बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनका लागि आवश्यक मतपेटिका लगायतका सामग्री मौज्दात रहेको आयोगद्वारा जानकारी

मङ्गलबार, ०७ असोज २०८२, १९ : ४३
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफल भयो।
  • प्रधानमन्त्रीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन आवश्यक स्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।
  • आयोगले निर्वाचनका लागि आवश्यक सामग्री मौज्दात रहेको र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने जनाएको छ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबिच मंगलबार प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफल भएको छ। 

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी २०८२ साल फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउनु सरकारको उच्च प्राथमिकता रहेको प्रधानमन्त्री कार्कीले बताएकी हुन्।

प्रधानमन्त्रीले निर्वाचन आयोगलाई आवश्यक स्रोत, साधन, जनशक्ति र सुरक्षा प्रबन्ध उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै निर्वाचनको तयारीका सबै काम तत्काल अगाडि बढाउन आग्रह गरेकी थिइन् । उनले निर्वाचनका लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग पनि छलफल गर्ने जानकारी दिइन्।

छलफलमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले निर्वाचनका लागि आवश्यक मतपेटिका लगायतका सामग्री मौज्दातमा रहेको र अन्य सामग्री स्वदेशमै उत्पादित वस्तुलाई प्राथमिकता दिई खरिद गरिने बताएका थिए ।

उनले राजनीतिक दल र सरोकारवालाहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाउँदै भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन सरकारलाई अनुरोध गरे। उनले निर्वाचनमा सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्र लगायत सबैको सहयोग पाउने विश्वास व्यक्त गरे।

सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार  छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल लगायतका सरकारी अधिकारीहरू र निर्वाचन आयुक्तहरू डा. जानकी कुमारी तुलाधर तथा सगुन शमशेर ज.ब.रा. लगायत आयोगका पदाधिकारीहरूको उपस्थिति थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप