घरमै आएका अमृतलाई प्रेमदेवले टीका र जमरा लगाइदिए
सारांश
- दसैंको अवसरमा नेपथ्यका अमृत गुरुङ र प्रेमदेव गिरीबीच सुर्खेतमा भेटघाट भयो।
- उक्त भेटमा दुवैले एकअर्काप्रति सम्मान व्यक्त गर्दै सांगीतिक सहकार्यको सहमति जनाए।
- प्रेमदेवले कर्णालीको चिनारी झल्काउने सांगीतिक प्रस्तुति गर्ने इच्छा व्यक्त गरे, जसमा अमृतको स्वर हुनेछ।
सुर्खेत । दसैंको अवसरमा नेपथ्यका प्रमुख गायक अमृत गुरुङ र सुर्खेतमा रहेर नेपाली वाङ्मयको संरक्षण गर्दै आएका ‘मादले दाइ’ प्रेमदेव गिरीबिच आइतबार सौहार्दपूर्ण भेटघाट भयो ।
उक्त भेट ऐतिहासिक भएको प्रेमदेवले रातोपाटीलाई बताएका छन् । उनका अनुसार, अमृत गुरुङ दसैंको अवसरमा कर्णालीका विभिन्न स्थानको भ्रमणमा थिए । सल्यान र पूर्वी सुर्खेतको सिम्ता हुँदै शनिबार वीरेन्द्रनगर आइपुगेका गुरुङले प्रेमदेवलाई फोन गरी भोलिपल्ट बिहानै भेट्ने जानकारी गराएका थिए ।
सोही अनुरूप आइतबार बिहान अमृत वीरेन्द्रनगरको हिलेखालीस्थित प्रेमदेव गिरीको निवासमा पुगे । प्रेमदेवले उनलाई टीका र जमरा लगाइदिए । उमेरले प्रेमदेव अमृतभन्दा जेठा हुन् ।२० को दशकमै रंगमञ्चमा प्रवेश गरेका प्रेमदेव गिरी सुर्खेतमा नेपाली वाङ्मय र कलाको संरक्षणमा क्रियाशील छन् । ‘मादले दाइ’ उपनामले परिचित गिरी मादल वादनमा अद्वितीय क्षमता राख्छन् । मादलमा उनको दक्षता यतिसम्म छ कि, स्वरसम्राट नारायण गोपालले समेत उनलाई कतिपय विदेशका कार्यक्रममा सँगै लिएर जाने गर्दथे ।
रंगमञ्च, लोक साहित्य र वाद्यवादनमा अतुलनीय योगदान दिएका गिरीले आफ्नो जीवन नै कला क्षेत्रमा अर्पण गरेका छन् । काठमाडौँबाट सुर्खेत आउने अधिकांश कलाकर्मीहरू उनलाई भेटेर मार्गदर्शन लिने गर्छन् ।

०२९ मा सांस्कृतिक संस्थानमा जागिर पाएका गिरीले ०४६ सालमा जागिर छाडेर गृह जिल्ला सुर्खेत फर्केपछि मौलिक लोक संकलनहरूलाई प्रसिद्ध कलाकारहरूमार्फत रेकर्ड गराएका थिए । गणेश रसिक, उर्मिला श्रेष्ठ, हिरण्य भोजपुरे, कमला श्रेष्ठ, गंगा राणा, निवन किशोर राई, कुमार बस्नेत, ज्ञानु राणा, नारायण रायमाझी, लोकबहादुर श्रेत्री, प्रवीण गुरुङ, कविता आले लगायतका चल्तीका गायक–गायिकाले उनका संकलनहरू गाएका छन् । धेरैले उनलाई प्रेरणाको स्रोत मान्छन् र अमृत गुरुङले पनि सोही अनुसार आदरभाव प्रकट गर्छन् ।
आइतबार बिहान प्रेमदेव निवासमा करिब डेढ घण्टा लामो सौहार्दपूर्ण कुराकानी भयो ।
चियापानका साथ भएको भेटमा दुवैले एकअर्काप्रति गहिरो आदरभाव प्रकट गरे । प्रेमदेवले अमृतलाई ‘अमृत सर’ वा ‘अमृत जी’ भनेर सम्बोधन गर्दा, अमृतले उनलाई अग्रजको नाताले ‘दाइ’ भनेर सम्बोधन गरेका थिए । प्रेमदेवका अनुसार अमृतसँग उनको यो तेस्रो भेटघाट हो ।
करिब १५ वर्षअघि पहिलोपटक सुर्खेतमा कार्यक्रम गर्दा र दोस्रोपटक मानव सेवा आश्रमको कार्यक्रममा उनीहरूबिच भेट भएको थियो ।
यस भेटमा उनीहरूबिच महत्त्वपूर्ण सांगीतिक सहकार्य गर्ने सहमति भएको छ । प्रेमदेवले अमृतलाई पश्चिम कर्णालीको चिनारी झल्काउने मौलिक लोक संकलनहरूबाट एउटा सांगीतिक प्रस्तुति गर्ने इच्छा व्यक्त गरे । यसअघि पनि यस्तो कार्यमा प्रतिबद्धता जनाएका अमृतले ‘दाइ, मैले बिर्सेको छैन’ भन्दै आफ्नो प्रतिबद्धता दोहोर्याए । प्रेमदेवले यस कार्यलाई अमृतकै स्वर संयोजनमा प्रस्तुत गर्ने चाहना व्यक्त गरेका छन् ।
प्रेमदेवले यस भेटलाई व्यक्तिगत रूपमा भन्दा पनि कर्णालीसँग जोडेर प्रस्तुत गर्न आग्रह गर्दै भने, ‘हाम्रो संस्कृतिकर्मीको भेटलाई कर्णाली, गण्डकी र कोशीको सम्बन्धसँग जोडेर देखाउनुपर्छ ।’
हेर्दा साधारण देखिने यी दुई मूर्धन्य व्यक्ति वास्तवमा असाधारण र प्रेरणाका प्रतिमूर्ति हुन् । आफूलाई संयोगवश गायक बनेको बताउने अमृत गुरुङ नेपालको लोकप्रिय ब्यान्ड नेपथ्यका प्रमुख गायक हुन् । उनले विश्वभर ‘छेक्योछेक्यो छेउराली डाँडाँ, जीवन हो घाम छाया, रेशम, तालको पानी माछीले खाने’ लगायत दर्जनौँ लोकप्रिय गीत गाउँदै जनमानसको मन जितेका छन् ।
अमृत साधारण र सरल जीवन जिउन रुचाउने गायक हुन् । प्रेमदेव पनि साधारण जीवनशैलीका धनी कलाकर्मी हुन् । उनी प्रायः वीरेन्द्रनगरका सडकहरूमा सेतो जुँगाका साथ साइकलमा सवार भइरहेको अवस्थामा भेटिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण