शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जेनजी आन्दाेलन

भग्नावशेषबाटै सेवा सुरु गर्ने तयारीमा आन्तरिक राजस्व कार्यालय

शुक्रबार, ०३ असोज २०८२, १५ : ००
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • सिमरास्थित आन्तरिक राजस्व कार्यालयको नवनिर्मित भवन जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भयो।
  • आगजनीबाट करदाताका विवरण, फर्निचर, र अन्य सामग्री जलेर नष्ट भए, जसले सेवा सञ्चालनमा अन्योलता ल्यायो।
  • कार्यालय प्रमुखले अनलाइन प्रणालीबाट सेवा सुचारु गर्ने र दोषीलाई कानुनी कारबाहीको माग गरे।

बारा । जेनजी आन्दोलनमा सिमरास्थित आन्तरिक राजस्व कार्यालयको नवनिर्मित भवन आगजनी र तोडफोडका कारण पूर्ण रूपमा क्षतिग्रस्त भयो ।

करिब ८ करोड रुपैयाँ लगानीमा भर्खरै निर्माण सम्पन्न भएर नयाँ भवनबाट सेवा सुरु गरेको राजस्व कार्यालय खरानीमा परिणत भयो । यो कार्यालयले बारा र रौतहटका करदाताको विवरण दर्ता गर्ने, करको दायरामा ल्याउने, करका सुविधा प्रदान गर्ने र कर नतिर्ने संघ–संस्था तथा व्यक्तिलाई कर निर्धारण गरेर ताकेता गर्ने काम गर्दछ ।

जेनजी आन्दोलनका क्रममा करदाताका सम्पूर्ण फर्निचर, कागजपत्र जलेर खरानी भएपछि अब कसरी सेवा सुरु गर्ने भन्ने अन्योल कर्मचारीहरूमा छ ।

r2

आगलागीले भवनको अधिकांश संरचना कामै नलाग्ने भएको छ भने करदाताका सम्पूर्ण विवरण, कागजपत्र, फर्निचर, कम्प्युटर, ल्यापटप, एसी, फ्रिज  तोडफोड, आगजनी र लुटपाट हुँदा तत्कालै सेवा सुरु गर्ने अवस्था नभएको आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले जनाए ।

‘जेनजी आन्दोलनको नाममा हाम्रो कार्यालयका सम्पूर्ण फाइलहरू, करदाता सेवा काउन्टर, बैंक काउन्टर, राजस्व शाखाका सम्पूर्ण जलेर खरानी भएको छ,’ पाण्डेले भने, ‘हामीले अनलाइन प्रणालीबाट सम्पूर्ण रेकर्ड जीवित गर्नेछौँ । तिनुपर्ने करबाट कसैले पनि मुक्ति पाउने छैनन्, हाम्रो अनलाइन प्रणाली सुरक्षित छ ।’

r22

कार्यालय प्रमुख पाण्डेले भग्नावशेषबाटै दृढ सङ्कल्पका साथ काम सुरु गर्ने प्रतिबद्धता जनाए । कार्यालयभित्र २ दिनसम्म आगो बलिरहँदा कार्यालयको ढलान खसेको, पिल्लरहरू चर्किएको छ ।

राजस्व कार्यालय  प्रमुख पाण्डेले शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय पर्सालाई पत्राचार गरेर भवनको क्षति र प्राविधिक मूल्याङ्कन गरेर सुझाव दिन पत्राचार गरेको बताए  ।

r9

‘भिडियो क्लिपहरू हेर्दा जेनजीको आन्दोलनको नाममा हतियारसहित अराजक जत्था आएर लुटपाट गर्ने मनसायले आगजनी, तोडफोड गरेको देखिन्छ,’ उनले भने, ‘सार्वजनिक सम्पत्ति र दस्तावेजहरू माथि यस्तो विध्वंश मच्चाउनेहरूलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छ ।’

कारबाही भएन भोलिका दिनमा जनताको जिउधनमा क्षति पुग्ने र अराजक समूहको मनोबल झनै बढ्दै जाने उनको भनाइ छ ।

रावस्व कार्यालयमा भदौ २३ गते दिउँसो करिब १ बजे जेनजीका केही युवा आएर सामान्य तोडफोड गरेर फर्किएका थिए । तर साँझ ७ बजेतिर हतियारसहित आएको समूहले कार्यालयमा तोडफोड र आगजनी गरेको कर्मचारीहरूले जनाएका छन् ।

हतियारसहित आएको समूहले अनुसन्धानको क्रममा रहेका मुद्दाका फाइलहरू खोजीखोजी जलाएको कर्मचारीहरूको भनाइ छ ।

r1

‘हाम्रो प्रारम्भिक अनुसन्धानबाट फाइल भण्डारण गरिएका कक्षहरूमा खोजीखोजी आगजनी भएको, प्रमुखको कक्षमा कागजपत्र खोजतलास भएको हेर्दा ठुलो गिरोह नै लागेको देखिन्छ,’ कार्यालय  प्रमुख पाण्डेले भने । उनका अनुसार मन्त्रालय र विभागबाट अहिले भएकै साधनस्रोतबाट सेवा  प्रवाह गर्दैजाने भन्ने निर्देशन आएको छ । कार्यालयले तत्कालका लागि करदाताहरूलाई अनलाइनबाट सेवा लिन समेत आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप