बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

प्रदेश र जिल्ला अध्यक्षसँग ओलीको छलफल, नेतृत्व नछाड्ने सन्देश

बुधबार, २२ असोज २०८२, १७ : २६
बुधबार, २२ असोज २०८२

सारांश

  • केपी शर्मा ओलीले पार्टीको आगामी रणनीतिबारे छलफल गर्न सातै प्रदेशका नेताहरूसँग भर्चुअल बैठक गरेका छन्।
  • बैठकमा पार्टीलाई कसरी मजबुत बनाउने र पार्टी पुनर्गठनबारे छलफल भएको थियो।
  • ओलीले सचिवालय र केन्द्रीय कमिटी बैठकमा ठोस धारणा बनाइने बताएका छन्।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय र केन्द्रीय कमिटी बैठकअघि सातै प्रदेशका नेताहरूसँग भर्चुअल छलफल गरेका छन् ।

अध्यक्ष ओलीले मंगलबार र  बुधबार सातै प्रदेशका प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग जेनजी आन्दोलनपछिको बस्तुस्थितबारे छलफल गरेका हुन् ।

‘फरक परिस्थितिमा कसरी अघि बढ्ने कसरी पार्टीलाई मजबुत बनाउने भन्नेमा सुझाव लिनुभएको हो’, एक प्रदेश अध्यक्षले भने, ‘घटनाक्रमको समीक्षा गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा केन्द्रीय अध्यक्षले धारणा माग्नुभएको हो ।’ उनका अनुसार दुई दिनपछि बस्ने सचिवालय बैठक र त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा पार्टीले ठोस धारणा बनाएर अघि बढ्ने अध्यक्ष ओलीले बताएका छन् ।

‘पार्टीमा उठेको पार्टी पुनर्गठनको सवालमा पनि अध्यक्षले विधानतः अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ’, ती अध्यक्षले भने, ‘महाधिवेशनबाट सर्वसम्मत चुनिएको नेतृत्व अहिले नै कसैले छोड्नुपर्छ भन्दै छाडेर पार्टी लथालिङ्ग बनाउन नसक्ने सङ्केत गर्नुभएको छ ।’

उनका अनुसार पार्टीभित्र उठेका विषयमा सचिवालयमा खुलस्त छलफल हुने ओलीले प्रदेश र जिल्ला अध्यक्षहरूलाई बताएका छन् ।

‘सचिवालयमा आवश्यक छलफल हुन्छ । केन्द्रीय कमिटीमा पनि छलफल हुन्छ । त्यहाँ नै आवश्यक निर्णय पनि हुन्छ’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिलेको परिस्थितिको ठोस विश्लेषण गरेर निर्णय गरिन्छ ।’

त्यसक्रममा अध्यक्ष ओलीले एमालेजस्तो स्पष्ट अडान र विचार बोकेको पार्टीले देश र जनताको समस्यालाई नजरअन्दाज गर्न नसक्ने पनि बताएका छन् । ‘देश आतंकित छ, जनताले सुरक्षाको महसुस गर्न सकेका छैनन् । अर्थतन्त्र ओरालो लागेको छ, ध्वस्त छ । यस्तो वेला एउटा जिम्मेवार पार्टीले सोही अनुसारको भूमिका खेल्न सक्नुपर्छ । त्यसमा हामी दायाँबायाँ गर्दैनौँ’, ओलीको भनाइ थियो ।  

जेनजी विद्रोह, नयाँ सरकार गठन र प्रतिनिधि सभा निर्वाचनका सवालमा छलफल गर्न एमालेले असोज २४ र २५ गते सचिवालय बैठक बोलाएको छ भने २७, २८, २९ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । जेनजी विद्रोहपछि एमालेमा केही नेता कार्यकर्ताले अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप