जेनजी र अन्तरिम सरकारलाई सुझाव दिँदै बाबुरामले सम्झिए किसुनजीबाट पाएको धोका
सारांश
- बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट पाएको धोकाको स्मरण गर्दै जेनजी र वर्तमान सरकारलाई पाठ सिक्न आग्रह गरे।
- मदन भण्डारी र जीवराज आश्रितको निधनपछि निष्पक्ष छानबिनको माग राख्दा तत्कालीन प्रधानमन्त्री कोइरालाले राजीनामा नदिएको घटनाबारे उल्लेख गरे।
- भट्टराईले वार्तामा भएको मौखिक सहमति पालना नहुँदा आन्दोलनको उपलब्धि गुमेको र 'सन्तनेता' ले धोका दिएको बताए।
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले जेनजी अगुवाहरू र जेनजी विद्रोहको जगमा बनेको वर्तमान अन्तरिम सरकार दुवैलाई उपयोगी हुने भन्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)बाट पाएको धोका स्मरण गराएका छन् ।
तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएपछि निष्पक्ष छानबिन, दोषीलाई कारबाही, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामाका माग राख्दै आन्दोलन चर्किए पनि सरकार टसमस नभएपछि वार्ता समिति बनेको तर सरकारसँग भएको मौखिक सहमति पालना नभएपछि आन्दोलनको उपलब्धि फासफुस भएको भट्टराईले उल्लेख गरेका छन् ।
उनले भनेका छन्– 'आन्दोलनकारीहरूको तर्फबाट तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी, वरिष्ठ वामपन्थी नेता शम्भुराम श्रेष्ठ र संजमोको अध्यक्ष म चयन भयौं। सरकार पक्षबाट कांग्रेस सभापति तथा पूर्व प्र म कृष्णप्रसाद भट्टराई (किसुनजी) खटिनुभयो। ललितपुर सानेपाको कुनै घरमा वार्ता भयो। लामो रस्साकस्सी पछि अरू कुराहरूमा सहमति बन्दै गयो। तर प्रमको राजीनामाबारे सहमति हुन निकै सकस पर्यो। हामी पनि टसमस भएनौं। अन्त्यमा किसुनजीले भन्नुभयो– 'लौ त्यो माग पनि तपाईँहरूको पूरा हुन्छ। म जिम्मा लिन्छु'।'
भट्टराईले थप भनेका छन्– 'हामीले भन्यौँ- 'मिति तोक्नुपर्छ।' किसुनजीले भन्नुभयो- 'लौ लौ, भदौ ३० गते१ मेरो वचन भयो।' मेरो मनमा शंका लाग्यो। किनकि म त्यतिवेला ३९ वर्षको जल्दोबल्दो थिएँ। मैले भनें- 'किसुनजी, यसको एउटा लिखत गरौं न त!' किसुनजीले बोल्नु अघि नै वहाँका सममयी र मेरा पिताको उमेरका मनमोहनजी र शम्भुरामजीले एकै स्वरमा भन्नुभयो-' किसुनजी जस्तो सन्तनेताले भनेपछि भैगो नि! वहाँको वचननै लिखतभन्दा बलियो हुन्छ।'
म हिस्स परेँ। भदौ ३० गते आयो। प्रम गिरिजा प्रसाद कोइरालाले राजीनामा गर्नुभएन। बरू 'सन्तनेता' ले पो भन्नुभयो-'मैले राजीनामाबारे आश्वासन दिएकै थिइनँ।' सबै फासफूस भयो।'
भट्टराईले यस प्रकरणबाट जेनजी र वर्तमान अन्तरिम सरकारले पाठ सिक्नुपर्ने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण