बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गगन, विश्वहरूले गर्नुपर्छ कांग्रेसको सङ्कटमोचन

शुक्रबार, १० असोज २०८२, १३ : ४५
शुक्रबार, १० असोज २०८२

जेन–जी आन्दोलनपछि तीन ठुला राजनीतिक पार्टी कांग्रेस, एमाले र माओवादीभित्र पुनः नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको बहस सुरु भएको छ । विशेष गरी नेपाली कांग्रेस पार्टीमा नेतृत्व परिवर्तनको कुरा पेचिलो बन्दै छ ।

नेपाली कांग्रेसजस्तो इतिहास बोकेको जीवन्त पार्टीभित्र वाद, विवाद, प्रतिरोध, संवाद चलिरहनुलाई सामान्य लिन सकिन्छ, तर जेन–जीको आन्दोलनपछि युवापुस्ताको नेतृत्वसँगै उनीहरूको भावनालाई सम्बोधन भएन भने पार्टीमा नयाँ पुस्ताको आकर्षण ल्याउन सकिँदैन भन्ने निष्कर्षका साथ महामन्त्री थापा आफूलाई नेतृत्वमा स्थापित गराउन गर्दै आएको लडाइँलाई सशक्त बनाउँदै आएका छन् । पार्टीभित्र लामो समयदेखि सक्रिय रहेका दुई–तीन गुटले गर्दा गगनलाई नेतृत्व परिवर्तन गर्न त्यति सजिलो छैन ।

नेपाली कांग्रेस स्थापनाकालदेखि नै विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला गुट, विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर गुट चलिरह्यो । २०४८ सालदेखि गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई गुट चल्यो । १३औँ महाधिवेशनबाट शेरबहादुर देउवा, इतरसमूह, रामचन्द्र पौडेल र डा. शशाङ्क कोइराला समूह गरी जबर्जस्त तीन धारमा विभाजित कांग्रेसलाई गुट–उपगुटले अन्योलग्रस्त बनाइरह्यो ।

नीति र सिद्धान्तका आधारमा बनेका गुटले पार्टीलाई रूपान्तरण गरी पार्टीको विधानलाई न्याय निरूपण गर्दै एकमत भएर अगाडि बढ्न प्रेरित गर्छ तर कांग्रेसभित्र त्यसो हुन नसक्दा नेताको व्यक्तिगत स्वार्थमा पार्टी रुमलिरहेको स्पष्ट देखिन्छ ।

जेन–जी विद्रोहले खण्डहर बनाएको पार्टी कार्यालय सानेपामा पहिलोपटक बसेको बैठकमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतले पार्टी नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणबारे बहसको विषय प्रवेश गराएका थिए । उनीहरूले जेन–जी आन्दोलनपश्चात् उत्पन्न परिस्थितिमा पार्टीले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए । देउवा समूहले भने त्यसको प्रतिवाद गरेको थियो ।

देउवानिकट नेता पूर्णबहादुरहरूले तत्काल नेतृत्व परिवर्तनभन्दा पनि पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन् भने जेन–जी आन्दोलनको म्यान्डेट अनुसार पार्टी रूपान्तरण गर्न नसक्ने हो भने पाका नेताहरूका कारण कांग्रेसको अस्तित्व सङ्कटमा पर्ने निश्चित छ भन्ने गगनहरूको मत देखिन्छ । यद्यपि यथास्थितिमै बलियो पार्टी बनाउने कि नेतृत्व परिवर्तनसहित आन्दोलनको जगमा उभिएको कांग्रेस बनाउने भन्नेहरूको बिच बहस हुनुलाई सकारात्मक लिन सकिन्छ ।

देउवानिकट नेता पूर्णबहादुरहरूले तत्काल नेतृत्व परिवर्तनभन्दा पनि पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन् भने जेन–जी आन्दोलनको म्यान्डेट अनुसार पार्टी रूपान्तरण गर्न नसक्ने हो भने पाका नेताहरूका कारण कांग्रेसको अस्तित्व सङ्कटमा पर्ने निश्चित छ भन्ने गगनहरूको मत देखिन्छ ।

लोकतन्त्र आफैँमा विविधतालाई सम्बोधन गर्ने व्यवस्था हो । झनै नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा फरक–फरक विचारबिचमा स्वस्थ प्रतिस्पर्धा हुनैपर्छ । यही प्रतिस्पर्धाको बिचमा न्यूनतम सहमति कायम गर्न सक्ने शक्तिले पार्टी नेतृत्व र सत्ताको अभ्यास गर्छ । फरक मतलाई सम्मान गरिन्छ, तब मात्र लोकतन्त्र गतिशील हुन्छ । लोकतान्त्रिक पार्टीहरू प्रगतिशील विचार पछ्याउँछन् ।

२००७ सालमै आएको प्रजातन्त्रको विकास अहिलेसम्म राम्रोसँग भएको छैन भन्नुपर्ने दुःखद स्थिति एकातिर छ भने अर्कोतिर नेपालका सबैजसो पार्टी लोकतान्त्रिक पार्टीजस्तो अभिनय गर्ने गर्दा लोकतन्त्रको राम्ररी विकास हुन नपाउँदै खतराउन्मुख भएको छ । लोकतन्त्र फगत दलीयकरण र भागबन्डाको मागिखाने भाँडो होइन तर कांग्रेसभित्र देउवा, पूर्णबहादुर, शेखर र प्रकाशमानहरू पेवा बनाइरहेका छन् ।

जेन–जीको क्रान्ति गत ३६ वर्षदेखिको प्रजातन्त्र र लोकतन्त्रले थुपार्दै गएका थुप्रै विकृतिका कारण हो । राजनीति, समाज र देशलाई सुधारेर हाम्रो लोकतन्त्रलाई अझै पारदर्शी, जवाफदेही र उच्च आचरणको बनाउने अर्को मौका जेनजी आन्दोलनले नेपाली कांग्रेसलाई दिएको छ । यसपटक गगनहरू चुक्नु हुँदैन ।

गगन थापाले ‘जेनजीहरूको असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्यत पार्टीभित्रको तप्का सलबलाइरहेको बेला विवेकपूर्ण ढङ्गले नेतृत्व सम्हाल्नुको विकल्प देखिँदैन । पार्टी गलत बाटोमा हिँडिरहेको थाहा छ, तर बहुमत सदस्यसहितले यतिबेला सघाइरहेको पार्टीको महामन्त्री त्यही बाटोमा लाचार भएर पुरातन बाटो हिँड्न मिल्दैन ।

राजनीतिमा विद्रोहलाई शक्तिको स्रोत मानिन्छ । गगन थापाको छवि पनि नेपालको राजनीतिमा यस्तै विद्रोही बनेको छ, जसले राज्यसत्ता र पार्टी सत्ताविरुद्ध सधैँ प्रश्न गरिरहेको छ । अहिले गगनले गर्ने कांग्रेसभित्रको विद्रोहले गगनलाई व्यक्तिगत असहमति मात्र प्रकट गर्दैन, यसले त सामूहिक अस्तित्व र चेतनाको निर्माण पनि गर्छ ।

महामन्त्रीको जिम्मेवारीपछि गगनको प्रश्न गर्ने छवि छायामा परेको छ । जसले गर्दा उनीमाथि सम्झौतावादी हुन् कि भन्ने शङ्का गर्ने ठाउँ भेटिन्छ । सभापति शेरबहादुर देउवाबाट आशीर्वाद थापेर सभापति बन्ने बाटो पो रोजे कि भन्ने आशङ्का पनि उत्तिकै जन्मिएका छन् । यी सबै दुविधाबाट गगनले आफ्ना शुभचिन्तक र पार्टी कार्यकर्ताहरूलाई निकाल्न जरुरी छ । तब मात्र मा. सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई प्रश्न गर्ने ठाउँ रहला ।

पछिल्लो समय संसारभरि फस्टाएको लोकरिझ्याइँवादी राजनीतिले सबै जनता असल छन् र सबै नेता खराब छन् भन्छ । यस्तो भन्ने पात्रले भन्छ— तर म मात्रै असल छु र म सबै ठिक पार्छु भन्छ । म मात्रैले कांग्रेस ठिक पार्छु भन्ने मूर्खता गगनले नगरुन् । सडकबाट दिएको सन्देश र रगतले रक्ताम्य भएको जुत्ताले देखाएको गन्तव्यसम्म पुग्न अब गगनले विधि, विधान र प्रणालीभन्दा पात्रकेन्द्रित समाधान खोजेर मात्र पनि पुग्दैन । जेन–जी पुस्ता र तरुण–तन्नेरीहरूको भावना अनुसारको कदम अनि पुराना नेताहरूको सम्मानजनक बहिर्गमनले मात्रै गगनलाई परिपक्व नेतृत्व बनाउँछ । कांग्रेस रूपान्तरणको कवचको रूपमा उनलाई उभ्याउँछ ।

बीपी, कृष्णमान र प्रदीप गिरिहरूको आदर्श बोकेको कांग्रेसको साख जोगाउँदै नवीन सङ्कल्प र जेन–जी आन्दोलनको एजेन्डासहित युवाहरूले बोकेको नयाँ कांग्रेस निर्माण गरी पार्टीभित्र र बाहिर वर्तमान कांग्रेसप्रति देखिएको नैराश्यतालाई र पार्टी सङ्कटलाई मोचन गरी नयाँ इतिहास रच्न गगन, विश्वप्रकाश र प्रदीप पौडेलहरूलाई अवसर र चुनौती दुवै हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश भट्ट आश्रिन
सुरेश भट्ट आश्रिन
लेखकबाट थप