बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आन्दोलनका क्रममा भागेका ६ हजार ३२८ कैदीबन्दी फर्काइए

शनिबार, ०४ असोज २०८२, २३ : ०२
शनिबार, ०४ असोज २०८२

सारांश

  • जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीपछि भागेका कैदीबन्दीमध्ये ६ हजार ३२८ जना फर्किएका छन्।
  • भदौ २३ र २४ गतेको प्रदर्शनमा १४ हजार ५५५ कैदीबन्दी भागेका थिए, जसमा अझै ८ हजार २२६ जना सम्पर्कमा छैनन्।
  • प्रहरीले फरार रहेका करिब दुई हजार आरोपीको खोजी गरिरहेको छ, भने देशभर हाल २१ हजार ९९९ कैदीबन्दी छन्।

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म ६ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् । 

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको बताए । उनका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन् । पछिल्लो एक दिनमा मात्रै एक सय ४९ जनालाई फर्काइएको छ । 

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा नौ वटा बालसुधार गृहबाट गरी १४ हजार ५५५ कैदीहरु भागेका थिए । अझै आठ हजार २२६ जना सम्पर्कमा नआएकाले खोजीकार्य भइरहेको निर्देशक न्यौपानेले बताए ।

उनका अनुसार कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट नौ सय ६४ जना भागेका थिए । सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका पाँच हजार ९८७ तथा सुधारगृह तर्फका तीन सय ४१ जना रहेका छन् । 

आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका करिब दुई हजार आरोपीसमेत फरार रहेका जनाएको छ । उनीहरूको खोजी जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

देशभर ३० हजार छ सय ३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार ९९९ जना मात्रै कैदी बन्दी रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप