बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कञ्चनपुरका किसान धानबाली भित्र्याउन व्यस्त

शनिबार, २५ असोज २०८२, २३ : १९
शनिबार, २५ असोज २०८२

सारांश

  • कञ्चनपुरका किसानहरू धानबाली भित्र्याउन व्यस्त छन्, किनकि वर्षाले भिजाएको धान सुकाउन र थ्रेसिङ गर्नुपरेको छ।
  • कृषि उपकरणको प्रयोगले धान काट्ने र थ्रेसिङ गर्ने काम छिटो भएको छ, तर हात्तीको डर र श्रम अभावका कारण किसानहरू चिन्तित छन्।
  • जिल्लामा ४८ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुने गरेको छ र हालसम्म ५५ प्रतिशत कटनी सकिएको छ।

कञ्चनपुर । मौसमी वर्षा बाहिरिएसँगै कञ्चनपुरका किसान धानबाली भित्र्याउन व्यस्त देखिन थालेका छन् । काटेर राखेको धान वर्षाका कारण भिजेपछि धान सुकाउनेदेखि काट्ने, थन्क्याउने, थ्रेसिङ गर्नेलगायत कार्यमा यहाँका किसान व्यस्त भएका हुन् । असोजको दोस्रो सातासम्म लगातार परेको वर्षाका कारण खेतमा काटिएको धान भिजेर बिग्रिने अवस्था भएको थियो । 

कृष्णपुर नगरपालिका–३ नयाँबस्तीका किसान टङ्कलाल चौधरीले वर्षाले भिजाएको धान सुकाउने र थ्रेसिङ गर्ने काममा व्यस्तता बढेको बताए । “पावर टिलरले काटेको एक बिघा खेतको धानबाली खेतमा भिजेर उम्रिने डर थियो”, उनले भने, “अहिले घाम लागेपछि धान थ्रेसिङ गर्न पाएका छौँ, थ्रेसिङ गरेको धान सुकाएर घरभित्र राख्ने कार्य चलिरहेको छ ।”

कृष्णपुर–३ का प्रभात चौधरीका अनुसार अहिले गाउँमा धान काट्ने र थ्रेसिङ गर्ने चहलपहल बढेको छ । “गाउँभरका किसान अहिले कोही खेतमा धान काट्दै छन्, कोही मुठा बाँध्दै, कोही गाँडामा हालेर घर ल्याउँदै छन्”, उनले भने । 

अघिल्ला वर्षमा हातैले धान काट्दा समय बढी लाग्ने, बाली बिग्रिने र श्रम खर्चिलो हुने गुनासो किसानको रहँदै आएको थियो । अहिले कृषि उपकरणको प्रयोगले खेतमा हुने काम छिटोछरितो र प्रभावकारी भएको किसानको भनाइ छ ।

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान धनबहादुर चौधरीको चिन्ता भने फरक छ । उनको खेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक भएकाले वर्षाको भन्दा हात्तीको डर बढी छ । “निकुञ्जबाट हात्तीको बथान बस्ती र खेत हुँदै हिँड्ने गर्छन्, धान पाक्ने बेला खेतमा पसेर खाएर वा कुल्चेर नोक्सानी पुर्‍याउँछन्”, उनले भने, “ढिला भयो भने हात्तीले सारा बाली बिगार्ने डर छ, त्यसैले अहिले धान काटन व्यस्तता बढेको छ ।”

हात्तीको जोखिमका कारण शुक्लाफाँटा, दोधारा–चाँदनी, बेदकोट र बेलौरी क्षेत्रका किसानले पनि धान छिट्टै काटेर घर भित्र्याउने कार्यलाई प्राथमिकतामा राखेका छन् । पिपलाडीका किसान प्रकाश चौधरीले भने यस वर्ष कृषि यान्त्रिकीकरणले किसानको श्रमभार घटाएको अनुभव सुनाए । उनले भने, “पहिले एक बिघा खेतको धान काट्न सात दिनभन्दा बढी लाग्थ्यो, अहिले उपकरणको सहयोगमा दुई दिनमा सबै काम सकिन्छ ।” 

प्रकाशका अनुसार पहिले गोरु र राँगाको सहयोगमा गहनी (धान दाई) गर्न महिनौँ लाग्नेमा अहिले थ्रेसरको प्रयोगले त्यो काम दुई दिनमा पूरा हुन्छ । उनले भने, “उपकरणको प्रयोगले श्रम र समय दुवै बचत भएको छ, त्यसैले किसान अहिले व्यावसायिक कृषि कार्यमा पनि संलग्न हुन पाएका छन् ।”

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाभर ४८ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुने गरेको छ । धानको उत्पादन औसतमा प्रतिहेक्टर चार मेट्रिकटन रहने अनुमान गरिएको छ । 

हालसम्म जिल्लाको करिब ५५ प्रतिशत क्षेत्रफलमा धान काट्ने कार्य सकिएको छ भने बाँकी क्षेत्रका किसान पनि एक साताभित्रै धान काटेर भित्र्याइसक्ने तरखरमा छन् । यस वर्ष वर्षा समयमा सुरु भए पनि असोजको दोस्रो सातासम्म लगातार वर्षा हुँदा धान कटाइ ढिलो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यसैबिच, किसानका लागि प्रमुख चुनौती श्रम अभाव बनेको छ । धेरैजसो गाउँका युवा रोजगारीका लागि भारत र तेस्रो मुलकतर्फ गएपछि खेतमा काम गर्ने जनशक्ति सीमित छ । जसका कारण अधिकांश किसानले धान काट्नेदेखि थ्रेसिङ्सम्मका कार्यमा उपकरणको प्रयोग गर्न थालेका छन् । 

कृष्णपुरका किसान खेमराज ओझाले भने, “पहिले गाउँका युवाले खेतमा सहयोग गर्थे, अहिले अधिकांश युवा वैदेशिक रोजगारीमा गएका छन्, त्यसैले मजदुर पाउन गाह्रो छ । धान काट्ने, थ्रेसिङ गर्नेलगायत उपकरण सबै किसानसँग नहुँदा पालो पर्खनुपर्ने बाध्यता छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप