बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

समाजवादी मोर्चाबिच एकताको प्रस्ताव, पार्टीको नाम नेकपा (समाजवादी केन्द्र)

आफ्नै नेतृत्वमा एकताको प्रस्ताव गर्ने विप्लवको योजना
मङ्गलबार, २१ असोज २०८२, १८ : ००
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • विप्लव नेतृत्वको नेकपाले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेको छ।
  • माओवादी केन्द्रले नेकपासहित समाजवादी मोर्चाका दलहरूसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ।
  • नेसपाले कात्तिकको पहिलो हप्ता समाजवादी मोर्चा आबद्ध दलहरूसँग एकता हुने दाबी गरेको छ।

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेको छ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहले कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार र आवश्यकतालाई बलियो बनाएको निष्कर्ष सहित उक्त प्रस्ताव अगाडि सारेको हो ।

भदौ २३–२६ मा केन्द्रीय समिति बैठक बसिरहेको बेला जेनजी विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो । त्यसक्रममा पुराना दलका पार्टी कार्यालय, नेताका निजी निवास लगायत सार्वजनिक सम्पत्तिमाथि आक्रमण, आगजनी र तोडफोड भएको थियो ।

जेनजी विद्रोह पछिको अवस्थाबारे संश्लेषण गर्न नेकपाले असोज २५ गते स्थायी समिति, २६ र २७ गते केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाउने गरी प्रस्ताव लैजाने तयारी भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

पुरानै दल, नेतृत्व र कार्यशैलीबाट कम्युनिस्ट पार्टी अगाडि बढ्न नसक्ने वस्तुगत र घटनाक्रमले पुष्टि गरेको विश्वकर्माले जिकिर गरे ।

‘वस्तुगत र घटनाक्रमले पुरानो नेतृत्व, संगठन, कार्यशैलीले अब कम्युनिस्ट पार्टी अगाडी बढ्न सक्दैन । देश गम्भीर अवस्थामा छ । साम्राज्यवादी र प्रतिक्रियावादीहरूको हस्तक्षेप बढ्दै गइरहेको छ’, रातोपाटीसँग उनले भने, ‘हाम्रो प्रस्ट सन्देश छ–नेकपा र कमरेड विप्लवको नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाउनुको विकल्प छैन । त्यही अनुसार अगाडि बढ्ने गरी केन्द्रीय समितिको विशेष बैठकमा प्रस्ताव लैजान्छौँ ।’

यता नेकपा(माओवादी केन्द्र)को असोज ९ र १० गते बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेकपासहित समाजवादी मोर्चाका दलहरूसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको थियो । सोही क्रममा माओवादीले केन्द्रीय समिति विघटन गरी मङ्सिरको अन्त्यमा विशेष महाधिवेशन गर्ने निर्णय नै गरेको थियो ।

‘राष्ट्रिय स्वाधीनता र  लोकतन्त्र गम्भीर सङ्कटमा रहेको वर्तमान सन्दर्भमा विशेष महाधिवेशन घोषणासम्बन्धी मूल स्पिरिटलाई ध्यानमा राख्दै समाजवादी मोर्चामा रहेका दलहरूसँग पार्टी एकता र ध्रुवीकरणको प्रक्रिया सँगसँगै अगाडी बढ्नेछ’, बैठकले अनुमोदन गरेको प्रचण्डको प्रतिवेदनमा भनिएको छ ।

माओवादीको बैठकले एकतासम्बन्धी गरेको निर्णय लगत्तै प्रचण्ड र विप्लवबिच असोज १४ गते ललितपुरको हात्तीवनमा छलफल भएको थियो । छलफलमा महासचिव विप्लवले नेकपाकै नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाउने प्रस्ताव गरेको प्रवक्ता विश्वकर्माले दाबी गरे ।  

‘प्रचण्डसँग पनि हामीले यही प्रस्ताव राखेका छौँ । हाम्रो तर्फबाट वामपन्थी एकता र ध्रुवीकरण गर्न तयार छौँ । तर माओवादी त्यो ढंगबाट तयार भएको देखिँदैन । पार्टी एकताको लागि माओवादी तयार भएमा तत्काल एकता हुन सक्छ’, उनले भने ।

महासचिव विप्लवले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेको स्पष्ट पारेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्–‘नेपाल कम्युनिस्ट पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेको छ । जेनजी विद्रोहले यसको वस्तुगत आधार र आवश्यकता बलियो गरी तयार पारिदिएको छ । इतिहास कहिले काहीँ नेतृत्वको बन्धन बन्छ । अग्रज नेताहरूले बन्धन तोड्न तयार भएमा अभूतपूर्व शक्ति निर्माण हुनेमा कुनै शङ्का छैन । तर यो काम जति महान् छ त्यति नै कठिन पनि छ ।’

विप्लवको प्रस्तावमा प्रचण्ड सकारात्मक बन्न सक्ने देखिए पनि तयार नभइसकेको आफूहरूको बुझाइ रहेको विश्वकर्माले बताए ।

प्रचण्डको मनोविज्ञानबारे प्रस्ट पार्दै उनले भने–‘हामीले राखेको प्रस्तावमा उहाँले तपाईँको प्रस्ताव ठिक छ, छलफल गर्दै जाऊँ भन्नुभयो । तर पुरै तयारी साथ भनिएको देखिँदैन । एकताका लागि माओवादी तयार नभएसम्म कोर्स अगाडि बढ्न सक्दैन ।’

माओवादीको सोमबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले नेकपा, एकीकृत समाजवादी लगायत दलहरूसँग एकता र ध्रुवीकरणबारे पहल भइरहेको भए पनि फाइनल नभएको ब्रिफिङ गरेका थिए ।

‘पार्टी एकता र ध्रुवीकरणको विषयमा सबै वामपन्थी दल र माओवादी घटकसँग कुरा भइरहेको छ तर फाइनल भएको छैन । विप्लवजीको पार्टी, माधवजीको पार्टी, महिन्द्र रायजीको पार्टी एकता गर्ने र अशोक राईजी लगायत दलहरूसँग मोर्चाबन्दी र ध्रुवीकरण गर्ने विषयमा कुराकानी भइरहेको छ । अहिलेसम्म नेसपा मात्र एकताका लागि तयार भएको छ’, बैठकमा प्रचण्डले भनेका थिए ।

नेकपाले फागुनमा विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । तर दुवै दलको बैठकलाई स्थगित गरेर एकता महाधिवेशन गर्ने सम्भावना तत्काल नदेखिएको प्रवक्ता विश्वकर्माको भनाइ छ ।

जेनजी विद्रोहपछि माओवादी, एकीकृत समाजवादीभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस जोडतोडले उठे पनि विप्लवलाई नेतृत्व स्विकारेर पार्टी एकता गर्ने पक्षमा नेताहरू देखिँदैनन् । पछिल्लो केन्द्रीय समितिमा समेत झन्डै ९५ प्रतिशतले पार्टी एकता गर्नुभन्दा पनि पुनर्गठन गरी बलियो बनाउनु पर्नेमा सुझाव दिएका छन् । प्रचण्डको प्रस्तावमाथि १० वटा समूहबाट आएको निष्कर्ष पहिले पार्टीलाई बलियो बनाएर मात्र पार्टी एकता गर्नुपर्ने रहेको स्थायी समिति सदस्य ओनसरी घर्तीले जिकिर गरिन् ।

‘पार्टी एकता र ध्रुवीकरणबारे प्रचण्डले पेस गरेको प्रस्तावको पक्षमा झिनो मत रहेको छ । बैठकमा अत्यधिक मत अहिले पार्टी पुनर्गठन गरी बलियो बनाएर मात्रै एकता गरौँ भन्ने सुझाव आएको थियो । समूहगत निष्कर्षको आधारमा एकताको पक्षमा खासै चासो दिएको देखिएन’, उनले भनिन् ।

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी मोर्चासँग एकताका लागि बल गरेको बताए । देशको अस्तित्व सङ्कटको बेलामा गम्भीरतापूर्वक सबै देशभक्तहरूले सोच्न आग्रह गरे ।

‘हामीले एकताका लागि बल गरेका छौँ किनभने देश खरानीको थुप्रोमा छ । यस्तो बेलामा चाँडोभन्दा चाँडो पहल लिनुपर्नेछ। हामी चाहन्छौँ– बृहत् पार्टी एकता पनि गर्ने र वृहत् संयुक्त मोर्चा पनि बनाएर जाऊँ । हाम्रो जस्तै स्पिरिट अरूको भइदियोस्’, उनले भने, ‘आँटेदेखि धेरै दिन लाग्दैन । इतिहासमै गम्भीर सङ्कटमा हाम्रो राष्ट्र छ । देशी विदेशी प्रतिक्रियावादीहरूले अहिले पनि खेलिरहेका छन् । हाम्रो देशको अस्तित्व सङ्कट खडा भएको बेलामा सबै देशभक्तहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ ।’

  • सैद्धान्तिक सहमति, व्यवहारमा कठिनाइ

यता लामो समयदेखि चरणबद्ध रूपमा प्रदेशस्तरीय छलफलमा जुटेको माओवादी र एकीकृत समाजवादीबिच सैद्धान्तिक सहमति जुटे पनि संगठनात्मक स्वरूप र पार्टी  नेतृत्वको मोडालिटीबारे कुरा मिलेको छैन । एकतापछि पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद राख्ने सहमति भएको छ । 

पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद रहने र रणनीतिक विषयमा सहमति जुटेको एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसालले जिकिर गरे । भुसालका अनुसार कुन मोडालिटीमा एकता गर्ने, नेतृत्व कसले गर्ने, संगठनात्मक स्वरूप कस्तो हुने कुरा छलफलकै क्रममा रहेको छ । एकीकृत समाजवादीले एकताबारे निर्णय लिन असोज २४ गते सचिवालय बैठक बोलाएको छ । त्यस लगत्तै केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।

‘दुवै पार्टीबिच एकताका लागि सैद्धान्तिक विषयमा सहमति जुटेको छ । तर पार्टी एकताको मोडालिटी, संगठनात्मक स्वरुपबारे छलफलकै क्रममा छ । पार्टीको नाम माओवादी पनि हुँदैन । नेकपा पछि के राख्ने भन्ने सम्बन्धमा विभिन्न प्रस्ताव आएका भए पनि कुनै निष्कर्षमा पुगेको छैन’, भुसालले भने ।

समाजवादी मोर्चामा आबद्ध चार दलसहित अशोक राई नेतृत्वको जसपा र प्रेमबहादुर सिंहको पार्टीसँग एकताका लागि पहल भइरहेका उनले जानकारी दिए । सैद्धान्तिक, सांगठननिक र व्यवहारिक पक्षमा सहमति जुटेमा तत्कालै पार्टी एकता हुन सक्ने भुसालले स्पष्ट पारे । यद्यपि एकता भएमा २०७५ सालको नेकपा कालको जस्तो दुई अध्यक्षात्मक प्रणाली नहुने उनले स्पष्ट पारे । महासचिव प्रणालीमा जान सक्ने संकेत दिए तर उनले खुलाउन चाहेनन् ।

जसपासँग एकता गर्नका लागि माओवादीका संयोजक प्रचण्डले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा छलफल गरेका थिए । जसपासँग पार्टी एकता भन्दा पनि मोर्चाबन्दीको विषयमा छलफल भएको उनले बैठकमा ब्रिफिङ गरेका थिए ।

  • नेसपाको दाबी कात्तिक पहिलो हप्ता एकता !

महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले कात्तिकको पहिलो हप्ता समाजवादी मोर्चा आबद्ध दलहरूसँग एकता हुने दाबी गरेको छ । पार्टीको नाम नेकपा(समाजवादी केन्द्र) राख्ने सहमति भएको चार दलबिच सहमति भएको महासचिव रमेशप्रसाद यादवले दाबी गरे । यादवका अनुसार पार्टीको झण्डा हँसिया हथौडा अङ्कित कम्युनिस्ट पार्टीकै राख्ने सहमति भएको र चुनाव चिन्हमा सहमति हुन बाँकी रहेको छ ।

‘मलाई विश्वास छ कात्तिकको पहिलो हप्ता समाजवादी चारवटै दलको एकता घोषणा हुन्छ । एकताको विषयमा छलफल गर्न  आजै बिहान मोर्चाको बैठक बोलाउने भनिएको थियो । तर हाम्रा अध्यक्ष बाढीका कारण सर्लाहीमा फस्नुभएकोले बस्न सकेन । माधवजीले पनि असोज २६ गते केन्द्रीय  समिति  बैठक राख्छु भन्नुभएको छ । एकीकृत समाजवादीको बैठक बसेपछि एकताबारे निर्णय हुन्छ’, यादवको दाबी छ ।

यद्यपि माधव र विप्लवबिच कुरा मिलेन भने हाम्रो पार्टीले माओवादीसँग सम्मानजनक एकता हुने उनले दाबी गरे । यादवले सैद्धान्तिक कुरामा सहमति भए पनि नेतृत्व र संगठनात्मक स्वरूपमा निष्कर्ष निस्कन बाँकी रहेको बताए ।

‘पार्टीको नाम नेकपा(समाजवादी केन्द्र), झण्डा  हँसिया  हथौडा अङ्कित राख्ने सहमति भइसकेको छ । चुनाव चिन्न माओवादीले प्रयोग गरेको गोलाकारभित्र हँसिया हथौडा राख्ने कि एकीकृत समाजवादीले प्रयोग गरेको कलम राख्ने भन्नेमा सहमति भएको छैन’, उनले भने, ‘पार्टीको नेतृत्व कसले गर्ने ? संगठनात्मक स्वरूप कस्तो हुने भन्नेमा पनि सहमति हुन बाँकी छ । पहिला एकता गर्ने अनि विस्तारै छलफल गर्दै जाने भन्नेमा दलहरू सकारात्मक छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप