मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् विस्तार

जगदीशको छलाङ : प्रश्न गर्दागर्दै जवाफ दिने ठाउँमा

सोमबार, ०६ असोज २०८२, १५ : २४
सोमबार, ०६ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा सञ्चारकर्मी जगदीश खरेल सञ्चारमन्त्री नियुक्त भएका छन्।
  • खरेल यसअघि इमेज टेलिभिजनका समाचार प्रमुख थिए, र 'हट सिट' कार्यक्रम चलाउँथे।
  • पत्रकारितामा लामो अनुभव भएका खरेल मिडिया हेल्पलाइनका कार्यकारी निर्देशक पनि हुन्।

काठमाडौँ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारमा सञ्चारकर्मी जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका छन् । खरेल यसअघि इमेज टेलिभिजनका समाचार प्रमुख थिए ।

इमेज टेलिभिजनमा खरेलले सञ्चालन गर्ने ‘हट सिट’ कार्यक्रम निकै लोकप्रिय छ । आइतबार मन्त्री नियुक्त भएलगत्तै सोमबार नै खरेल इमेज टेलिभिजनबाट बिदा भएका छन् ।

शालीन शैलीमा खरो प्रश्न गर्ने पत्रकारको रुपमा चिनिएका खरेलको जन्म २०३९ साल साउन २२ गते दोलखामा भएको हो । दोलखाको कालिञ्चोक गाउँपालिकाको सुनखानी भदौरे स्थायी घर भएका उनले स्थानीय कालिनाग माध्यमिक विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययन गरेका उनले पत्रकारितमा एमए गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा उनी विद्यावारिधि गरिरहेका छन् । 

इमेज टेलिभिजनमा लामो समय काम गरेका खरेलको पत्रकारिता यात्रा पनि इमेज ग्रुपअन्तर्गतकै इमेज एफएमबाट सुरु भएको थियो । तीन वर्ष इमेज एफएममा काम गरेपछि २०५९ देखि इमेज च्यानल टेलिभिजनमा काम गरे । 

इमेज टेलिभिजनमा रिपोर्टिङ, समाचार तथा कार्यक्रम प्रस्तोता, कार्यक्रम निर्माता हुँदै समाचार प्रमुख बनेका खरेल विभिन्न गैरसरकारी संस्थामा समेत आवद्ध रहेर काम गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

खरेलको आफ्नै कम्पनी मिडिया हेल्पलाइन समेत छ । उनी मिडिया हेल्पलाइनका कार्यकारी निर्देशक (मिडिया सम्बन्धी काम गर्ने संस्था) र सरसफाइ, डिजास्टर तथा सोसल विषयमा टक अफ द टाउन कार्यक्रम निर्माता तथा सञ्चालक पनि थिए । यो कार्यक्रम पनि इमेज च्यानलबाटै प्रसारण हुँदै आएको थियो । 

मिडियाको माध्यमबाट हरेक राजनैतिक तथा अन्य क्षेत्रका उच्च तहका व्यक्तिसँग नजिकको सम्बन्ध बनाएका खरेल सानै उमेरदेखि नै वाककलामा अब्बल मानिन्थे । कुनै काम गर्दा निरन्तर अध्ययन र छलफल गरेर मात्र अगाडि बढ्ने स्वभाव भएका खरेल प्रश्न गर्दागर्दै जवाफ दिने निकायमा पुगेको पत्रकारहरुबिच चर्चा चल्न थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप