फिरौतीको नाटक गरी योजनाबद्ध हत्या
सारांश
- सिरहाको गोलबजारमा १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको घटनामा नयाँ तथ्यहरू सार्वजनिक भएका छन्।
- प्रहरीको अनुसन्धानबाट मृतकका काका पर्ने १७ वर्षीय पंकज सिंहले ट्याक्टर चलाउन नदिएको रिसमा योजनाबद्ध हत्या गरेको खुलेको छ।
- पंकजले फिरौती माग्दै धम्कीपूर्ण सन्देश पठाएको र घटनामा अन्य व्यक्तिको संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ।
सिरहा । यहाँको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको शङ्का १७ वर्षीय पंकज सिंहतर्फ मोडियो । पंकज अभिषेकका काका पर्ने नातेदार हुन् ।
प्रहरीका अनुसार अभिषेकले ट्याक्टर चलाउन नदिएको रिसमा पङ्कजले योजनाबद्ध रूपमा हत्या गरेका हुन् । ७ गते नै पक्राउ परेका पङ्कजले प्रहरीलाई दिएको बयानमा अभिषेकलाई ‘खेल्न जाऊँ’ भनेर घरबाट लगेका थिए ।
पहिले खेतमा खाल्डो खनी ड्रम राखिसकेका उनले गम्छाले बाँधेर अभिषेकको घाँटी थिचेर हत्या गरेका थिए । प्रारम्भमा शव ड्रममा राखी खाल्डोमा पुरेर माथिबाट माटोले ढाकिएको थियो ।
हत्या पश्चात् पनि पङ्कजले आफन्तसँग खोजी अभियानमा संलग्न बनेको अभिनय गरेका थिए । असोज ६ गते बिहान उनले अभिषेककी आमा रेखादेवी सिंहको मोबाइलमा इमोमार्फत पाँच करोड फिरौती माग गर्दै हिन्दी भाषामा धम्कीपूर्ण सन्देश पठाएका थिए ।
सन्देशमा उल्लेख थियो, ‘पैसा नदिए मारिदिन्छौँ, प्रहरीले थाहा पाए पनि लास फाल्नेछौँ ।’ यसबाट घटनालाई सीमापार (बिहारतर्फ) बाट आएको जस्तो देखाउने प्रयास गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
घटनाको राति भारी वर्षा भएपछि ड्रम देखिन थाल्यो र पंकज फेरि घटनास्थल गए । त्यसपछि शव निकालेर आँप बगैँचामा फ्यालेको र ड्रमलाई नजिकैको पोखरीमा डुबाएको बयान उनले प्रहरीसमक्ष दिएका छन् ।
घटनामा प्रयोग भएको गम्छा विद्यालय प्राङ्गणबाट, मृतकको मोबाइल र सिम पोखरी किनारबाट र ड्रम पोखरीभित्रबाट प्रहरीले बरामद गरेको छ । साथै, फिरौती सन्देश पठाउन प्रयोग गरिएको मोबाइल पंकजकै रहेको पुष्टि भएको छ । उक्त मोबाइल दाउरा राख्ने घरभित्र फेला परेको छ ।
अभिषेक परिवारका एक्ला छोरा थिए । उनका पिता सञ्जय सिंहको करिब १० वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । अभिषेककै नाममा चार बिघा पुर्ख्यौली जमिन रहेको हुँदा सम्पत्ति हत्याउने नियतले अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने, ‘पङ्कजले घटना आफू एक्लैले गरेको भनेका छन् तर ड्रममा शव लुकाउनेदेखि निकालेर फाल्नेसम्मको प्रक्रिया हेर्दा अरूको पनि संलग्नता हुनसक्छ ।’
घटनाको गम्भीरताका कारण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत अनुसन्धानमा खटिएको छ । नाबालक पंकजलाई मोहरा बनाइ अरू कसैले योजनाबद्ध ढङ्गले हत्या गराएको हुनसक्ने कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक शर्माले भने, ‘दोषी पत्ता लागिसकेको छ । धेरै प्रमाण जुटिसकेका छन् । केही निष्कर्ष आउन बाँकी छ, निष्कर्षमा पुगेपछि सार्वजनिक गर्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण