चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
काठमाडौँ । मनसुन सक्रिय भई आइतबारदेखि जारी भारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएको छ । चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा न्यून वर्षा भएको छ । गण्डकी, बागमती र कोशी प्रदेश भारी वर्षाका कारण नराम्ररी प्रभावित हुन पुगेको छ । काठमाडौँ उपत्यकामा सोमबार दिनभर वर्षा भयो ।
कास्कीमा खोलाले सडक तथा घर नै कटान गरेको छ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो र लेदोका कारण अवरुद्ध भएको छ । स्थानीय प्रशासनले सवारी आवागमन रोकेको छ ।
मकवानपुरबाट काठमाडौँ आउने सडकसमेत प्रभावित भएकाले सवारीसाधन सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
नागढुङ्गाबाट काठमाडौँ बाहिर जाने सडकमा यातायात सञ्चालनमा रोक लगाइएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले वर्षाका कारण जोखिम बढेकाले अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको बताउनुभयो । कालीकोटमा पहिरोले पुरेर दुई जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी वर्षा चितवनमा
यसबिचमा सबैभन्दा बढी वर्षा आज चितवनमा भएको छ । पछिल्लो २४ घण्टामा चितवन नारायणगढ आसपासका क्षेत्रमा २६९ मिलिमिटर वर्षा भएको विवरण रेकर्ड भएको छ ।
सोमबार राति १०ः०० बजेको विवरण अनुसार चितवनमा अहिले पनि वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले राति पनि वर्षा हुने जानकारी दिए ।
चितवनका अन्य केही वर्षा मापन केन्द्रमा पनि धेरै भारी वर्षा भएको छ । मनसुन भित्रिएपछि मात्रै २०० मिलिमिटरमाथि वर्षा भएको थियो । स्थानीय प्रशासनले चितवन भएर चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
विवरणअनुसार, चितवनको रामपुरमा २३२ र देवघाटमा २०९ मिलिमिटर तथा कालीखोलामा १५१ मिलिमिटर वर्षा भएको छ । यस्तै म्याग्दीको घोरेपानीमा २५८ मिलिमिटर वर्षा भएको छ ।
विभागको पछिल्लो विवरणमा चितवन म्याग्दीपछि नवलपुरको दुम्क्यौलीमा २१५ मिलिमिटर वर्षा भएको छ । सिन्धुली, उदयपुर र सुनसरीमा पनि १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
यस्तै, कास्की, गुल्मी, पाल्पा, मकवानपुरको पनि त्यस्तै विवरण प्राप्त भएको छ । अहिले पनि चितवनसहित बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । त्यसको असर देखिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
राति कोशी र बागमती प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा पनि भारी वर्षा हुने अनुमान छ ।
मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराईमा मेघगर्जनसहित वर्षा हुनेछ । कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमस्तरको वर्षाको सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण