बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जनमत पार्टीमा विवाद

जेनजीसँग मिल्छ मुद्दा, पार्टीमा धमाधम विद्रोह गर्दैछन् युवा

आइतबार, ०५ असोज २०८२, १९ : ००
आइतबार, ०५ असोज २०८२

काठमाडौँ। जेनजी आन्दोलनपछि राजनीतिक पार्टीभित्र रुपान्तरण र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । युवाको एजेन्डालाई उठाइरहेको दाबी गर्ने डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा समेत यसको तरंग उत्पन्न भएको छ । 

जनमतमा जेनजी आन्दोलनपछि अन्तरसंघर्ष यति चर्कियो कि उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिए । 

जनमत पार्टीभित्र लामै समयदेखि विवाद चर्किंदै आएको भएपनि जेनजी आन्दोलनपछिको परिस्थितिमा उत्कर्षमा पुगेको हो । अध्यक्ष डा. राउतले कतिपयलाई नै कारवाही गरेका छन् भने कतिपय आफैं विद्रोह गरेर निस्किएका छन् । जनमत पार्टीमा ५० वर्षमाथिका एक-दुईजना बाहेक अरु सबै युवा उमेरकै छन् । 

डा. राउतले स्वतन्त्र मधेस गठबन्धन निर्माण गर्दा नै युवा उमेरका धेरैलाई भित्र्याएका थिए । उनीहरूलाई राजनीतिक प्रशिक्षणदेखि सुरक्षा तालिम समेत उनले दिएका थिए । त्यतिबेला डा. राउतले मधेसलाई छुट्टै देश बनाउने भन्दै आन्दोलन चलाएका थिए । उनको संगठनमा १८ देखि ३५ वर्षसम्मका युवा मात्रै थिए । पछि मूलधारको राजनीतिमा आएपछि डा. राउतको नेतृत्वमा जनमत पार्टी दर्ता भयो । त्यसपछि उनको पार्टीमा युवाहरूको आकर्षण अझै बढ्यो । 

डा. राउत वैज्ञानिक पृष्ठभूमिका भएकाले पार्टीमा पनि अधिकांश प्राविधिक युवाहरू आवद्ध भए । त्यसले पार्टीलाई सञ्चालन गर्न उनलाई गाह्रो थिएन । अहिलेका जेनजी पुस्ता जस्तै हरेक कुरामा उनीहरू विद्रोह गर्न तयार थिए । 

डा. सीके राउतको एकै आह्वानमा संगठनका नेता तथा कार्यकर्ता सडकमा आउँथे र क्षणभरमै माहोललाई उथलपुथल बनाउँथे । यसको उदाहरणको रुपमा पछिल्लो किसान आन्दोलन र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई लिन सकिन्छ । 

जब सीके राउत संसदीय राजनीतिमा आए, उनले नौलो गणतन्त्रको आवधारणा ल्याए । नौलो गणतन्त्रका लागि आन्दोलन गर्ने घोषणा गरे । 

उनले त्यसबेला उठाएका अधिकांश माग जेनजीसँग मिल्दाजुल्दा छन् । 

यस्ता थिए माग

-जनताको जनसम्प्रभुता कायम गर, पार्टी र नेताहरूको बन्धक र सिन्डिकेटबाट देशलाई मुक्त गर ।

-आन्दोलनकारीको नेत्तृत्वमा सम्पूर्ण अधिकारसम्पन्न राष्ट्रिय न्यायाधीकरण (ट्राइब्यूनल) गठन गर ।सरकार, पार्टी र शीर्ष नेताहरूको संलग्नता र संरक्षणमा भइरहेका सम्पूर्ण श्रृंखलाबद्ध भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन गरेर सजाय देऊ ।

-दुई सदनात्मक व्यवस्था अन्त्य गरेर सांसदहरूमाथि कुनै पनि किसिमको ह्वीप नलाग्ने गरी कुनै समूह वा पार्टीको दबाबबाट मुक्त जनताको हितमा छिटोछरितो ऐन बनाउने र पारित गर्न सक्ने एक सदनात्मक व्यवस्था गर । जनताले समेत प्रत्यक्ष मत जाहेर गरेर ऐन ल्याउन सक्ने व्यवस्था गर । 

-प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, निर्वाचन अधिकृत, महालेखा परीक्षक, न्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको व्यवस्था गर । विभिन्न विभागीय मन्त्रीहरू खारेज गरी प्रधानमन्त्रीद्वारा कार्यक्षेत्र विशेषज्ञताको आधारमा विशेषज्ञहरू नियुक्त गरेर विभागीय काम कारबाही गर्ने व्यवस्था गर । प्रदेश सरकारहरूमा पनि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने, तर कुनै पनि मन्त्रीहरू नरहने व्यवस्था गर ।

-न्यायालयको दलीयकरण बन्द गर र न्यायाधीशहरू कुनै पनि पार्टीसँग आबद्ध भएमा अयोग्य घोषणा गर । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सहित ७ सदस्ययीय न्यायाधीश, तोकेका व्यावसायिक योग्यता पुगेका उम्मेदवारहरूमध्ये जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर । 

-कर्मचारीतन्त्रमा कुनै पनि दलीयकरण र सामूहिक सौदाबाजी निषेध गर्दै छिटोछरितो र विना घुस काम गर्न गराउन निजी क्षेत्रको जस्तै ‘हायर एन्ड फायर’ नीति अपनाऊ ।

-देशमा मिश्रित अर्थप्रणाली पूर्णतः असफल भइराखेको र राज्यको हातमा भएका सरकारी विद्यालय, अस्पताल, उद्योग, निगम तथा संस्थानहरू सबै पूर्णतः असफल, गुणस्तरहीन र घाटामा रहेको हुँदा देशको उत्पादन प्रणाली निजी क्षेत्रको हातमा दिने तर राज्यले नियमन गर्ने र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारहरूबाट कोही वञ्चित नहोस् भनेर राज्यले सुनिश्चित गर्ने विश्वकै सफलतम् आर्थिक प्रणाली सामाजिक लोकतन्त्र कायम गर । दलाल, उपभोक्तावादी तथा वित्तीय पूँजीवाद खारेज गर्दै, उत्पादनमुखी अर्थतन्त्रमा जोड दिँदै तथा राष्ट्रिय उत्पादनलाई प्राथमिकता दिँदै राष्ट्रिय पूँजी निर्माण गर । 

-कुनै पनि नियुक्ति, भर्ना, ठेक्कापट्टा आदिमा नेता, पार्टी, जनप्रतिनिधिहरूकै नातेदार र आसेपासेहरूको बोलबाला रोक्न ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट (स्वार्थ–संघर्ष) नहुने सुनिश्चित गर ।

-नयाँ व्यवस्था ल्याउन र निर्वाचन गराउन आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठन गर । 

जनमतले उठाएका माग र हाल जेनजीले उठाएका मागमा प्राय: समानता देखिन्छ । 

युवाले गरेनन् दासत्व स्वीकार

मधेस मामिलाका जानकार प्राध्यापक भोगेन्द्र झा भन्छन्, ‘सीके राउत राजनीतिमा आएपछि मधेसले निकै आशा गरेका थिए, सोही आशाका कारण युवाहरू उहाँको पार्टीप्रति आकर्षित भए । तर उहाँले युवालाई दास बनाउनुभयो, झोले बनाउनुभयो ।’

जनमत पार्टी चुनाव जितेर आएपछि मधेसमा एक खाल उत्साह देखिएकै हो । डा. सीके राउतको विज्ञताबाट धेरैले आशा गरेका थिए । तर उनी पनि मुख्य दलका शीर्ष नेताहरूकै लाइनमा गएको झाको टिप्पणी छ । अहिलेका युवाले दासत्व नस्वीकार्ने भएकाले त्यहींबाट विद्रोह सुरु भएको उनी बताउँछन् ।  

‘सीके राउतले स्वराजको नारा दिए । तर व्यवहार पुरानो दलभन्दा पनि खत्तम थियो, उनको भनाइ र गराईमा धेरै फरक थियो, बाहिर एउटा देखाउँथे भने भित्र अर्कै गरेको कारण युवाले नपत्याएकाले छाडेर हिँडिरहेका छन्,’ उनी भन्छन्, ‘केही युवा उर्जा लिएर उहाँको साथमा गएका थिए, तर उहाँले झोले बनाइदिनुभयो ।’

विद्रोहको कारण

केही दिनअघि पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जनाले विद्रोह गरेका थिए । त्यसमध्येका डा. सीके सिंह भन्छन्, ‘सीके राउतको एजेन्डा र मुद्दा ठिक भएपनि त्यसलाई उहाँले दुरुपयोग गरिरहनुभएको छ । जेनजी पुस्तालाई भ्रममा राखेर मुद्दा, एजेन्डा बेच्नुभयो ।‘

डा. राउतले दोहोरो चरित्र देखाएको विद्रोही समूहको आरोप छ । ‘ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव जाँदा त्यसको विरोध गर्ने सीके राउत आफैं त्यो सरकारमा सहभागी, एकातिर संसद विघटन हुनुहुँदैन भने अर्कोतिर संसद्हरूलाई राजीनामा दिन लगाउने, मुख्यमन्त्रीलाई फेसबुकबाट राजीनामा दिन लगाउने फेरि राजीनामा दिएको छैन भन्न लगाउने, आफ्नै नेतामाथि तल्लो स्तरका आरोप लगाउने कुराले युवा उहाँको साथमा टिक्न नसकेका हुन्,’ सिंह भन्छन् । 

जनमत पार्टीमा परिवारवाद हाबी भएको विषय पनि छ । डा. राउतले दाजु, भाइ, बुहारीलाई पार्टीमा हाबी गराएको आरोप छ । 

‘उहाँले जारी गरेका विज्ञप्ति, मुद्दा, एजेन्डा, विचार सबै मिडिया खपतका लागि मात्रै हुन् । पार्टीभित्र त्यसको ठिक विपरीत हुन्छ । पार्टी सञ्चालन निरकुंश शैलीमा सञ्चालन हुने गरेको छ,’ सिंहको दाबी छ । 

पछिल्लो समय विद्रोह गरेका ६ जना पार्टीको कुनै न कुनै पदमा रहेका युवा हुन् । यसअघि अध्यक्ष राउतले नै पार्टीका उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेका थिए । एउटा घटनालाई लिएर पार्टीका सचिव बीपी साहलाई पनि स्पष्टीकरण सोधिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई पनि पार्टीले स्पष्टीकरण सोधेको छ । 

सम्भवतः बीपी साह र सतिश सिंह पनि पार्टीमा बस्दैनन् । कैलाश महतो, जासर यादव, रवीन्द्र यादवलगायत थुप्रै नेता यसअघि नै पार्टीबाट विद्रोह गरेर निस्किसकेका छन् । 
महोत्तरीका युवा दीपेन्द्र मधेसीसहित इन्द्रप्रसाद सिंह, कोमल यादव, सुरेश ठाकुर, सन्तोष यादव, सञ्जित यादव, राम जीवन साहलगायतले विद्रोह गरे, कसैलाई कारवाही पनि गर्‍यो । 

पार्टीमा पनि युवा, एजेण्डा पनि युवाकै, तर युवाहरू नै किन पार्टी छाडिरहेका छन् त ? 

जनमतका उपाध्यक्ष नरेन्द्र चौधरी भन्छन्, ‘यो कुरा त ती युवालाई मात्र थाहा होला । हामी पनि जवाफ खोजिरहेका छौं- आखिर यस्तो किन त ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप