बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बाढीपहिरोले क्षतिग्रस्त इलाम

बाढीपहिरोबाट क्षत्-विक्षत् इलाममा जे देखियो…

सोमबार, ०३ कात्तिक २०८२, १९ : ००
सोमबार, ०३ कात्तिक २०८२

असोज १७ र १८ गते अविरल वर्षापछि आएको बाढीपहिरोले जनधनको ठुलो क्षति पुर्‍याएको पूर्वी पहाडी जिल्ला इलामका विभिन्न स्थानमा हामी पुग्यौं । स्थलगत अनुगमनका लागि माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ, झापा जिल्ला इन्चार्ज रञ्जित तामाङ, रमन भट्टराई, विजय किरण र म असोज २५ देखि ३० गतेसम्म इलाम नगरपालिका र सूर्योदय नगरपालिकाका विभिन्न ठाउँमा पुग्यौं । 

त्यहाँ पुगेर इलाम नगरपालिकाका जनप्रतिनिधि र स्थानीय प्रशासनसँग बसेर छलफल गर्‍यौं । बाढीपहिरोले इलाम क्षत्-विक्षत् नै भएको देखियो । सरकारले तीन महिनालाई संकटग्रस्त जिल्ला पनि घोषणा गरेको छ । इलामका सिडिओ सुनिता नेपाल सहित सुरक्षा निकायका प्रमुखहरुसँग बसेर हामीले छलफल गर्‍यौं, रिपोर्ट सुन्यौँ । 

सुरक्षा निकायको असोज २१ गतेको रिपोर्टअनुसार इलामका सातवटा स्थानीय तहमा ठुलो मानवीय क्षति भएको छ । बाढीपहिरोबाट सूर्योदय नगरपालिकामा ५ जना, इलाम नगरपालिकामा ७ जना, सन्दकपुर गाउँपालिकामा ७ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना, देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिका ८/८ जना र फाकफोकथुम गाउँपालिकामा एक जनाको निधन भएको छ । तीमध्ये पुरुष १८ र महिला २१ जना छन् । एक जना बेपत्ता, ९ जना उपचाररत र १७ जना उपचार सकेर घर फर्किएका छन् । त्यहाँ ३०० हाराहारीमा घरहरु पूर्ण क्षतिग्रस्त भएका छन् । त्यति नै घरहरु आंशिक क्षति भएका छन् । 

अहिलेको बाढीपहिरोले त्यहाँका नागरिकमा भविष्यको चिन्ता प्रष्ट देखिन्थ्यो । खोलाले अस्तव्यस्त बनाएको ठाउँमा पहिरोले वितण्डता मच्चाउँदा भविष्यमा पहाडमा बसोबास गर्न नसकिनेमा उनीहरु चिन्तित थिए । घरबस्ती जतिखेर पनि बगाउने रहेछ भन्ने त्रसित मनोविज्ञान सर्वसाधारणमा पायौं । 

प्रशासनले त्यहाँ राम्रै भूमिका निर्वाह गरेको देखियो । त्यहाँ कुनै गुनासो आएको सुनेनौँ । मुख्य कुरा बाढीपहिरोको क्षति इलाममा मात्रै भएको छ । त्यसो हुँदा देशभरिबाट सबैको सहयोग सपोर्ट भयो । त्यहाँका जनताको मनोविज्ञान फेरि अलि बदलेर आउने हामी सम्भावना देख्छौँ । तर खाली सरकारको मात्रै भर परेर हामी बस्यौं भने जनतामा जो निराशा छ, त्यसलाई आशामा बदल्न सकिँदैन । 

Ilam Landslide2

हामीले देशभरिबाट पार्टी पंक्ति, प्रदेश र जिल्लाहरूसँग अनुरोध गरेर कमसेकम अहिले प्रत्येक मृतक र बेपत्ता परिवारलाई १०/१० हजार रुपैयाँ दिने निर्णय गरेका छौँ । त्यसका लागि हामीले कलेक्सन गरिररहेका छौँ । केही दिनभित्र जम्मा हुन्छ । अब स्थायी बसोबासका लागि त्यसलाई पुनर्स्थापना गर्नुपर्ने, पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ, त्यो राज्यले तत्काल गर्नुपर्छ । तर समग्र आवासको जो कुरा छ, तिनीहरूलाई व्यवस्थापन गर्ने कुरा चुनौतीपूर्ण छ । त्यसका लागि अब हामीले देशभरिका नेता कार्यकर्ताहरू, जिल्लाहरूसँग सल्लाह, छलफल गरेर सबैतिरबाट त्यहाँको पुनर्निर्माणका लागि सपोर्ट गर्ने प्रतिबद्धता गरेका छौँ ।

इलाम पर्यटकीय गन्तव्यको रुपमा प्रसिद्ध छ । जेनजी विद्रोहले ठुलो मात्रामा संरचनाहरू ध्वस्त भएकाले पर्यटकहरू आउन आनाकानी गरिरहेका छन् ।  झन् बाढी पहिरो भइसकेपछि अलि पर्यटकीय क्षेत्र भएको र आम्दानीको स्रोत भएको हुनाले त्यसको पनि हामीले गहिरो असर परिरहेको देखेका छौँ ।

त्यसले इलामको जनतासँग देशका सबै एकाकार भएर उनीहरूको मनोविज्ञानलाई बुझेर गर्‍यौं भने भावी दिनहरूमा बाढीपहिरोको बेला साथमा हुँदा रहेछन् भन्ने एउटा राम्रो सन्देश जान्छ । त्यो हिसाबले हामीले पहल र अपेक्षा गरेका छौँ ।

त्यहाँका सुरक्षा निकाय, सिडिओ कार्यालयमै सेना, सशस्त्र र जनपद लगायतका सुरक्षा निकायसँग छलफल गर्दा करिब–करिब बाटोघाटो अस्थायी रुपमा चालु नै भइसक्यो ।  स्थायी खालको संरचनाहरू, पुलहरू लगेको छ । त्यो बनाउन अलिकति समय लिन्छ । 

इलाम एउटा प्रख्यात ठाउँ पनि हो, ऐतिहासिक ठाउँ पनि हो । खासगरी चियाका लागि प्रख्यात ठाउँ पनि हो । खासगरी भारतको सिमाना जोडिएको ठाउँ र पर्यटकीय ठाउँ पनि हो । पुनर्निर्माण, पुनर्वासको लागि सबैको ध्यान जानुपर्छ । स्थानीयहरू बाढीपहिरोको धेरै जोखिम भएको ठाउँ होइन भन्छन् । पाँथरतिरको तुलनामा त्यति असुरक्षित ठाउँ होइन इलाम । तर भारी वर्षा सँगसँगै चट्याङ परेकाले धेरै ध्वंस भयो जस्तो लाग्छ । लगातार भारी वर्षासँगै चट्याङका आवाजले जमिन थर्किएपछि पहिरो गयो जस्तो देखिन्छ । त्यसैले मान्छेहरु अलिकति त्रसित, सशंकित भएका छन् ।

बाढीपहिरोको क्षति राजमार्गसँगै गाउँ–गाउँतिर पनि पुगेको छ । खासगरी माई खोला जुन छ, त्यस खोलाको आसपास नै मुख्य समस्या छ । एउटै परिवारका ६ जनासम्मको मृत्यु भएको छ । यद्यपि सरकारले आवतजावतमा रोक लगाएको हुनाले क्षति कम भएको देखिन्छ । रोक नलागेको भए त अझ धेरै क्षति हुन्थ्यो, मानवीय क्षति हुन्थ्यो । 

राहतको हिसाबले तत्काल जनतामा असन्तुष्टि देखिएन । विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेका छन् । सरकारको तर्फबाट पनि भइराखेको छ । विद्युतका पोलहरू छोटो समयमा निर्माण भएर सञ्चार पनि सुचारु भएको छ । बाटोघाटो पनि भित्रको सुचारु नै भयो । त्यसकारण सरकारप्रति जनता अलि थोरै आशावादी भएका छन् । तर राजनीतिक दलहरुको जति तत्परता हुनुपर्थ्यो, आन्दोलनको असर होला, अलिकति जस्तो सक्रियता देख्नुपर्थ्यो, त्यो हामीले अलि पाएनौँ ।

Ilam Landslide3

त्यहाँ लिडरहरूको कोअर्डिनेसन देखिएन । सूचनाको ग्याप, बाटोघाटो अवरुद्ध भएका कारण नेताहरु नै थुनिएर बस्नुपर्ने अवस्था रहेछ । सुरुकै दिनमा आवागमन र सूचनाले गर्दा अलिकति कम्युनिकेसन भएर एकीकृत काम गर्ने कुरामा अलि केही अप्ठ्यारो भयो । पछिल्लो दिनमा त्यहाँ राज्य समितिका सदस्यहरु सबै बसेर छलफल गरेँ ।

मुख्य कुरा त्यहाँका समस्या सरकार, राजनीतिक दलहरू जनतासँग छन् भन्ने सन्देश व्यावहारिक काम कारबाहीबाट दिन सक्नुपर्छ । पहिलेभन्दा बसोबास अझै व्यवस्थित, प्रभावकारी भयो, सुरक्षित ठाउँमा भयो भन्ने अनुभूति हामीले गराउन सक्यौं कि सकेनौँ त्यो मुख्य कुरा हो ।

बाटोघाटो जहाँ पायो खन्ने देशैभर छ, तर इलाममा पुरानै संरचना हुन् । त्यहाँ पहिलेदेखि नै बाटोघाटो, आवागमनको सुविधा थियो । मुख्य कुरा मुसलधारे वर्षा नौ घण्टासम्म अविरल वर्षा पर्‍यो । त्यसपछि लगातार चट्याङले आकाश गर्जियो । त्यसले जमिन थर्किएपछि पहिरो गएको जस्तो देखिन्छ ।

Ilam Landslide1

हामीले हेर्नुपर्ने कुरा ट्रेन्ड हो । गत साल र यसपालिको ट्रेन्ड हेर्दा मनसुनको अन्तिमतिर एक ठाउँ केन्द्रित भएर भारी वर्षा भएको छ । गत वर्ष ठ्याक्कै यही बेला काभ्रेको रोशीको आसपास, पनौती, बनेपा लगायत क्षेत्रमा केन्द्रित भएर अत्यधिक वर्षा भयो । त्यसपछि वर्षा बन्द भयो । ठुलो क्षति गर्‍यो । अहिले ठ्याक्कै मनसुन बाहिरिने बेलामा इलाममा गएर एकाएक त्यस्तो वर्षा भयो ।

त्यसकारण वर्षाको ट्रेन्ड सम्बन्धमा हामीले अध्ययन गर्न जरुरी छ । पोहोर साल पनि त्यस्तै भयो, अहिले पनि दसैंकै बेला वर्षा भयो । 
पुनर्निर्माण र पुनर्वासका लागि पहल गर्छौं । हामीले देशभरिका साथीहरुसँग सल्लाह गरेर, कुनै जिल्लाले श्रमदान दिएर, साधनस्रोत दिएर एक–एक वा दुई–दुईवटा भत्किएका भवन, घरहरु बनाइदियो भने राम्रो हुन्छ भनेका छौँ ।

(गजुरेल नेकपा माओवादी केन्द्रका नेता हुन्ग । रातोपार्टीकर्मी गणेश पाण्डेसँगको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिबोल गजुरेल
हरिबोल गजुरेल
लेखकबाट थप