बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गोल्यान ग्रुप र सहिद परिवारबिच शैक्षिक वृत्ति समझदारीपत्रमा हस्ताक्षर

आइतबार, ०२ कात्तिक २०८२, १४ : ४१
आइतबार, ०२ कात्तिक २०८२

काठमाडौँ । व्यावसायीक घराना गोल्यान ग्रुप र जेनजी आन्दोलनका सहिद परिवारबिच शैक्षिक वृत्ति योजनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गोल्यान ग्रुपले घोषणा गरेको सहिद परिवारका लागि शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम कार्यान्वयनका लागि शुक्रबार समझदारी गरेको हो ।

पहिलो चरणमा ११ जना बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र विशेष क्षमता तथा प्रतिभा प्रोत्साहनका लागि खर्च व्यहोर्ने गरी सम्झौता भएको छ । 

गोल्यानको तर्फबाट कम्पनीका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रे र सहिद परिवारको तर्फबाट बालबालिकाका अभिभावकले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार गोल्यान ग्रुपले सहिद परिवारका सदस्यले अध्ययन गर्दै आएको इच्छाएको वा उपयुक्त ठहरिएको शैक्षिक संस्थामा माध्यमिक तह (कक्षा १–१२) सम्म अध्ययन गर्न आवश्यक छात्रवृत्ति प्रदान गर्नेछ ।

ग्रुपले अध्ययनरत शैक्षिक संस्थाको बैंक खातामा सो संस्थाले तोकेको शुल्क आवश्यकता अनुसार वा एकमुष्ट जम्मा गरिदिने समझदारी भएको छ ।

शैक्षिक छात्रवृत्तिका अतिरिक्त बालबालिकाको इच्छाअनुसार कुनै एक अतिरिक्त क्रियाकलापमा सहभागी हुन सम्बन्धित संस्थामा भर्ना तथा नियमित शुल्क समेत व्यहोर्ने समझदारीपत्रमा उल्लेख छ ।

अभिभावकहरूले दिएको जानकारीका आधारमा युरो स्कुल छाउनी, प्याराडाइज इङ्लिस स्कुल सानेपा, जागृति विद्यासदन इङ्लिस स्कुल मुलपानी लगायतमा पढाउने गरी प्रक्रिया सुरु गरेको गोल्याण ग्रुपकी कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेसन्स प्रमुख गैह्रेले जानकारी दिइन् ।

उनले भनिन्,‘ हामीले गर्ने कुनै पनि सहयोगले परिवारका प्रियजन गुमाउँदाको पीडा मेटाउन सक्दैन, तर तपाईँहरू एक्लो हुनुहुन्न, हामी पनि सँगसँगै छौँ भन्ने भावनाले सहयोगको हात बढाएका हौँ । सहिदका बालबालिकासँग उनीहरूको सपना पनि जोडिएकाले त्यसको संरक्षण गर्नु हामीले दायित्व सम्झेका छौँ ।’

समझदारीपत्र हस्ताक्षरको अवसरमा सहिद परिवारका एक सदस्यले गोल्यान ग्रुपले बालबालिकाको भविष्यलाई उच्च महत्त्व दिएर सहिदका सपनाको सम्मान गरेको बताए ।

आन्दोलनमा आमा गुमेपछि दुई भाइ–बहिनीको जिम्मेवारी सम्हालिरहेकी काठमाडौँ सानो भर्‍याङकी उर्मिला नगरकोटीले नयाँ अभिभावक पाएको बताइन् ।

बुवा पहिल्यै बितेका र आमा कान्छी नगरकोटीको आन्दोलनमा मृत्यु भएपछि उर्मिलाको काँधमा ९ कक्षामा अध्ययनरत भाइ र ११ कक्षामा अध्ययनरत बहिनीको जिम्मेवारी आइलागेको थियो ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आएकी मञ्जु पौडेलले हरेक व्यक्तिको जीवनमा शिक्षाभन्दा ठूलो केही नभएको बताउँदै यसको जिम्मेवारी लिएकोमा गोल्यान ग्रुपप्रति आभार व्यक्त गरिन् ।

गोल्यान ग्रुपले स्वास्थ्य बिमा सहयोग कार्यक्रम कार्यान्वयन प्रक्रिया पनि सुरु गरेको जनाएको छ । शैक्षिक वृत्ति कार्यक्रममा समेट्न नसकिएका सहिद परिवारका बुवा र आमाका लागि बिमामार्फत सहयोग गरिने गैह्रेले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप