाई तत्काल सडक खुलाउन निर्देशन दिए।
- दसैँ नजिकिँदै गर्दा सडक अवरुद्ध हुँदा १५ सयभन्दा बढी कन्टेनर चीनतर्फ अलपत्र परेका छन्।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् ।
घिसिङको सचिवालयका अनुसार बुधवार भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले मन्त्री घिसिङसमक्ष तत्काल उक्त राजमार्ग खुलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यसलगत्तै मन्त्री घिसिङले विभागका महानिर्देशक विजय जैसीलाई अवरुद्ध सडक तत्काल खुलाउन निर्देशन दिएका हुन् ।
मन्त्री घिसिङको सचिवालयका अधिकारी सचिन गौतमले उक्त सडक खुलाउन विभागका महानिर्देशकलाई निर्देशन दिएको जानकारी दिए ।
गौतमले भने– ‘मन्त्रीज्यूले वडाध्यक्षसँगको छलफलपछि सडक विभागका महानिर्देशकलाई तत्काल फोन गरेर आवश्यक परे आफैँ फिल्डमा जान र जसरी पनि सडक खुलाउन निर्देशन दिनुभएको छ । दसैँको बेलामा यसरी नाका बन्द गर्नुहुँदैन, तुरुन्तै यो जसरी हुन्छ खोल्नुपर्छ भन्ने उहाँको निर्देशन छ ।’
गत साउन १८ गतेदेखि अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोदारी खण्ड (इको पहिरो) मा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडक डिभिजन चरिकोटले मर्मत गरी गत भदौ ५ गते एकतर्फी सञ्चालनमा ल्याएको थियो । तीन दिन (भदौ ५ गतेदेखि ८ गतेसम्म) मात्र सञ्चालनमा आएको यो सडक अहिले पनि पूर्ण रूपमा बन्द छ ।
दसैँ लगायतका चाडपर्व नजिकिएका बेला सडक अवरुद्ध भएपछि तातोपानी नाका बन्द भएको र सर्वसाधारणको आवागमनमा ठुलो समस्या परेको छ ।
एक महिनादेखि चीनतर्फ १५ सयभन्दा बढी कन्टेनर अलपत्र परेका छन्, जसले उद्योगी र व्यापारीहरूलाई कच्चा पदार्थ र तयारी सामान पाउन कठिनाइ भएको छ । धेरै मानिसहरू भरियाको सहयोगमा सामान ढुवानी गर्न बाध्य भएका छन् ।
चरिकोटस्थित सडक डिभिजन कार्यालयका अनुसार कोदारीस्थित इको पहिरो पुरानो र ठुलो भएकाले समस्या जटिल छ । पहिरोको माथिल्लो भागमा मानव बस्ती जोखिममा रहेकाले काम गर्न चुनौती भएको र तलपट्टि पर्खाल लगाउन पनि कठिन भएको अधिकारीहरूले बताएका छन् । लेदोसहितको पहिरो खसिरहेकाले सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ ।
यसको दीर्घकालीन समाधानका लागि ग्याबिन पर्खाललगायतका संरचना निर्माण गर्ने र नयाँ डिजाइनअनुसार काम गर्ने विषयमा पनि छलफल भइरहेको छ । मन्त्री घिसिङले सडक निर्माणको दीर्घकालीन योजनाका लागि सरकारले सम्बोधन गर्ने बताउँदै तत्काल दसैँ अगाडि सडक खुलाउनुपर्नेमा जोड दिएको सचिवालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण