बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी अभियन्ता मोहम्मद जमशेद आलमसँग संवाद

‘फागुन २१ मा चुनाव हुन्छ भन्नेमा विश्वास छैन’

‘जेनजीका समूह बाजेको पेंडा पसलजस्तै हुन्, सबैले सक्कली त भन्छन्, कोही सक्कली छैनन् : जेनजी अभियन्ता आलम
मङ्गलबार, २८ असोज २०८२, १३ : ००
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • जेनजी विद्रोहले केपी शर्मा ओली नेतृत्वको सरकार हटायो र सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो।
  • आन्दोलनको स्वरूप र यसपछिका घटनाबारे विभिन्न प्रश्न उठेका छन् र यसको नेतृत्वकर्ताले विश्लेषण गरेका छन्।
  • आन्दोलन 'हाइज्याक' भएको र युवालाई सचेत बनाउनुपर्ने कुरामा जोड दिइएको छ।

विराटनगर । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी विद्रोहले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार पदच्युत भयो । भ्रष्टाचार र कुशासनविरुद्ध उर्लिएको भनिएको युवाहरूको यो आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनाएर सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भयो । 

तर आन्दोलनको स्वरूप, यसका पछाडिका शक्ति र यसको भविष्यबारे अनेक प्रश्न कायमै छन् । विराटनगरमा जेनजी आन्दोलनको नेतृत्व गर्ने युवा अभियन्तामध्येका एक हुन् मोहम्मद जमशेद आलम । जो केही समयअघि काठमाडौँका धेरै वार्ता, छलफल र बैठकहरूमा बसे । विराटनगरमै आन्दोलनको नेतृत्व गरेका उनले जेनजी विद्रोहबारे विभिन्न कोणबाट विश्लेषण गरे । 

भदौ २३ को शान्तिपूर्ण प्रदर्शन कसरी २४ गते हिंसात्मक र अनियन्त्रित हुन पुग्यो ? के यो आन्दोलन साँच्चै ‘हाइज्याक’ भएको थियो ? अबको बाटो के हो ? यिनै विषयमा जेनजी अभियन्ता आलमसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :

  • तपाईँको विषयमा केही बताइदिनुस् न । 

म विराटनगरकै बासिन्दा हुँ । हाल म सामाजिक कार्यमा स्नातक पढ्दै छु र सीएको पनि विद्यार्थी हुँ । मैले बीबीए सकाइसकेको छु ।

  • तपाईं विराटनगरमा भएको जेनजी आन्दोलनको एक अभियन्ता पनि हुनुहुन्थ्यो । भदौ २३ र २४ गतेको आन्दोलनलाई कसरी समीक्षा गर्नुहुन्छ ?

भदौ २३ गतेको आन्दोलन वास्तवमै जेनजी युवाहरूको स्वतःस्फूर्त आन्दोलन थियो । यो भ्रष्टाचारी सरकार र देशमा समाप्त भइसकेको सुशासनविरुद्ध थियो । जतिसुकै नेताहरूले सुशासन बाँकी छ भने पनि त्यो उनीहरूको पकेटमा मात्र थियो । त्यहीभित्रको आक्रोश पोख्न युवाहरू सडकमा आएका थिए । 

त्यही साँझ तत्कालीन प्रधानमन्त्री केपी ओलीको जुन वक्तव्य आयो, त्यसले आगोमा घिउ हाल्ने काम गर्‍यो । त्यसले हामी सबैमा भित्रैदेखि आक्रोश बढायो ।

विराटनगरमा २३ गतेको पहिलो दिनको आन्दोलन शान्तिपूर्ण रह्यो । हामीले शान्तिपूर्ण राख्यौँ, प्रहरीले पनि हामीलाई साथ दिएको थियो । तर पहिलो दिन नै देशका विभिन्न ठाउँबाट विद्यार्थीहरूमाथि गोली प्रहार भएको खबर आयो । जेनजी समूहमा अधिकांश विद्यार्थी नै पर्छन् । यो घटनाले हामीलाई दुःखी बनायो ।

  • २४ गतेको आन्दोलन कसरी विध्वंसात्मक बन्यो ?

२३ गते साँझसम्म १९ जना हाम्रा साथीहरूले वीरगति प्राप्त गरिसकेका थिए । त्यही साँझ तत्कालीन प्रधानमन्त्री केपी ओलीको जुन वक्तव्य आयो, त्यसले आगोमा घिउ हाल्ने काम गर्‍यो । त्यसले हामी सबैमा भित्रैदेखि आक्रोश बढायो ।

पहिलो दिन हामी आफ्नो सुरक्षालाई पनि ध्यानमा राखेर सडकमा आएका थियौँ । तर दोस्रो दिन घरबाट धेरैले फोन गरेर ‘नजाऊ, १९ जना मरिसके, अझै मर्छौ’ भन्नुभयो । मैले त आफ्नो मोबाइल अफ गरेर महेन्द्र चोकमा लुगा र जुत्ता फुकालेर आन्दोलन सुरु गरेको थिएँ । हाम्रो मनमा के थियो भने ‘मार्नु छ भने छातीमा गोली हान, तर १९ जनाको बलि खेर जानु हुँदैन ।’ त्यो दिन धेरै जना सडकमा आउनुभयो । आन्दोलन अघि बढ्दै जाँदा अवस्था बदलियो ।

Jamsed Aalam (1)

  • २४ गतेको आन्दोलन आफ्नो उद्देश्यबाट बाहिरियो, ‘हाइज्याक’ भयो भन्ने पनि छ नि ?

हो, त्यस्तै देखियो । आन्दोलन दिउँसो १–२ बजेसम्म ठिक थियो । जतिबेला केपी शर्मा ओलीले राजीनामा दिएको खबर आयो, हामीलाई लाग्यो कि हाम्रो आन्दोलन सफल भयो । तर त्यसपछि त चारैतिर आगजनी हुन थाल्यो । विराटनगरमा मात्र होइन, झापा, सुनसरी सबैतिर एकैपटक आगजनीका घटना भए । राजीनामा भइसकेपछि आगजनीको के आवश्यकता थियो ? यो पहिलो प्रश्न हो । 

जुन उद्देश्यले आन्दोलन सुरु भएको थियो, २४ गते दिउँसो १२ बजेपछि त्यो अर्कै समूहले ‘हाइज्याक’ गर्‍यो र अर्कै योजनामा अघि बढ्यो ।

त्यसपछि घुसपैठ भएको स्पष्ट देखियो । जब सेनाले पावर हातमा लियो, त्यतिबेला राति साढे ९ बजेतिर बिहारका गाडीहरू आएको र इन्डियनहरू पनि आएको खबर थियो । उनीहरू आएर यहाँ आयल निगमलाई घेरेका थिए । यदि त्यो दिन आयल निगममा आगलागी भएको भए विराटनगर आधा स्वाहा हुन्थ्यो । हामीले राति १० बजे त्यहाँ पुगेर, सेनालाई बोलाएर त्यो आगजनी हुनबाट रोकेका हौँ । 

त्यसैले जुन उद्देश्यले आन्दोलन सुरु भएको थियो, २४ गते दिउँसो १२ बजेपछि त्यो अर्कै समूहले ‘हाइज्याक’ गर्‍यो र अर्कै योजनामा अघि बढ्यो । सुरुमा त हामीलाई त्यही दिन मात्र हाइज्याक भयो भन्ने लागेको थियो, तर पछि फिलिपिन्सको आन्दोलनबारे पढ्दा त्यहाँको र हाम्रो सोच कसरी मिल्न सक्छ भन्ने प्रश्न उठ्यो । कतै हामीलाई सुरुदेखि नै प्रयोग गरिएको त होइन भन्ने पनि लाग्छ ।

  • आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भयो । त्यो प्रक्रियालाई कसरी हेर्नुहुन्छ ?

पहिलो कुरा, सेनाले वार्तामा बोलायो भनियो । सेनाले दुर्गा प्रसाईँलाई बोलायो, हामी युवालाई होइन । काठमाडौँका साथीहरूले भन्दै हुनुहुन्थ्यो, युवालाई वार्तामा बोलाइएको थिएन, ‘दुर्गा प्रसाईँको थ्रुबाट आऊ’ भनिएको थियो । यो हाम्रो आन्दोलन थियो, दुर्गा प्रसाईँको होइन । 

यो सरकार संवैधानिक हो वा असंवैधानिक, त्यो कानुनविद्हरूले भन्ने कुरा हो । उहाँहरूले यसलाई असंवैधानिक नै भन्नुहुन्छ । हामी जेनजीलाई कानुनको बारेमा सबै थाहा छैन ।

अर्को कुरा, जंगी अड्डाबाट ‘को–को ग्रुपको को–को लिडर हुनुहुन्छ, वार्तामा आउनुस्’ भनियो । त्यो घोषणाले हामीलाई विभाजित गर्ने काम गर्‍यो । सबैलाई ‘म पनि लिडर हुँ’ भन्ने भावना आयो । हामीलाई त्यहीँबाट विभाजित गरियो । त्यसपछि एउटा तरङ्ग फैलाइयो– ‘यदि तुरुन्तै अन्तरिम सरकार छानेनौँ भने देश विदेशीको हातमा जान्छ, राजाले कब्जा गर्छ’ आदि इत्यादि । यो हल्लाले हामीलाई सोच्ने समय नै दिएन । हामीलाई सुशीला कार्की बाहेक अरू कुनै विकल्प नै दिइएन । विकल्प भए पो सही र गलत छुट्ट्याउन सकिन्छ । हामीलाई एउटा दबाबमा पारेर यो निर्णय गर्न लगाइयो । कतै हामीलाई डाइभर्ट गरिएको हो कि जस्तो लाग्छ ।

  • यो सरकारको वैधानिकतामाथि पनि प्रश्न उठाइएको छ नि । कतिपयले असंवैधानिक भन्छन्, कतिले आन्दोलनको बलमा बनेकोले समर्थन गर्नुपर्छ भन्छन् । तपाईँको धारणा के हो ?

यो सरकार संवैधानिक हो वा असंवैधानिक, त्यो कानुनविद्हरूले भन्ने कुरा हो । उहाँहरूले यसलाई असंवैधानिक नै भन्नुहुन्छ । हामी जेनजीलाई कानुनको बारेमा सबै थाहा छैन । तर जे जति भए पनि यो सरकार हाम्रै कारणले छानिएको हो । त्यसैले हामीले यसलाई मान्नुपर्छ र समर्थन गर्नुपर्छ । एकचोटि समर्थन जनाएर फेरि फिर्ता लिनु मूर्खता हुन्छ ।

यो बाजेको पेडा पसलजस्तै हो । जहाँ सबैले आफूलाई सक्कली भन्छन् । तर सक्कली कोही हुँदैन ।
  • यो सरकारको मुख्य म्यान्डेट फागुन २१ मा चुनाव गराउने हो भनेर राष्ट्रपतिज्यूले लेखेरै दिनुभएको छ । त्यो मितिमा चुनाव होला जस्तो लाग्छ ?

मलाई ९९ प्रतिशत चुनाव हुँदैन जस्तो लाग्छ । सुशीला कार्कीज्यू आफैँ संविधानविद् हुनुहुन्छ, पूर्वप्रधानन्यायाधीश हुनुहुन्छ । उहाँलाई थाहा हुनुपर्ने हो कि चुनाव गराउन सर्वदलीय बैठक गर्नुपर्छ । तर अहिलेसम्म त्यो भएको छैन । जब दलहरूले नै मानेका छैनन् भने कुन आधारमा २१ गते चुनाव हुन्छ ? यो हावातालको कुरा मात्र हो । विश्वासको कुनै आधार नै देख्दिनँ म ।

  • जेनजी आन्दोलनभित्र पनि राजतन्त्र पक्षधर, सङ्घीयता खारेजी, संविधान नै खारेजी जस्ता अनेक धार देखिन्छन् । यो विभाजनलाई कसरी लिनुहुन्छ ?

यो बाजेको पेडा पसलजस्तै हो । जहाँ सबैले आफूलाई सक्कली भन्छन् । तर सक्कली कोही हुँदैन । हामी युवाहरूमा ‘जिस ओर जवानी चलती है, उस ओर जमाना चलता है’ भन्ने सोच छ, जुन गलत हो । हामीले जे चाहियो त्यही हुन्छ भन्ने भ्रममा छौँ । अहिलेको समय भनेको अध्ययन गर्ने हो । आवेगमा आएर हामी आन्दोलनमा उत्रियौँ । तर अब इतिहासका किताबहरू पढ्नुपर्छ । 

बंगलादेश, श्रीलंकामा के भयो, हेर्नुपर्छ । उनीहरूले पनि जनविद्रोह गरे, देश जलाए, तर अन्त्यमा फेरि पुरानै शक्ति आयो । हामीले बुझ्नुपर्छ, किन सङ्घीयता फाल्ने र किन नफाल्ने ? यसको उत्तर पहिले आफैँलाई थाहा हुनुपर्छ । सुनेको भरमा ‘सङ्घीयता फाल्नुपर्छ’ भनेर हुँदैन । बुझेर, पढेर, अनुसन्धान गरेर मात्र एजेन्डा अगाडि बढाउनुपर्छ ।

  • त्यसो भए अबको बाटो के हो ? के–कस्ता संरचनागत सुधार आवश्यक देख्नुहुन्छ ?

जे भयो भयो, बिग्रेको केही छैन । हामी जेनजीले देश बिगारेका होइनौँ । हामीले त एक हिसाबले सुतेका जनतामा चेतना ल्यायौँ, गलतलाई गलत भन्ने दृष्टिकोण बनायौँ । अबको बाटो भनेको हामीले उठाएका मुख्य मुद्दा भ्रष्टाचार र सुशासन नै हो । सुशासन कायम भयो भने भ्रष्टाचार आफैँ निर्मूल हुन्छ । 

सबैभन्दा ठुलो समस्या पार्टीकरण र राजनीतीकरण हो । संवैधानिक आयोगदेखि अदालतसम्म नेताको फोनको भरमा चल्छ । विद्यार्थी संगठनहरू पार्टीका गुण्डा संगठनजस्ता भएका छन् । यो देशका नेताहरू देशभन्दा पार्टीलाई माथि देख्छन् । यस्ता विकृतिलाई अन्त्य गर्नुपर्छ । संविधानमा भएका कमीकमजोरीलाई पनि संवैधानिक प्रक्रियाबाटै संशोधन गरेर अगाडि बढ्नुपर्छ, संविधान नै खारेज गरेर होइन । नत्र देश फेरि द्वन्द्वमा फस्छ ।

  • अन्त्यमा, तपाईँको समूह अब के गर्छ ?

हामी निष्क्रिय छैनौँ, निरन्तर लागिरहेका छौँ । हामीले एउटा टिम पनि बनाउँदैछौँ । अहिले हाम्रो मुख्य एजेन्डा भनेको युवाहरूलाई सचेत बनाउने हो । वास्तविक समस्या के हो, हामी कहाँ चुकिरहेका छौँ भनेर युवाहरूलाई बुझाउनु आवश्यक छ । हामीले अहिले सचेतना जगाउने अभियानमा काम गरिरहेका छौँ । एक महिना लागोस्, तर जब युवाले वास्तविकता बुझ्छ, तब उसले सही र गलत छुट्ट्याउन सक्छ । नागरिक चेतनाबिनाको आन्दोलनको कुनै औचित्य रहँदैन । त्यसैले हाम्रो अबको बाटो भनेको युवा चेतना र जागरण नै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप