बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार विघटन

मङ्गलबार, १४ असोज २०८२, १४ : १८
मङ्गलबार, १४ असोज २०८२

सारांश

  • माडागास्करका राष्ट्रपतिले पानी र बिजुलीको कटौतीविरुद्धको प्रदर्शनपछि सरकार विघटनको घोषणा गरे।
  • प्रदर्शनमा कम्तीमा २२ जनाको मृत्यु र १०० जना घाइते भए, जसलाई लिएर राष्ट्रसंघले सुरक्षा बलको आलोचना गरेको छ।
  • राष्ट्रपतिले नयाँ सरकार गठन नहुँदासम्म अन्तरिम मन्त्रीहरूले काम गर्ने र युवाहरूसँग वार्ता गर्ने बताए।

माडागास्कर । पानी र बिजुलीको लामो समयदेखिको कटौतीविरुद्ध युवाहरूको नेतृत्वमा भएको प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिले आफ्नो सरकार विघटन गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति एन्ड्री राजोएलिनाले सोमबार राष्ट्रका नाममा टेलिभिजनबाट सम्बोधन गर्दै भने, ‘सरकारका सदस्यहरूले उनीहरूलाई सुम्पिएको जिम्मेवारी पूरा नगरेको हामी स्वीकार गर्छौँ र माफी माग्छौँ।’

जेनजी प्रदर्शनहरूमा गत बिहीबारदेखि माडागास्करका सहरहरूमा हजारौँ युवा प्रदर्शनकारीहरू नारासहित सडकमा उत्रिएका थिए। यसमा कम्तीमा २२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको बताएका छन्। 

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले प्रदर्शनलाई दबाउन सुरक्षा बलले ‘अनावश्यक बल’ प्रयोग गरेको भन्दै निन्दा गरेका छन् । यद्यपि, माडागास्करको विदेश मन्त्रालयले यो तथ्याङ्क ‘अफवाह वा गलत सूचनामा आधारित’ रहेको भन्दै राष्ट्रसंघको तथ्याङ्क अस्वीकार गरेको छ।

f1e39fd0-9d70-11f0-ad93-736e0674b289.jpg

प्रदर्शनहरू सुरुमा राजधानी अन्टानानारिभोमा सुरु भए पनि पछि देशका आठ सहरहरूमा फैलिएका थिए। हिंसा र लुटपाटको खबरपछि अन्टानानारिभोमा रातभर कर्फ्यु लगाइएको थियो र प्रहरीले भीडलाई तितरबितर पार्न रबरको गोली र अश्रुग्याँस प्रहार गरेको थियो।

गत हप्ता, माडागास्करका राष्ट्रपतिले आफ्नो काम राम्ररी गर्न नसकेको भन्दै ऊर्जा मन्त्रीलाई बर्खास्त गरेको घोषणा गरेका थिए, तर प्रदर्शनकारीहरूले राष्ट्रपति र बाँकी सरकारले पनि राजीनामा दिनुपर्ने माग राखेका थिए। सोमबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका थिए।

राजोएलिनाले सरकारी सञ्चारमाध्यम टेलिभिजोना मालागासीमा आफ्नो सम्बोधनका क्रममा भने, ‘म बिजुली कटौती र पानी आपूर्तिको समस्याले गर्दा हुने रिस, दुःख र कठिनाइहरू बुझ्छु।’

उनले नयाँ सरकार गठन गर्नु अघि अर्को तीन दिनसम्म नयाँ प्रधानमन्त्रीका लागि आवेदनहरू स्वीकार गरिने जानकारी दिए। यद्यपि, नयाँ सरकार नबनेसम्म हाल पदमा रहेका व्यक्तिहरूले अन्तरिम मन्त्रीको रूपमा काम गर्ने उनले उल्लेख गरे। राजोएलिनाले युवाहरूसँग वार्ता गर्न चाहेको पनि थपे।

माडागास्करमा सन् १९६० मा स्वतन्त्रता प्राप्त गरेदेखि नै धेरै विद्रोहहरू भएका छन्, जसमा सन् २००९ को जनप्रदर्शन पनि समावेश छ जसले पूर्व राष्ट्रपति मार्क रावालोमानानालाई पद छोड्न बाध्य पारेको थियो र राजोएलिना सत्तामा आएका थिए। यो प्रदर्शन राष्ट्रपतिले सन् २०२३ मा तेस्रो पटक पुनः निर्वाचित भएपछि सामना गरेको सबैभन्दा महत्त्वपूर्ण चुनौती हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप