रंगेली मालपोतमा बदमासी : नक्कली स्रेस्ता खारेज, चार जनाविरुद्ध पक्राउ पुर्जी जारी
सारांश
- रंगेली मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा १७ कठ्ठा ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता गरेकोमा नक्कली श्रेस्ता खारेज गरियो।
- यस प्रकरणमा संलग्न मालपोतका कर्मचारी र भूमाफिया गरी चार जनालाई पक्राउ गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको छ।
- अनुसन्धानमा कर्मचारीहरूले आर्थिक प्रलोभनमा परी जग्गा आफ्नो नाममा ल्याएको पुष्टि भएको छ, जसले गर्दा सुकुमबासीको उठिबास टरेको छ।
विराटनगर । मालपोत कार्यालय रंगेलीका कर्मचारी र भूमाफियाको संगठित सञ्जालले सरकारी अभिलेख (ढड्डा) को पाना च्यातेर व्यक्तिको नाममा दर्ता गरेको १७ कठ्ठाभन्दा बढी ऐलानी जग्गाको नक्कली श्रेस्ता खारेज भएको छ ।
मालपोत कार्यालय, रंगेलीले बिहीबार उक्त किर्ते (फर्जी) दर्ता बदर गरी जग्गाको साविककै श्रेस्ता कायम गर्ने निर्णय गरेको हो ।
यसैबिच यो संगठित अपराधमा संलग्न मालपोतका तीन कर्मचारी र जग्गा हडप्न खोज्ने एक भूमाफिया गरी चारै जनालाई पक्राउ गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको छ । अदालतको अनुमतिसँगै प्रहरीले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ, जसले गर्दा अब उनीहरू जुनसुकै बेला पक्राउ पर्न सक्नेछन् ।
मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, घटनाका मुख्य योजनाकार भनिएका मालपोतका सुरक्षा गार्ड कामदेव मण्डल, नायब सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गा आफ्नो नाममा ल्याउने भीमप्रसाद सिंहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको हो ।
बुधबार पीडित सुकुमबासी परिवारले इलाका प्रहरी कार्यालय रंगेलीमा यी चारै जनाविरुद्ध ‘लिखित सम्बन्धी कसुर’मा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले अनुमति मागेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीले उनीहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ ।
मालपोत कार्यालय रंगेलीका प्रमुख सुनिल पौडेलका अनुसार कर्मचारीहरूले आर्थिक प्रलोभनमा परी साविक जग्गाधनी भागवत साह तेलीको खारेज भइसकेको श्रेस्ता च्यातेर त्यसैको आडमा भीमप्रसाद सिंहको नाममा नयाँ किर्ते श्रेस्ता बनाएको अनुसन्धानबाट खुलेको छ ।
कार्यालयले गरेको छानबिनमा उक्त जग्गा बक्राहा नदीको बगर क्षेत्रमा पर्ने सार्वजनिक जग्गा भएको पुष्टि भएपछि मालपोत ऐन, २०३४ को दफा २४ र २५ अनुसार सिंहको नामको दर्ता गैरकानुनी ठहरिएको हो । संलग्न कर्मचारीले आफ्नो गल्ती स्वीकार गरिसकेका छन् । यही आधारमा बिहीबार कार्यालयले किर्ते श्रेस्ता बदर गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सुनवर्षी नगरपालिका–६ मा दशकौंदेखि बसोबास गर्दै आएका २० घरपरिवार सुकुमबासीको उठीबास लाग्ने खतरा तत्कालका लागि टरेको छ ।
अनुसन्धानअनुसार सुन्दरहरैँचाका भीमप्रसाद सिंहले मालपोतका कर्मचारीसँग मिलेर जग्गाको अभिलेख राखिने मूल ढड्डाको पाना नै च्यात्न लगाएर आफ्नो नाममा नक्कली अभिलेख टाँस्न लगाएका थिए । सिंहले गत भदौ २३ गते डोजर लिएर सुकुमबासी बस्ती भत्काउन पुगेपछि यो विषय सार्वजनिक भएको थियो ।
स्थानीयको प्रतिवाद र उजुरीपछि यो संगठित अपराधको जालो बाहिर आएको हो । यस घटनाका मुख्य योजनाकार मालपोतका सुरक्षा गार्ड कामदेव मण्डल रहेको आरोप छ ।
यो पनि पढ्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण