पोखरा महानगरको सेवा आजदेखि, प्रशासकीय भवनदेखि २६ वटा वडा कार्यालय जले
सारांश
- पोखरा महानगरपालिकाको सेवा भवन जलेपछि स्थगित भएकोमा आजदेखि पुन: सुरु हुँदैछ।
- जेनजी प्रदर्शनका क्रममा महानगर मातहतका भवनमा आगजनी र तोडफोड भएको थियो।
- मेयर धनराज आचार्यले घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गरेका छन् र लुटिएका सामग्री फिर्ता गर्न अपिल गरेका छन्।
पोखरा । कार्यालय भवन जलेपछि स्थगित भएको पोखरा महानगरको सेवा प्रवाह आजदेखि सुरु हुँदै छ । प्रमुख प्रशासकीय भवन जलेर नष्ट भएपछि महानगरले वैकल्पिक ठाउँहरूबाट सेवा पुनः सुरु गर्न लागेको हो ।
जेनजी प्रदर्शनका समयमा पोखरा महानगर मातहतको अधिकांश भौतिक संरचना जलेर नष्ट भएका छन् । बुधबारदेखि नै नियमित सेवा सञ्चालनमा ल्याउने घोषणा गरिएकामा प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा घोषणा गरिएकाले बिहीबारदेखि सेवा सञ्चालन गर्न लागिएको हो ।
महानगरको भवनसँगै यहाँका २६ वटा वडा कार्यालय भवन जलाइएका र तोडफोड गरिएका छन् । पूर्ण रूपमा क्षतिग्रस्त भवनको वैकल्पिक व्यवस्थापन गर्दै अन्यत्रका भवनहरूबाट सेवाहरू सञ्चालनमा ल्याउन लागिएको प्रवक्ता मोति तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार कतिपय वडाका घरघरमा पुगेर पनि महानगरबाट अत्यावश्यकीय सेवाहरू प्रदान गर्न थालिएको छ ।
महानगरले लुटिएका सामग्री फिर्ता गर्न सार्वजनिक अपिल गरेको छ । लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचरलगायत सामग्री सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो । तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको र त्यस्ता सामग्री फिर्ता नगरेमा सम्बन्धित व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धानको दायरामा ल्याई कारबाही गरिने चेतावनी छ ।
मेयर धनराज आचार्यले महानगरको प्रशासकीय भवन रेकी गरिएपछि ‘जेन जी’ को नाममा भएको घुसपैठका कारण क्षति भएको निष्कर्ष निकालेका छन् । उनले घटनामा संलग्न सबैलाई कारबाहीको माग गरे । ‘क्यामेरा फुटेज र विभिन्न ठाउँबाट लाइभ गरिएका भिडियो तथा तस्बिरहरूको अध्ययन गर्दा वास्तविक आन्दोलनकारी युवाहरूले भन्दा फरक समूहले आतङ्क मच्चाएको देखिएको छ,’ उनले भने, ‘यस घटनामा संलग्न व्यक्तिहरू विभिन्न राजनीतिक दल र पेसा व्यवसायमा आबद्ध रहेको र आफूलाई समाजसेवी भन्नेहरू समेत गतिविधिमा संलग्न छन् । उनीहरूलाई तत्काल कारबाही हुनुपर्छ ।’
आगजनीका कारण महानगरको ५० वर्ष पुराना अभिलेख जलेर नष्ट भएका छन् । यस्तै, महानगरको १ लाख नक्सा र सहकारी तथा लेखा शाखाका सबै कागजातहरू जलाइएका छन् । भवनभित्र रहेका एक दर्जनभन्दा बढी मोटरसाइकलहरू र आधा दर्जन गाडी जलाइएको छ । क्षतिको विवरण सङ्कलन हुने क्रममा रहेको र बिहीबारसम्म सम्पूर्ण विवरण जम्मा भैसक्ने महानगरले जनाएको छ । घटनामा संलग्नहरूको पहिचान गर्न समस्या नभएकोले तुरुन्त कारबाहीको माग उनले गरे ।
‘यो विध्वंसात्मक कार्य आन्दोलनकारी युवाभन्दा बाहिरी तत्त्वहरूको षड्यन्त्रपूर्ण गतिविधि हो । यस्ता कार्यमा संलग्न व्यक्तिहरूको सम्पूर्ण रेकर्ड राखिएको छ । त्यसलाई सार्वजनिक अपराधका रूपमा लिएर आवश्यक कारबाही गर्न नेपाल सरकारलाई अनुरोध गर्दछु,’ उनले भने । महानगरपालिकाले अब सभागृह, दमकल र पुराना महाशाखा रहेका भवनहरूबाट सेवा दिँदै छ । पूर्ण सेवा प्रवाहका लागि अझै केही समय लाग्ने भएकोले धैर्य रहन मेयर आचार्यको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण