कात्तिकमा ७ नेपाली फिल्म प्रदर्शन हुने, कुन फिल्ममा कस्ता विषय ?
सारांश
- असोजमा फिल्म रिलिज जेनजी आन्दोलनले प्रभावित गर्यो, जसले गर्दा केही फिल्महरू रिलिज हुन सकेनन् र व्यवसायमा असर गर्यो।
- कात्तिक महिनामा विभिन्न कथावस्तुका सात नयाँ नेपाली फिल्महरू प्रदर्शन हुनेछन्, जसमा 'वरिष्ठ बलराम', 'सोल्टिनी', र 'मैझारो' जस्ता फिल्महरू छन्।
- तिहारको अवसरमा 'वरिष्ठ बलराम' र 'सोल्टिनी' एकसाथ प्रदर्शन हुनेछन्, र कात्तिक २१ गते 'जारी २', 'अभिमन्यु' र 'मन विनाको धन' प्रदर्शन हुनेछन्।
काठमाडौँ । असोज महिनामा ६ फिल्म प्रदर्शनको तयारीमा थिए, तर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण असोजमा फिल्म रिलिज प्रभावित भयो । आन्दोलनले गर्दा असोज २ गते आउने तयारीमा रहेका फिल्म ‘जारी २’ र १३ गते आउने भनिएको ‘अभिमन्यु’ प्रदर्शनमा आउन सकेनन् । असोजमा ४ फिल्ममात्र प्रदर्शन भए ।
ती ४ फिल्ममा पनि दसैँको अवसर पारेर तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ गत १३ गते रिलिज भए भने ‘जेरी अन टप’ आगामी शुक्रबार रिलिज हुँदैछ ।
जेनजी आन्दोलनले असोजका फिल्म रिलिजमा मात्र प्रभावित पारेन । त्यसको असर व्यवसायमा पनि देखियो । गत वर्षझैँ दसैँका तीन फिल्मले एक सातामा २० करोडभन्दा माथिको व्यवसाय गर्ने अपेक्षा थियो । फिल्मले दोस्रो सातासम्म पनि १२ करोडभन्दा बढी व्यवसाय गर्न सकेन ।

सिनेपाः बक्सअफिसका अनुसार २६ असोजसम्म ‘बलिदान’को ४ करोड ७९ लाख ५३, ‘हरिबहादुरको जुत्ता’को कमाइ ४ करोड ३२ लाख, ‘माइतीघर’को कलेक्सन ३ करोड ४६ लाख रुपैयाँ छ । फिल्म अझै प्रदर्शनरत भएकाले आम्दानी बढ्न सक्ने देखिन्छ । आगामी शुक्रबार (असोज ३१)मा अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ प्रदर्शनमा आउँदैछ । यो फिल्मले कस्तो व्यवसाय गर्छ भन्ने हेर्न बाँकी छ ।
कात्तिक महिनामा भने नेपाली फिल्मको माहोल गर्माउने देखिएको छ । यस महिनामा दर्शकले फरक–फरक कथावस्तुका सात नयाँ नेपाली फिल्म हेर्न पाउनेछन् । कात्तिकमा प्रदर्शनमा आउने फिल्म हुन् ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’, ‘मैझारो’, ‘परान’, ‘जारी २’, ‘अभिमन्यु’ र ‘मन विनाको धन’ ।
तिहारमा तीन फिल्म
कात्तिक महिनाको सुरुवातमै हिन्दुहरूको महान् पर्व तिहार परेको छ । तिहारका अवसरमा दुई फिल्म प्रदर्शन हुने भएका छन् । कात्तिक ६ गते भाइटीकाको शुभ दिनमा ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ एकसाथ प्रदर्शनमा आउनेछन् । ‘सोल्टिनी’ले ग्रामीण परिवेशको प्रेमकथालाई प्रस्तुत गर्छ भने ‘वरिष्ठ बलराम’ले समाजमा हुने शक्ति संघर्षको कथालाई उजागर गर्छ ।
भोलिपल्ट, कात्तिक ७ गते ‘मैझारो’ फिल्म प्रदर्शनमा आउनेछ । त्यसैले कात्तिकको दोस्रो साता बक्स अफिसमा त्रिपक्षीय भिडन्तको अवस्था सिर्जना हुने देखिन्छ ।
अर्जुन सुवेदी निर्देशित फिल्म ‘सोल्टिनी’मा प्रकाश सपुत र परीक्षा लिम्बूको मुख्य भूमिका छ । फिल्मको रोचक पक्ष कार्यकारी निर्माताको रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ जोडिएको छ, जसको नेतृत्व धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले गर्छन् । यो फिल्ममा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे लगायतका कलाकारको समेत अभिनय देख्न पाइनेछ । प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्मका निर्माता रेजिना बिष्ट र संसार चौलागाईं हुन् ।

‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । पहिलो पटक दयाहाङ राई र विजय बरालबिचको नोकझोक देखाइएको फिल्ममा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटालगायत कलाकारले पनि अभिनय गरेका छन् । वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्य रहेको फिल्म आशिष एच तामाङ र श्रीराज कार्कीले निर्माण गरेका हुन् ।

त्यस्तै हाँस्यकलाकार विल्सन विक्रम राईको निर्देशनमा डेब्यु फिल्म हो ‘मैझारो’ । फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आलेलगायतको अभिनय छ । ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता पनि निर्देशक राई नै हुन् ।
_oTyDSzsohI.jpg)
‘परान’ एक्लै मैदानमा

कात्तिक १४ गते ‘परान’ फिल्म प्रदर्शनमा आउनेछ । शेखर गोल्छा र प्रिज्मा समूहको संयुक्त लगानी रहेको यो फिल्म कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेका हुन् । आचार्यको पनि निर्देशनमा यो डेब्यु फिल्म हो ।
फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, अन्जना बराइली, महेश त्रिपाठीलगायतका कलाकारको अभिनय छ । फिल्मले नेपाली मौलिकता र संस्कृतिलाई संरक्षण गर्ने उद्देश्य राखेको छ ।
२१ गते त्रिपक्षीय भिडन्त
कात्तिक महिनाको तेस्रो शुक्रबार अर्थात् कात्तिक २१ गते तीन नयाँ फिल्मले प्रदर्शन मिति तोकेका छन् । यी तीन फिल्म हुन् ‘जारी २’, ‘अभिमन्यु’ र ‘मन विनाको धन’ । तीनमध्ये एक ‘जारी २’: सुपरहिट फिल्म ‘जारी’को दोस्रो शृङ्खलाको रूपमा आउन लागेको हो । यो फिल्म पूर्वी नेपालको लिम्बु समुदायको ‘जारी प्रथा’को कथावस्तुमा आधारित छ । दयाहाङ राई, मिरुना मगर, विजय बरालको मुख्य भूमिका रहेको यो फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । बाँसुरी फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।

‘अभिमन्यु’ यसअघि तीन पटक प्रदर्शन सरेर अहिले यो मितिमा पुगेको हो । जेनजी आन्दोलन र देशमा परेको अविरल वर्षा र त्यसबाट भएको क्षतिको कारण देखाउँदै रिलिज सारिएको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुन लागेको हो । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देलको मुख्य भूमिका छ । सुशान्त गौतम निर्देशित फिल्म विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन् ।

यस्तै ‘मन विनाको धन’ टंक बुढाथोकीले निर्माण तथा निर्देशन गरेको फिल्म हो । बाल गायकको रूपमा चर्चित अशोक दर्जीलाई मुख्य भूमिकामा प्रस्तुत फिल्मले ‘जिरोदेखि हिरोसम्म’ ट्यागलाइन बनाएको छ । सामाजिक विषयवस्तुमा आधारित फिल्ममा अशोकका अलावा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।

अशोकले ‘मन विनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीतबाट नै आफ्नो जीवन परिवर्तन गरेका थिए । फिल्मकी निर्माता विष्णु माया मैनाली हुन् भने कार्यकारी निर्माता सपना शर्मा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण