१७ कट्ठा सरकारी जमिन कसरी गयो भूमाफियाको पोल्टामा ?
सारांश
- मोरङको सुनवर्षीका सुकुम्बासी परिवारको जग्गा मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा अरुको नाममा दर्ता भयो।
- सरकारी कर्मचारीले आर्थिक प्रलोभनमा परी जग्गाको सक्कली अभिलेख च्यातेर नक्कली कागज बनाएको खुलासा भयो।
- पीडितहरू न्यायका लागि संघर्षरत छन् र दोषी कर्मचारी तथा भूमाफियालाई कारबाहीको माग गरेका छन्।
विराटनगर । दशकौँदेखि आफ्नो पसिनाले सिञ्चित गरेको माटोमा जब एकाबिहानै डोजर चल्न थाल्यो, मोरङको सुनवर्षी–६ का २० घर सुकुमबासी परिवारको होसहवास उड्यो ।
भदौ २३ गते उनीहरूका लागि कालो दिन बनेर आयो । सयौँ बालबालिकाले कखरा सिक्ने मदरसा र ४० वर्षदेखि आफूले बनाएको घर भत्काउन भीमप्रसाद सिंह नामका व्यक्ति डोजर लिएर आइपुग्दा उनीहरूले आफ्नो संसार नै लुटिएको महसुस गरे ।
यो कुनै सामान्य विवाद थिएन । यो त रंगेली मालपोत कार्यालयका केही कर्मचारीको मिलेमतोमा सरकारी जग्गा हडप्न रचिएको षड्यन्त्रको परिणाम थियो, जहाँ कर्मचारीले सरकारी ढड्डाको पाना च्यातेर गरिबको भविष्यमाथि डोजर चलाउने लाइसेन्स भूमाफियालाई सुम्पेका थिए ।
सुनवर्षी नगरपालिका–६ स्थित कित्ता नम्बर ११० को १७ कट्ठा २ धुर सरकारी जग्गामा २०३०/३५ सालदेखि बस्दै आएका यी परिवारलाई आफ्नो जमिन अर्कैको नाममा दर्ता भइसकेको पत्तै थिएन । जब उनीहरूले त्रसित हुँदै प्रतिवाद गरे, सिंहले आफ्नो नामको लालपुर्जा देखाए ।
सिंहले मालपोत कर्मचारीको मिलेमतोमै २०८२ साल वैशाख ७ गते आफ्नो नाममा जग्गा लगिसकेका थिए । यो देखेर स्थानीय छाँगाबाट खसेजस्तै भए । त्यसपछि यो घटनाको जड खोज्दै जाँदा सरकारी अभिलेखमा गरिएको किर्तेको पर्दाफास भयो ।

मालपोत कार्यालय, रंगेलीका कर्मचारीहरूले आर्थिक प्रलोभनमा परेर जग्गाको अभिलेख राखिने मूल ढड्डा (श्रेस्ता) को सक्कली पाना नै च्यातेर फ्याँकेका थिए भने त्यस ठाउँमा भीमप्रसाद सिंहको नाममा तयार पारिएको नक्कली अभिलेख टाँसेका थिए । यो अपराधलाई स्वयं रंगेली मालपोत कार्यालयका प्रमुख सुनिल पौडेलले स्वीकार गरेका छन् । उनले भने, ‘अभिलेखमा २०५८ सालमा भीमले जग्गा प्राप्त गरेको देखाइएको छ, तर श्रेस्ता नै २०७३/०७४ सालको छ । २०७२/०७३ सालको श्रेस्तामा २०५८ सालमा राजीनामा पास गराएको देखाउनु प्राविधिक र कानुनी दुवै हिसाबले असम्भव छ । यो शतप्रतिशत किर्ते हो ।’
आफ्नो बास नै खोसिने भएपछि पीडित परिवारहरू अहिले न्यायका लागि संघर्षरत छन् । दसैँ बिदा सकिएलगत्तै उनीहरूले दोषी कर्मचारी र भूमाफियालाई हदैसम्मको कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली र मालपोत कार्यालयमा धर्ना दिए । बुधबार पीडितहरूले संगठित रूपमा मालपोतका नायब सुब्बा रेवती अधिकारी, सहायक कम्प्युटर अपरेटर अर्जुन न्यौपाने, सुरक्षा गार्ड कामदेव मण्डल र जग्गाधनी बनाइएका भीमप्रसाद सिंहविरुद्ध ‘लिखित सम्बन्धी कसुर’मा किटानी जाहेरी दर्ता गराएका छन् ।
पीडित मोहमद इजरायल भन्छन्, ‘यो हाम्रो जमिनमात्र होइन, हाम्रो पहिचान र भविष्य हो । राज्यको ढड्डा च्यातेर हाम्रो जीवन च्यात्ने अधिकार कसैलाई छैन । यो संगठित अपराधको जालोमा संलग्न सबैलाई कानुनी कठघरामा उभ्याएरै छाड्छौँ ।’
अहिले रंगेली–डाइनिया सडकखण्डमा रहेको यो बस्ती त्रासमा डुबेको छ । २०७२ मा मालपोत स्थापना भएदेखि नै कार्यरत सुरक्षा गार्ड मण्डलले भूमाफिया भीमप्रसाद सिंहसँग सेटिङ मिलाई यो योजना बुनेका थिए । उनले नासु रेवती अधिकारी र कम्प्युटर अपरेटर अर्जुन न्यौपानेलाई आर्थिक प्रलोभनमा पारेर जग्गाको सक्कली श्रेस्ता च्यात्न लगाएर सिंहको नाममा बनाइएको नक्कली कागज टाँस्न सफल भए ।
यो किर्ते कति अपरिपक्व थियो भन्ने कुरा श्रेस्ताको मितिबाटै प्रमाणित हुन्छ । कार्यालय प्रमुख सुनिल पौडेलका अनुसार २०७३/०७४ सालमा बनेको श्रेस्तामा २०५८ सालको लिखत देखाइनु असम्भव छ । पौडेलले आरोपित तीनै कर्मचारीसँग स्पष्टीकरण सोधिएको र विभागीय कारबाही अघि बढाइएको बताएका छन् ।

भीमप्रसाद सिंहको पृष्ठभूमि पनि आपराधिक छ । लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरिसकेका उनलाई भूमाफिया र कर्मचारीले जानाजान अगाडि सारेको बताइएको छ ।
हाल, आरोपको घेरामा रहेका नासु रेवती अधिकारीले आफू एक वर्षअघि मात्र सरुवा भई आएको र पहिले नै बनेको पुर्जाको प्रतिलिपिमा मात्र हस्ताक्षर गरेको भन्दै आफूलाई निर्दोष दाबी गरेका छन् । ‘भीमको नाममा श्रेस्ता कायम भएर धनीपुर्जा २०७२ सालमै बनेको रहेछ । म त एक वर्षअघि मात्रै यहाँ आएको हुँ । मैले धनीपुर्जाको प्रतिलिपि माग भएपछि त्यसमा हस्ताक्षरमात्र गरेको हुँ,’ उनले भने ।
यद्यपि, सरकारी अभिलेखको सत्यता नजाँची हस्ताक्षर गर्नुले उनको गैरजिम्मेवारी र सम्भावित संलग्नतामाथि प्रश्न उठाएको छ । मुख्य योजनाकार भनिएका सुरक्षा गार्ड मण्डल घटना बाहिरिएलगत्तै सम्पर्कविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण