प्रधानमन्त्रीलाई भेटेर एनआरएनएले के-के दियो सुझाव (पूर्णपाठ)
सारांश
- गैरआवासीय नेपाली संघ (NRNA) ले प्रधानमन्त्रीलाई नागरिकता, लगानी सुरक्षा, र मतदान अधिकार सुनिश्चित गर्न सुझाव दिएको छ।
- संघले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हकहित, रेमिट्यान्सको उत्पादनमूलक क्षेत्रमा परिचालन, र दोहोरो कर छुटलाई पारदर्शी बनाउन माग गरेको छ।
- प्रधानमन्त्रीसँगको भेटमा NRNA ले लगानी, सीप, र नेटवर्कमार्फत देशको विकासमा योगदान पुर्याउन प्रतिबद्धता जनाएको छ।
काठमाडौं । महेश कुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न नीतिगत सुझावहरू दिएको छ।
बिहीबार सिंहदरबारमा सम्पन्न भेटमा संघले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगारीमा रहेका श्रमिकका हकहित, लगानी सुरक्षालगायतका विषयमा माग राखेको हो।
अध्यक्ष श्रेष्ठका अनुसार भेटमा संघले प्रमुख रूपमा आगामी फागुन २१ गतेको निर्वाचनदेखि गैरआवासीय नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न, नागरिकताको निरन्तरता, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई श्रम लगानी कोषमार्फत देश निर्माणमा समेट्न र सामूहिक लगानीलाई प्रोत्साहन गर्न सरकारसँग आग्रह गरेको छ।
“गैरआवासीय नेपालीहरूको लगानी सुरक्षित गर्न कानुनी तथा नीतिगत व्यवस्था आवश्यक छ। साथै, रेमिट्यान्सलाई उपभोग होइन, उत्पादनमुखी क्षेत्रमा परिचालन गर्न सरकारले प्रोत्साहन दिनुपर्छ,” अध्यक्ष श्रेष्ठले भने।
संघले प्रधानमन्त्रीलाई बुझाएको सुझावमा दोहोरो कर छुटलाई पारदर्शी बनाउनुपर्ने, धितोपत्र बजारसम्म गैरआवासीय लगानी पुर्याउनुपर्ने, विदेशबाट फर्किएका नेपालीलाई रोजगारी र उद्यमशीलताको अवसर दिलाउन ‘सिप बैंक’ स्थापना गर्नुपर्ने लगायतका प्रस्ताव समावेश छन्।
त्यस्तै, संघले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा र पेन्सन योजनामा गैरआवासीय नेपालीलाई समावेश गर्ने, सम्पत्ति खरिद–बिक्री तथा अंशवण्डा प्रक्रियालाई सहज बनाउने, दूतावास र श्रम सहचारीलाई सुदृढ पार्ने, साथै गैरआवासीय नेपालीहरूको सीप र अनुभवलाई नेपालका प्रमुख विकास योजनामा उपयोग गर्ने माग पनि गरेको छ।
प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा मन्त्री कुलमान घिसिङसहितको उपस्थितिमा सम्पन्न भेटमा संघले हालैको आन्दोलनपछि मुलुकमा उत्पन्न चुनौतीलाई साझा सहकार्य र लगानीमार्फत समाधान गर्न तयार रहेको प्रतिबद्धता जनाएको अभियन्ता आरके शर्माले बताए ।
पूर्णपाठ
सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं, नेपाल
विषय: हार्दिक बधाई, शुभकामना र हालको राष्ट्रिय परिस्थिति सम्बन्धमा NRNA का सुझाव
सम्माननीय प्रधानमन्त्रीज्यू,
सबैभन्दा पहिले, नेपालको प्रधानमन्त्रीको चुनौतीपूर्ण जिम्मेवारी लिनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं। तपाईंको नेतृत्वमा देशमा सुशासन, शान्ति, समृद्धि र राष्ट्र निर्माणको यात्रा सफल बनोस् भन्ने विश्वासकासाथ शुभकामना व्यक्त गर्दछौं। भदौ २३–२४ गतेको Gen Z आन्दोलन ले नेपाली जनतामा रहेको लोकतान्त्रिक चेतना र सुशासनको माग स्पष्ट रूपमा प्रस्तुत गरेको छ। यस आन्दोलनले पुरानो राजनीतिक संरचना र अभ्यासप्रति जनताको असन्तोष र सुधारको आवश्यकता उजागर गरेको छ। यसै सन्दर्भमा, तपाईं नेतृत्वको सरकारलाई आगामी छ महिनाभित्र स्वतन्त्र, निष्पक्ष र पारदर्शी संसदीय निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय म्यान्डेट प्राप्त भएको छ।
गैरआवासीय नेपाली संघ (NRNA), तपाईंको नेतृत्वमा नेपाल विकास, समृद्धि र राष्ट्रिय एकताको मार्गमा जाने कुरामा हामी पूर्ण समर्थन र सहयोग गर्न तत्पर छौं। यस उद्देश्य पूरा गर्नका लागि हामी निम्न महत्वपूर्ण माग र सुझावहरू प्रस्तुत गर्दछौं :
प्रमुख माग र सुझावहरू
• गैरआवासीय नेपाली नागरिकता नीतिमा आवश्यक परिमार्जन गरी विदेशमा बस्ने नेपालीहरूको नागरिकताको निरन्तरताको अधिकार सुनिश्चित गरियोस्। साथै, नेपाली नागरिकको हैसियतले पाउने सबै संवैधानिक हकको सुनिश्चितता गरियोस्।
• आगामी फागुन २१ मा तय भएको निर्वाचनदेखि नै गैरआवासीय नेपालीहरूले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न नाम दर्ता प्रक्रिया सुधार र प्राविधिक व्यवस्थापन कार्यान्वयन गरियोस्। यसमा आवश्यक सहयोग र समन्वयका लागि NRNA तत्पर रहेको छ।
• गैरआवासीय नेपालीहरूको नेपालमा रहेको लगानी र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न कानुनी र नीतिगत प्रवन्ध तयार गरियोस्।
• वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई श्रम लगानी कोष मार्फत देश निर्माणमा समावेश गर्ने व्यवस्था तत्काल सुनिश्चित गरियोस्।
• गैरआवासीय नेपालीको लगानीलाई धितोपत्र विनिमय बजारसम्म पुर्याउन पहल गरियोस्। यसका लागि आवश्यक नीतिगत र संरचनागत समस्याहरूलाई सम्वोधन गरियोस्।
• दोहोरो कर छुटको नीति आवश्यक अनुसार परिमार्जन गरी पारदर्शी र निष्पक्ष बनाइयोस्। स्थानीय निकायमा केही रकम स्वचालित रूपमा जाने व्यवस्था कार्यान्वयन गरियोस्।
• रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरियोस्। यसका लागि रेमिट्यान्स विकाश प्राधिकरणको अवधारणालाई कार्यान्वयन गरियोस्।
• रेमिट्यान्स सटही गर्दा प्राप्त हुने कमिशनको निश्चित प्रतिशत श्रमिक कल्याणकारी कोषमा जम्मा गरियोस्। र श्रमिक कल्याणकारी कोषबाट कर्जालिइ व्यवसाय गर्नका लागि आवश्यक नीतिगत र संरचनागत प्रवन्ध गरियोस्।
• विदेशबाट फर्किएका गैरआवासीय नेपालीहरूलाई रोजगारी र उद्यमशीलता अवसर प्रदान गर्न सिप बैंक स्थापना गरियोस्।
• स्वास्थ्य बीमा, सामाजिक सुरक्षा र पेन्सन योजनामा प्रत्येक महिनामा निश्चित रकम जम्मा हुने व्यवस्थालाई उचित उपयोग हुने सुनिश्चित गरियोस्।
• सम्पत्ति खरिद, बिक्री र अंशवण्डा व्यवस्थापनमा सहज कानुनी प्रक्रिया तयार गरियोस्।
• राष्ट्रिय समन्वय परिषद्को अध्यक्षलाई नेपाल सरकारको अवैतनिक वाणिज्य दूतको मान्यता प्रदान गरियोस्।
• दूतावास र श्रम सहचारीलाई सुदृढ पार्दै वैदेशिक रोजगारमा रहेका नेपालीहरूको अधिकार संरक्षण सुनिश्चित गरियोस्।
• राष्ट्रिय संकट तथा विकास परियोजनामा गैरआवासीय नेपालीहरूको योगदानलाई कानुनी र संस्थागत रूपमा सुनिश्चित गर्न नेपाल सरकार, दाता र NRNA बीच परियोजना साझेदारी निर्देशिका तयार गरियोस्।
• IT, स्वास्थ्य, कृषि, विज्ञान र प्रविधि क्षेत्रमा गैरआवासीय नेपालीहरूको सीप उपयोग गर्न संस्थागत संरचना तयार गरियोस्।
• Global Nepali Investment e-Network मार्फत नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहन गर्न र लगानी तथा अवसर सिर्जना गर्ने प्राविधिक नीति र प्रणाली विकास गरियोस्।
• गैरआवासीय नेपालीहरूले नेपाली बैंकमा NRN खाताको प्रयोग गर्दै लगानी, सम्पत्ति व्यवस्थापन र रेमिट्यान्सको सहजता प्राप्त गर्न सक्ने सुविधा सुनिश्चित गरियोस्।
• गैरआवासीय नेपालीहरूले वैदेशिक मुद्रा ऋण लिन, वित्तीय परामर्श पाउन, बीमा तथा पेन्सन योजनामा सहभागी हुने सहज व्यवस्था गरियोस्।
• गैरआवासीय नेपालीहरूको शिक्षा, स्वास्थ्य, सामाजिक कल्याण र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउन सरकारी र निजी कार्यक्रमहरूसँग सहकार्यको अवसर सिर्जना गरियोस्।
• नेपाली भाषा, संस्कृति र पहिचान प्रवर्द्धनका लागि विदेशमा रहेका नेपालीहरूसँग सहकार्य गर्न नीति र कार्यक्रमहरू तयार गरियोस्।
• गैरआवासीय नेपालीहरूको अनुभव र विशेषज्ञता प्रयोग गर्दै आन्तरिक विकास, पूर्वाधार, जलस्रोत, कृषि र प्रविधि परियोजनामा सहभागी गराउने विशेष योजना तयार गरियोस्।
• गैरआवासीय नेपालीहरूको सुझावलाई नियमित रूपमा समेट्न अन्तर्राष्ट्रिय सल्लाहकार परिषद र नेपाल सरकारबीच औपचारिक संवाद प्रणाली स्थापना गरियोस्।
• विदेशबाट फर्किने युवा गैरआवासीय नेपालीहरूलाई रोजगारी र उद्यमशीलता अवसर प्रदान गर्न इनोभेशन हब र स्टार्टअप इनक्युबेटर तथा प्राविधिक, अनुसन्धानात्मक र नवप्रवर्तन क्षमताको उपयोग गर्दै नेपालको दीगो विकासमा योगदान सुनिश्चित गरियोस्।
• सामाजिक न्याय, लैङ्गिक समानता, र समावेशी विकासका लागि गैरआवासीय नेपालीहरूको अनुभव प्रयोग गर्न नीति र तयार गरियोस्।
सम्माननीय प्रधानमन्त्रीज्यू,
देशलाई स्थायित्व, सुशासन र समृद्धिको बाटोमा अघि बढाउन अबको समय अत्यन्त महत्वपूर्ण छ। गैरआवासीय नेपाली संघ नेपाल सरकारसँग सहकार्य गर्न, लगानी, सीप र नेटवर्कमार्फत योगदान गर्न पूर्ण रूपमा तत्पर छ। 'एक पटकको नेपाली, सधैंको नेपाली' भन्ने मूल मर्मअनुसार, यस कठिन परिस्थितिमा NRNA नेपालको विकास र समृद्धिको यात्रामा सधैं एक महत्वपूर्ण साझेदारको रूपमा उभिरहेको छ। हालैको आन्दोलनबाट उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा पुनर्निर्माणका लागि हामीले आर्थिक, प्राविधिक र मानव संसाधन सहयोग जुटाउने पहल सुरु गरिसकेका छौं। प्रथमचरणमा हामीले काठमाडौं उपत्यकाको सडक सुरक्षा व्यवस्थापनका लागि अत्यन्त महत्त्वपूर्ण मानिने बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्स्थापनाका लागि आवश्यक काम सुरु गरिसकेको व्यहोरासमेत अवगत गराउँदछौं ।
हामी अक्टोबर ८, २०२५ मा भविष्यका आवश्यक लगानी जुटाउने उद्देश्यसहित नेपाल पुनर्निर्माण विषयक छलफल आयोजना गर्दैछौं। यस महत्वपूर्ण कार्यक्रममा तपाईंको गरिमामय उपस्थितिका लागि समेत हार्दिक अनुरोध गर्दछौं।
अन्त्यमा, तपाईंको नेतृत्वमा देश प्रगति, समृद्धि र राष्ट्रिय एकताको मार्गमा अघि बढ्ने विश्वासका साथ, हामी नेपाल सरकारसँगको सहकार्यलाई अझ मजबुत बनाउन तत्पर छौं र माथि उल्लेखित सुझावहरूलाई प्राथमिकतामा राख्दै यसको सफल कार्यान्वयनका लागि हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।
महेशकुमार श्रेष्ठ
अध्यक्ष,
गैरआवासीय नेपाली संघ (NRNA)
अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण