मेक्सिकोदेखि यात्रा गर्दै तिहारसम्म आइपुगेको सयपत्री फूलको कथा
तिहार पर्व दसैँको उल्लास मन्द हुँदै जाँदा ढोका ढकढक्याउँदै हिन्दु धर्मावलम्बीहरूको घरआँगन नजिक आउँछ । तिहार केवल उज्यालो, फूल र मिठाइको पर्व मात्र होइन, यो ‘फूलहरूको पर्व’ पनि हो । यसलाई भावनाको, आत्मीयताको र सम्बन्धको उज्यालो पर्वको रूपमा लिइन्छ ।
तिहारको आगमनसँगै हरेक नेपालीको हृदयमा प्रकाश फैलिन्छ, घरमा रौनक छाउँछ । अनि देउसी, भैलोको गीतले आकाश गुञ्जायमान हुन्छ । गाउँदेखि सहरसम्म उल्लास र शान्तिको तरङ्ग फैलिन्छ । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरू पनि निकै रमाइलो मान्छन् ।
फूल र उज्यालोको पर्व भएकाले यसको सार नै सौन्दर्य र प्रकाशमा निहित छ । तर तिहारको प्रमुख आकर्षण भने भाइटिका नै हो । दिदीबहिनी र दाजुभाइबिचको मिलनको अनुपम क्षण भाइटिका हो । सायद भाइटिका नभएको भए, तिहार केवल रङ र मिठाइको पर्व मात्र हुन्थ्यो, त्यो आत्मीयताको गहिरो अर्थ हराउँथ्यो ।
_KhOVlMwqnv.jpg)
तिहार भाइटिकामा मात्र सीमित छैन । यसका प्रत्येक दिनले फरक–फरक संस्कार, परम्परा र प्रतीक बोकेको छ । नेवारी समुदायले म्हःपूजा मनाउँछ । आफ्नो शरीर परमात्माको घर भएकाले आफूले आफ्नै शरीरलाई पवित्र मन्दिर मानी आराधना गर्दछन् ।
फूल केवल सौन्दर्यको प्रतीक मात्र होइन, यो श्रद्धा र विश्वासको प्रतीक पनि हो । त्यसैले तिहारलाई फूलले सजाउने गरिन्छ । मखमली, सयपत्री र गोदावरी— यी तीन फूल तिहारका राजा–रानी हुन् ।
यसले समग्र देवताहरूको ऊर्जाशक्ति एवं विश्व ब्रह्माण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै यही शरीरभित्र परमेश्वरको बास हुने मान्यता राखी नित्य, अजर, अमर, शाश्वत, ध्रुव, निरपेक्ष आत्माको पूजाको परम्पराका रूपमा म्हःपूजाको विकास भएको पाइन्छ ।
तिहारको सबभन्दा राम्रो पक्ष भनेको फूल हो । फूल तिहारको सजावट गर्ने साधन मात्र होइन, त्यो तिहारको आत्मा हो, अनि सुगन्ध, सौन्दर्य र शुद्धताको प्रतीक पनि हो । वनस्पति शास्त्रीहरूका भनाइअनुसार फूलले वातावरणको विषाक्तता हटाउँछ, वायुलाई सुगन्धित र शुद्ध बनाउँछ । शरीरमा जोस र स्फूर्ति ल्याउँछ । मनलाई शान्त र प्रसन्न बनाउँछ । नकारात्मक सोच र ऊर्जा हटाइ नयाँ उत्साह भर्ने यो प्रकृतिको वरदान पनि हो ।
फूल केवल सौन्दर्यको प्रतीक मात्र होइन, यो श्रद्धा र विश्वासको प्रतीक पनि हो । त्यसैले तिहारमा फूलले सजाउने गरिन्छ । मखमली, सयपत्री र गोदावरी— यी तीन फूल तिहारका राजा–रानी हुन् । तिनैको रङले माला बन्छ, दियो वरिपरि सजिन्छ र हरेकका निधारमा सप्तरङ्गी टिकासँगै ती फूलहरूको सुगन्ध मिसिन्छ । यी फूलले केवल घर मात्र सजाउँदैन, हृदय पनि सजाउँछन् । त्यस्तै माया, सौहार्द र सहअस्तित्वको भावना जोडिन्छ ।
_co95pgksR8.jpg)
हिन्दु धर्मशास्त्रमा फूललाई शुभसाइत, समर्पण र आराधनाको माध्यमका रूपमा उल्लेख गरिएको छ । फूल देवतालाई अर्पण गर्दा मन शुद्ध हुन्छ, कर्म पवित्र हुन्छ भन्ने विश्वास छ । किंवदन्तीअनुसार पौराणिक कालमा रावणले आफ्नो भाइ कुबेरको पुष्पक विमानलाई युद्ध जित्ने प्रयोजनका लागि प्रयोग गरेको पाइन्छ ।
त्यो पुष्पक विमान ‘फूल’को नामबाटै प्रेरित भएको थियो भन्ने मान्यता पनि छ । यही विश्वासका कारण आधुनिक युगमा पनि विमान निर्माण र हवाई यात्राको कल्पनालाई पुष्पकसँग जोडिन्छ ।
नेपालमा सयपत्रीका १५ भन्दा बढी प्रजाति उपलब्ध छन् । सयपत्रीको मूल उत्पत्ति दक्षिण अमेरिका, मेक्सिको र त्यस वरपरका भूभाग भएको पाइन्छ । ती क्षेत्रका करिब १५ प्रजातिमध्ये दुई प्रजातिलाई स्पेनिसि अन्वेषकहरूले युरोप पुर्याए र त्यही बाटो हुँदै सयपत्री आज संसारभर फैलियो ।
तिहारको आगमनसँगै गाउँबस्तीहरू ढकमक्क फूल फुल्छन् । धर्ती सुगन्धले भरिन्छ । हरेक बत्तीको उज्यालोले आशा र समृद्धिको सन्देश दिन्छ । फूल र दीपको संयोजनले धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मी प्रसन्न हुन्छिन्, जसले घर–घरमा धन, सौभाग्य र सुखको वर्षा गर्छिन् भन्ने विश्वास छ ।
- तिहारको महत्त्व
तिहार माया, प्रेम र भेटघाटको सौगात स्वरूप उपहार दिने अनि सम्बन्धलाई अझ निकट, सौन्दर्यपूर्ण र प्रगाढ तुल्याउने पर्व पनि हो । विवाहमा सिन्दूर अपरिहार्य मानिएजस्तै तिहारमा भाइटिका अनिवार्य मानिन्छ । दिदीबहिनीबाट भाइटिका लगाएर मखमली माला पहिरिदा यसले छुट्टै महत्त्व राख्छ ।
दाजुभाइको दीर्घायुको रूपमा सयपत्री र गोदावरी सुखमय जिन्दगीको कामना गर्दै र जाहिजुही र चमेली मनोकाङ्क्षा पूरा होस्, सफलता प्राप्त होस् भनी दिदीबहिनी, दाजुभाइलाई टिका लगाउँछन् र माला पहिरिइदिन्छन् ।
_G4UY7JZnSI.jpg)
- तिहारमा प्रयोग हुने फूलहरू
वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार तिहारको चमक र सौन्दर्यसँग फूलको सम्बन्ध अत्यन्त घनिष्ठ छ । विशेष गरी सयपत्री र मखमली फूल तिहारका प्रतीक नै बनेका छन् । सयपत्रीका मालाले घरआँगन मात्र होइन, काग, कुकुर, गाई, गोरु, दाजुभाइदेखि देवी लक्ष्मीसम्म सबैलाई जोड्छ । यही फूलले तिहारको वातावरणलाई मनमोहक र धार्मिक बनाइदिन्छ ।
यस वर्ष सयपत्री फूलका ४० लाख, मखमली फूलका ३ लाख ५० हजार र गोदावरी फूलका २० हजार माला खपत हुने अनुमान छ ।
श्रेष्ठका अनुसार सयपत्री फूल सौन्दर्यका लागि मात्र होइन, वनस्पति विज्ञानको दृष्टिले पनि विशिष्ट महत्त्व छ । ‘सयपत्री’ भनिए तापनि वास्तवमा यो सयौँ स–साना पुष्पहरूको गुच्छा हो । यसको मध्यभागमा अण्डाशय रहने र वरिपरि पाँच वटा पुंकेशरका परागकोषहरू हुने हुँदा यो पूर्ण पुष्पको उत्कृष्ट उदाहरण हो । फूलको पातलो सुइरो भाग स्त्री जननेन्द्रियको प्रतीक मानिन्छ, जसले जीवन र सृजनाको सन्देश दिन्छ ।
सयपत्रीका पनि विभिन्न प्रजातिका हुन्छन् । ठूलो आकारका फूललाई सामान्यतः ‘अफ्रिकन मेरिगोल्ड’ भनिन्छ । सुन्तले वा फिका पहेँलो रङमा फुल्ने यी सयपत्रीहरू तिहारका दिन बजारदेखि बगैँचासम्म सर्वत्र फक्रिएका देखिन्छन् ।
मखमली फूल पनि सयपत्रीपछि तिहारमा बढी प्रयोग हुने फूल हो । गोलाकार आकार र मृदु बनावटका कारण यसलाई प्रेम र आत्मीयताको प्रतीक मानिन्छ । मखमलीको रङ्गले न्यानोपन, हार्दिकता र स्नेह झल्काउँछ, जसले दाजुभाइ र दिदीबहिनीबिचको बन्धनलाई अझ मजबुत बनाउँछ ।
- कसरी भित्रिए सयपत्री, गोदावरी र मखमली
सयपत्री, गोदावरी र मखमली फूल हाम्रो वनका रैथाने फूल भने होइनन् । यो युरोपियन फूल हो । तर यी फूलहरू नेपालमा कसरी र कहिले भित्रिए भन्ने यकिन तथ्याङ्क छैन । विभिन्न अध्ययनमा सयपत्री फूल नेपालमा सन् १८०० भन्दा पहिले नै ल्याइएको भनिन्छ । सयपत्री फूल देख्नमा त्यतिकै सुन्दर भएकाले तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले सन् १८५५ मा उपहार स्वरूप बेलायत पठाएको पनि भनिन्छ ।
विश्वभर सयपत्री फूलको ५० भन्दा बढी प्रजाति छन् । नेपालमा सयपत्रीका १५ भन्दा बढी प्रजाति उपलब्ध छन् । सयपत्रीको मूल उत्पत्ति दक्षिण अमेरिका, मेक्सिको र त्यस वरपरका भूभागका भएको पाइन्छ । ती क्षेत्रका करिब १५ प्रजातिमध्ये दुई प्रजातिलाई स्पेनिस अन्वेषकहरूले युरोप पुर्याए र त्यही बाटो हुँदै सयपत्री आज संसारभर फैलियो । त्यहीँबाट यी फूल नेपाल भित्र्याएको इतिहास छ ।
नेपाली धर्तीमा यी फूलले निकै पहिलेदेखि नै आधिपत्य जमाइरहेका छन् । अहिले विश्वमै यी फूलको माग बढ्दो छ । नेपालमा त झन् मुख्य चाडको बेला नै यी फूलको प्रयोग गर्ने प्रचलन नै बसेको छ ।
_zvDNKaWBQK.jpg)
मखमली फूल मुख्य त दक्षिण अमेरिकी महादेशको ब्राजिल, पानामा र ग्वाटेमाला क्षेत्रबाट भित्रिएको मानिन्छ । नेपाल भित्रिएको यसको इतिहास पनि सयपत्री सरह अतीतमा बिलाएको अवस्थामा छ । दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला तिहारमा नभई नहुने भइसकेको छ ।
गोदावरी फूल पनि वनस्पति विज्ञानको दृष्टिमा निकै चम्किलो फूल मानिन्छ । गोदावरी फूलको सौन्दर्य विश्वमा नै बढी मान्ने गरिन्छ । यसलाई इस्लामिक मुलुकहरूमा गुलदाउदी भन्ने गरिन्छ । यो फूल पनि नेपाल कहिले भित्रियो भन्ने यकिन छैन ।
तर यसको इतिहास भने इसापूर्व १५औँ शताब्दीतिरको रहेको वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ बताउँछन् । उनका अनुसार गोदावरीलाई बगैँचामा फुलाएर यसको इतिहास रच्ने श्रेय चीनलाई नै दिइन्छ । त्यसपछि अठारौँ शताब्दीमा जापानले यो फूल फुलायो ।
हाल अमेरिकाको सिकागो सहरको आधिकारिक पुष्प गोदावरी नै मानिन्छ । नेपालमा पनि यसको बेजोड प्रयोग हुन्छ । यो फूलका रङ्गहरू धेरै हुन्छन् । मुख्य त पहेँलो र गुलाबी रङ्गको गोदावरी बढी प्रचलनमा छ ।
- तिहारमा फूलको प्रयोग बढ्दो
तिहारमा फूलको प्रयोग ह्वात्तै बढ्छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको बताइन्छ । नेपालमा आव २०८१/८२ मा ५२ जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय पैँतीस व्यवसायीले यसको खेती गर्दै आएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
यस वर्षको तिहारमा फूलको माला बिक्री बढ्ने अनुमान गरिएको छ । एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष करिब ४६ लाख पुष्पमालाको खपत हुने अनुमान गरिएको छ । गत वर्ष ४५ लाख माला खपत भएको थियो । यस वर्ष करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ, जुन गत वर्षको ३७ करोड बराबरको कारोबार भएको थियो ।
यस वर्ष सयपत्री फूलका ४० लाख, मखमली फूलका ३ लाख ५० हजार र गोदावरी फूलका २० हजार माला खपत हुने अनुमान गरिएको एसोसिएसनले जनाएको छ ।
- आठ अर्ब ८३ करोड लगानी
नेपालमा फूलखेतीको सुरुवात विसं. २०११ तिर सामान्य रूपमा भए पनि २०५० सालपछि यसले व्यावसायिक रूप लिन थाल्यो । पछिल्लो दशकयता पुष्प व्यवसायले उल्लेखनीय प्रगति गरेको छ ।
_ArpbbaAcew.jpg)
बढ्दो सहरीकरण र जीवनशैलीको परिवर्तनसँगै नर्सरी स्थापना गर्ने र जमिन भाडामा लिएर फूलखेती गर्नेको सङ्ख्या तीव्र गतिमा बढ्दो छ । हाल देशका सातै प्रदेशका प्रमुख सहरसहित ५२ जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा पुष्पखेती भइरहेको छ । यस क्षेत्रमा करिब आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ भने ५३ हजार ५०० जनाले यसबाट रोजगारी पाएका छन् ।
कोभिड–१९ महामारीका कारण केही समय प्रभावित बनेको यो क्षेत्र अहिले पुनः गतिशील बन्दै गएको छ । पूजाआजा, विवाह, स्वागत, बिदाइदेखि मृत्यु संस्कारसम्म प्रयोग हुने फूलमा आत्मनिर्भरता बढ्दै गएको छ ।
आव २०८०/८१ मा पुष्प व्यवसायबाट तीन अर्ब ६८ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो भने २०८१/८२ मा रु तीन अर्ब ३७ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको एसोसिएसनले जनाएको छ ।
भन्सार विभागका अनुसार, आव २०८०/८१ मा एक करोड दुई लाख बाह्र हजार रुपैयाँ बराबरको फूल तथा पुष्पजन्य वस्तु निर्यात भएकोमा २०८१/८२ मा निर्यात बढेर दुई करोड १३ लाख ६० हजार रुपैयाँ पुगेको छ । हाल नेपालमा उत्पादन भएका फूलहरू जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा र युएईलगायत देशमा निर्यात भइरहेका छन् ।
पुष्पको सुवाससँगै रोजगारी, आत्मनिर्भरता र आर्थिक समृद्धिको नयाँ गन्ध पनि नेपालका माटोमा फैलिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण