मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
कृषक

कृषिमा आधुनिक प्रविधि अपनाएर प्रदेशकै ‘सर्वोत्कृष्ट किसान’ बनेका असारेराम

बिहीबार, १६ असोज २०८२, १५ : ००
बिहीबार, १६ असोज २०८२

सारांश

  • कञ्चनपुरका किसान असारेराम बडायकले आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्दै आएका छन्, जसले उनलाई सफलता दिलाएको छ।
  • उनले ड्रोनको प्रयोग गरी बिउ, मल र विषादी छर्ने, सिङ्गल बड प्रविधि प्रयोग गर्ने जस्ता कामहरू गर्छन् र वार्षिक २० लाख आम्दानी गर्ने लक्ष्य राखेका छन्।
  • असारेरामले धान खेतीमा छरुवा विधि अपनाई खर्च घटाएका छन्, र उनलाई स्थानीय र प्रदेश सरकारले उत्कृष्ट कृषकको रूपमा सम्मान गरेको छ।

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–६, हात्तीबोझाका किसान असारेराम बडायकले आधुनिक प्रविधि प्रयोग गरेर खेती गर्दै आएका छन् । यसले उनलाई सफलतातिर डोर्‍याएको मात्र होइन, अन्य कृषकका लागि प्रेरणाको स्रोत पनि बनाएको छ ।

असारेरामले पारिवारिक जिम्मेवारीका कारण स्नातक तहको पढाइ बिचमै छाडे । त्यसपछि कृषि कर्ममा होमिएका उनी आज कृषिकर्ममा आधुनिक प्रविधिका रूपमा ड्रोनको प्रयोग गर्दछन् । खेतमा बिउ, मल र विषादी छर्न उनले ड्रोन प्रयोग गर्न थालेका हुन् ।

एक बिघा जमिनबाट वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ । त्यही लक्ष्यमा उनी अडिग रहँदै कृषि कर्ममा लागिपरेका छन् ।

1000036096

२०६३ सालमा व्यावसायिक उखु खेती सुरु गर्दा असारेरामसँग कुनै नौलो योजना थिएन । बुबाले गर्दै आएको परम्परागत खेती शैलीलाई नै उनले पछ्याए । मलखाद लिन भारत जाँदा त्यहाँका किसानको योजनाबद्ध र आधुनिक खेती प्रणालीले उनलाई सधैँ लोभ्याउँथ्यो ।

‘उनीहरू योजनामा काम गर्थे । त्यसबारे मैले जान्न खोजे पनि सिकाउने कोही थिएन,’ असारेरामले विगतको अनुभव सुनाउँदै भने । सुरुवाती दिनमा उत्पादन भएको उखु बेच्न पनि भारतीय दलालको भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

1000036092

तर, समय बदलियो । कञ्चनपुरमै चिनी मिल स्थापना भएपछि अवस्था फेरियो । मिलले किसानलाई उखु खेतीका नयाँ प्रविधि सिकाउन थाल्यो । पहिले उखु जति बाक्लो रोप्यो, त्यति धेरै फल्छ भन्ने मान्यता थियो, तर मिलले दुरी कायम गरेर रोप्ने तरिका सिकायो । असारेरामले तीन कट्ठामा यो प्रविधि परीक्षण गरे । त्यसबाट आएको नतिजाले उनी उत्साहित भए । यसबाट बिउको लागत घट्यो भने उत्पादन बढ्यो ।

असारेराम यतिमा मात्रै रोकिएनन् । उखु खेतीसम्बन्धी किताब पढेर ‘सिङ्गल बड प्रविधि’बारे थाहा पाए । उनले त्यसलाई १० कट्ठामा परीक्षण गरे । यसबाट बिउको परिमाण ६५ प्रतिशतले घट्यो र उत्पादन झनै राम्रो भयो । 

भारतको पलियाका एक किसानले १२ कट्ठामा मात्र ४ क्विन्टल २० किलो बिउ प्रयोग गरेर राम्रो उत्पादन लिएको देखेपछि असारेरामको आत्मविश्वास थप बढ्यो । हाल उनी बेर्ना प्रविधि (सिडलिङ प्रविधि) समेत प्रयोग गर्दैछन्, जसले बिउको लागतलाई ह्वात्तै घटाएको छ ।

1000036132

असारेराम उत्पादन बढाउनमात्र होइन, माटोको स्वास्थ्य र खेतीको लागत घटाउन पनि उत्तिकै सचेत छन् । उनी लगातार एउटै बाली लगाउँदैनन् । दुई वर्ष उखु लगाएपछि तेस्रो वर्ष धान खेती गर्छन् । यसले उखुमा लाग्ने ‘रातो सडन’ रोगको जीवाणु नष्ट हुनुका साथै जमिनको उर्वराशक्ति पनि बढ्छ ।

धान खेतीमा पनि उनको शैली फरक छ । उनी हिलोमा रोप्ने परम्परागत तरिका छाडेर ‘छरुवा विधि’ अपनाउँछन् । खेत जोतेर ‘लेजर लेभलर’ मेसिनले सम्याएपछि मेसिनबाटै बिउ र मल छर्छन् । यो विधिबारे उनले टेलिभिजन र युट्युबबाट सिकेका हुन् ।

‘छरुवा विधिबाट धानखेती गर्दा रोपाइँको तुलनामा आधा खर्चले पुग्छ,’ असारेरामले भने । यस विधिबाट उनले एक बिघामा ४२ क्विन्टलसम्म धान फलाएका छन्, जबकि परम्परागत उखु खेतीमा प्रति बिघा ५०० क्विन्टल हुने गरेकोमा नयाँ प्रविधिबाट १४ सय क्विन्टलसम्म उत्पादन गरेका छन् ।

1000036097

गोबर मलको अभाव पूर्ति गर्न उनले १५ कट्ठा जमिनमा जैविक मलको स्रोत ढैंचा लगाएका छन् । ढैंचाको बोटलाई कलिलैमा जोतेर माटोमा मिलाउँदा यसले नाइट्रोजन मलको काम गर्छ ।

आफ्नो ज्ञान र सिपलाई फराकिलो बनाउन उनी ‘गन्ना मास्टर’ नामक भारतीय किसान समूहसँग आबद्ध छन्, जहाँ २६ सय किसान र विज्ञ छन् । ‘म उनीहरूकै तरिकाले खेती गर्छु,’ उनले भने ।

1000036095

असारेरामको लगन र मेहनत देखेर स्थानीय र प्रदेश सरकार पनि सहयोगी बनेका छन् । ६ वर्षअघि सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयबाट १ लाख २० हजार अनुदान पाएका उनले २०८० सालमा विषादी छर्कने आधुनिक ड्रोन पाए । उनले अनुदानका लागि कहिल्यै निवेदन दिएनन् ।

‘राम्ररी काम गर्ने हो भने सहयोग आफैँ जुट्ने रहेछ । सरकारी मान्छे खेती हेर्न आफैँ आउँछन् र सहयोग गर्छाैं भन्छन्,’ उनले भने । यही ड्रोन चलाउने तालिम लिन उनी भारतको रुद्रपुरसम्म पुगे । २०८२ साउन १८ गते उनले उक्त ड्रोन विधिवत रूपमा पाएका छन् र यसलाई अन्य किसानलाई सेवाका रूपमा उपलब्ध गराउने योजना बनाएका छन् ।

1000036089

उनको योगदानको कदर गर्दै २०८० सालमा स्थानीय सरकारले उनलाई २५ हजार रुपैयाँको ‘उत्कृष्ट कृषक’ पुरस्कार प्रदान गर्‍यो । सोही वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त प्रदेश सर्वाेत्कृष्ट कृषक पुरस्कार’ अन्तर्गत उनलाई नगद १ लाख ५० हजार, सम्मान पत्र र दोसल्लासहित सम्मान गर्‍यो ।

हाल असारेरामको पाँच बिघाको खेतीमा १५ जनाले नियमित रोजगारी पाएका छन्, जसमा अधिकांश महिला छन् । उनी उखु, धानका साथै आलुको व्यावसायिक खेती पनि गर्छन् । उत्पादित आलु स्थानीय बजार र अत्तरियाको शीत भण्डारमा पुग्छ भने उखु नजिकैका दुई चिनी मिलले खरिद गर्छन् ।

आधुनिक प्रविधिलाई अँगालेर कृषिमा उदाहरणीय बनेका असारेराम गाउँका अरुका लागि प्रेरणाका स्रोत बनेका छन् । उनी आफू थप ज्ञान लिन सञ्जाल र अनलाइन कक्षामा जोडिन्छन् । आफूले सिकेको सिप अरूलाई पनि बाँड्छन् । सरकारले किसानका लागि मलखादको सहज व्यवस्था र उत्पादनको बजारीकरणमा साथ दिए कृषि क्षेत्रमा अझै ठुलो प्रगति गर्न सकिने उनको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप