तिहारमा बढ्यो पटका आतङ्क
सारांश
- यस वर्ष तिहारमा काठमाडौं उपत्यका लगायत देशका सहरी क्षेत्रमा पटकाको प्रयोग बढेको छ।
- पटकाको आवाजले बालबालिका, बिरामी र घरपालुवा जनावरलाई असर गरेको गुनासो आएको छ।
- प्रहरीले पटका नियन्त्रणका लागि प्रयास गरे पनि नागरिकको सोच परिवर्तन नभएसम्म समस्या समाधान नहुने जनाएको छ।
काठमाडौँ । यस वर्षको तिहारमा काठमाडौँ उपत्यकासहित देशका सहरी क्षेत्रहरूमा पटका, बारुद र भुइँचम्पाको प्रयोग अप्रत्याशित रूपमा बढेको छ ।
विगतका वर्ष फाट्टफुट्टमात्रै सुनिने पटकाको आवाजले यसपाली सहरलाई आतङ्कित बनाएको मात्र होइन, ध्वनि र वायु प्रदूषणसमेत निकै बढाएको छ ।
राजधानीका गल्लीगल्लीबाट चर्को आवाजमा पड्किने पटकाले बालबालिका, बिरामी, ज्येष्ठ नागरिक र घरपालुवा जनावरहरूलाई समेत प्रत्यक्ष असर पारेको गुनासो व्यापक छ । चाडपर्वको खुसीयालीका नाममा भइरहेको पटका आतङ्कले शान्तिपूर्ण जीवनको अधिकारमाथि नै प्रश्न उठाएको देखिन्छ ।
काठमाडौँ–३२ जडीबुटी निवासी शिला घिमिरे पटकाको आवाजका कारण आफ्नी २ वर्षकी छोरी सुत्न नसकेको बताउँछिन् । उनले अघिल्लो वर्ष यति धेरै पटका नपड्केको भए पनि यस वर्ष व्यापक वृद्धि भएकोमा चिन्ता व्यक्त गरिन् ।
घिमिरेले प्रतिप्रश्न गर्दै भनिन्, ‘रातभरि बच्चाहरू सुत्न सकेका छैनन् । निदाउन खोज्छन्, ढ्वाङ्ग पड्किन्छ । पहिला त यस्तो हुँदैनथ्यो । अहिले त टोलभरि पड्किरहेको छ । घरमा बिरामी हुन्छ, बच्चा हुन्छ । दीपावली मनाउने भनेर यस्तो आतङ्क गर्दा अरुलाई कस्तो असर पर्छ, बुझ्नुपर्ने होइन र ?’
घिमिरेको जस्तै गुनासो काठमाडौँ उपत्यकाभरि सुनिन्छ । राजधानीका विभिन्न ठाउँका बासिन्दाले गत वर्षको तुलनामा यस वर्ष पटका आतङ्क धेरै बढेको भन्दै आक्रोश व्यक्त गरे ।
स्वास्थ्य, शिक्षा र शान्तिमा पटकाको असर
पटकाको चर्को आवाजले विभिन्न वर्गका नागरिकलाई प्रत्यक्ष असर पुर्याएको छ । बौद्धका रामबहादुर तामाङ दम र मुटुका बिरामी हुन् । उनले बिहान र बेलुकाको पटकाको चर्को आवाजले आफ्नो मुटु नै हल्लिने र छाती दुख्न थाल्ने बताए ।
तामाङले भने, ‘गत वर्ष पटका पड्किएको त थाहा पनि हुँदैनथ्यो, यति शान्त हुन्थ्यो । यसपाली त मान्छे बस्नै नसक्ने भयो ।’
उनले शान्त वातावरणमा बस्ने आफ्नो अधिकार खोसिएको महसुस भएको अनुभव सुनाए ।
काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत अञ्जु श्रेष्ठ निरन्तरजसो पड्किने गरेको पटकाका कारण पढाइमा बाधा भइरहेको गुनासो गर्छिन् । छुट्टीको समय सदुपयोग गर्दै पढ्न खोज्दा एक्कासी ठुलो आवाजमा पटका पड्किँदा ध्यान भङ्ग हुने गरेको उनले बताइन् ।
अञ्जुले भनिन्, ‘गत वर्ष केही समयका लागि मात्रै पड्किन्थ्यो, तर यसपाली त रातभरि पड्किरहन्छ ।’
ललितपुरको पुल्चोकका सुमन महर्जन घरपालुवा जनावरमा परेको असरप्रति चिन्तित बनेका छन् । उनले भने, ‘मेरो कुकुर पटकाको आवाज सुन्नेबित्तिकै डरले थरथर काम्न थाल्छ, लुकेर बस्छ ।’
महर्जनले जनावरहरूलाई यति धेरै त्रास गत वर्ष नभएको र मानिसले आफ्नो मनोरञ्जनका लागि अरुलाई कति दुःख दिन्छन् भन्ने ख्याल नगरेकोमा दुःख व्यक्त गरे ।
‘जानकी मन्दिरमा शान्ति भङ्ग’
जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले दीपावलीको रात निरन्तर पटका पड्काएर मन्दिरको शान्ति भङ्ग गरेकोमा गहिरो दुःख व्यक्त गरे । पत्रकार सम्मेलन गर्दै दासले जानकी मन्दिर केवल इँट र ढुङ्गाको संरचनामात्र नभई यो जनकपुरवासीको आत्मा भएको बताए ।
उनले भने, ‘यहाँ भक्ति, शान्ति र मर्यादा रहनुपर्छ, बारुद र पटकाको आवाज होइन । मन्दिरको पवित्रता भङ्ग गर्ने यस्तो कार्य अत्यन्त निन्दनीय र दुःखदायक छ ।’
महन्त दासका अनुसार पछिल्ला वर्षहरूमा दीपावलीको रातमा मन्दिर परिसरभित्र युवाहरूले पटका पड्काउने, नाचगान गर्ने र फोटो सेसनको प्रवृत्ति बढ्दै गएको छ । उनले पटक–पटक अनुरोध गर्दा पनि मन्दिरभित्र पटका र आतिशबाजी नरोकेको भन्दै यो धर्म, संस्कार र परम्पराविपरीत भएको बताए ।
दासले केही युवाले बेवास्ता गर्दा सम्पूर्ण मिथिलाको छविमाथि नै दाग लागेकोमा चिन्ता व्यक्त गरे । मन्दिरको मर्यादा जोगाउन सबै श्रद्धालु र स्थानीय युवाहरूले जिम्मेवारीपूर्वक आचरण गर्नुपर्नेमा उनले जोड दिए ।
उनले जानकी मन्दिर मिथिलाको हृदय भएको र यहाँ पटका नभएर भजन, आरति र शान्तिको स्वर गुन्जिनुपर्ने बताए । पवित्रस्थलमा मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको उनले स्मरण गराए ।
दासका अनुसार ठुलो आवाज र आतिशबाजीका कारण मन्दिरभित्र रहेका साधुसन्तसमेत त्रसित बनेका छन् । ‘मिथिलाको संस्कृति सौम्यता, भक्ति र मर्यादामा टिकेको छ । हामी सबैले मिलेर जानकी मन्दिरको पवित्रता जोगाउनुपर्छ । पटका र धुवाँले नभई दीप र भजनले नै जनकपुरधाम उज्यालो बनोस्, यही मेरो कामना हो,’ उनले थपे ।
स्थानीयहरूका अनुसार धार्मिक स्थलमा बढ्दो पटका प्रदर्शनले जनकपुरधामको धार्मिक छवि र संस्कारमाथि प्रश्न उठाएको छ भने सामाजिक सञ्जालमा समेत धेरैले यसलाई ‘संस्कार र आस्थामाथिको प्रहार’ भन्दै आलोचना गरेका छन् ।
नागरिकको मानसिकता नै मुख्य चुनौती : नेपाल प्रहरी
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) विनोद घिमिरेले गत वर्षको तुलनामा यस वर्ष पटकाजन्य वस्तुको बरामद र पक्राउ धेरै भएको स्वीकार गरे । उनले प्रहरीले आफ्नो तर्फबाट पटका नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको बताए ।
तर, नागरिक समाजको सोचाइमा परिवर्तन नआएसम्म यो पूर्णरूपमा नियन्त्रण गर्न कठिन हुने निष्कर्षमा प्रहरी पुगेको उनको भनाइ छ ।
डीआइजी घिमिरेले भने, ‘नागरिक समाज नै कस्तो छ भनेदेखि पटका नपड्काएर त पर्वै हुँदैन भन्ने जस्तो किसिमको सोचाइ छ ।’
उनले प्रहरीले मात्रै गरेर सबै नियन्त्रण नहुने बताए । धेरै अभिभावकले तिहारमा पनि पटका पड्काउन नपाउने भन्दै प्रतिप्रश्न गर्ने गरेको उनको भनाइ छ ।
प्रहरीले पटकाको आयात रोक्न सीमा नाका र भित्री क्षेत्रमा कडाइ गरेको घिमिरेले जानकारी दिए । उनले भने, ‘नभित्रियोस् भनेर हामीले धेरै पटका सिज गर्यौं, धेरै बरामद गर्यौं । कोहीलाई पक्राउ गरेर मुद्दा पनि चलाएका छौँ ।’
डीआइजी घिमिरेले गत वर्षभन्दा धेरै परिमाणमा पटका बरामद भएको बताए । उनकाअनुसार कञ्चनपुर, मकवानपुर, चितवन लगायतका जिल्लाहरूमा ठुलो मात्रामा पटका जफत गरेर पक्राउ परेकाहरूलाई विस्फोटजन्य पदार्थ ऐन २०७४ अनुसार कारबाही अगाडि बढाइएको छ ।
प्रहरीले पटकाका कारण हुने सम्भावित दुर्घटना, आगलागी, आँखामा चोटपटक लाग्ने सम्भावना लगायतका विषयमा सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको घिमिरेले बताए ।
‘हामीले सचेतना गराएका पनि छौँ, तर जबसम्म नागरिक समाजबाट यो ठिक होइन भन्ने किसिमले आउँदैन, तबसम्म प्रहरीले मात्रै रोक्न सक्दैन,’ घिमिरेले थपे ।
उनकाअनुसार विस्फोटक तथा हानिकारक पटकाहरूलाई प्राथमिकताका साथ बरामद गरी कारबाही गरिन्छ भने सामान्य पटकालाई समेत पसलमा बेच्न राख्दा सिज गर्ने गरियो ।
यस वर्षको तिहारमा पटकाको प्रयोग गत वर्षभन्दा बढेको गुनासो आइरहँदा प्रहरीले आफ्नो तर्फबाट कारबाही र सचेतनाका कार्यक्रमहरू गरिरहेको घिमिरेले बताए । तर, यसको पूर्ण नियन्त्रणका लागि नागरिक समाजको जागरुकता र सहयोग अपरिहार्य रहेको प्रहरीको भनाइ छ ।
सशस्त्र प्रहरी भन्छ ‘खुला सिमाना र मानसिकता चुनौती’
सशस्त्र प्रहरीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले गत वर्षको तुलनामा यस वर्ष पटकाजन्य वस्तुको आयात केही बढेको हुनसक्ने तर मुख्य चुनौती खुला सिमाना र नागरिकको मानसिकता रहेको बताए ।
उनले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित निगरानी बढाएको र पटका नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको उल्लेख गरे ।
डीएसपी थापाले भने, ‘हाम्रोचाहिँ बोर्डरमा नियमित निगरानी छ नै, त्यसमा हाम्रो ड्युटीमा अथवा नियन्त्रणमा कतै कतै पनि फरक परेको छैन ।’
उनले खुला बोर्डरको फाइदा उठाउँदै विभिन्न बहानामा मान्छेहरूले अलिअलि पटका बोकेर आउने गरेको र यसलाई रोक्न अलि गाह्रो हुने बताए । दुई देशबिचको रोटी–बेटी सम्बन्ध र आवतजावतलाई पूर्णरूपमा रोक्न नसकिने भएकाले लुकीचोरी पटका भित्रिने गरेको उनको भनाइ छ ।
सशस्त्र प्रहरीले सीमा नाकामा पटका नियन्त्रणका लागि ठुलो मात्रामा बरामद र नष्ट गर्ने कार्य गरिरहेको डीएसपी थापाले जानकारी दिए । उनले भने, ‘लगभग हरेक दिनजस्तो पटका नियन्त्रण गरेर त्यसलाई नष्ट गरेको तथ्याङ्क थुप्रै छ हामीसँग । विगतभन्दा यो वर्ष अझ बढी पटका नियन्त्रण गरेका छौँ ।’ यसको अर्थ धेरै पटका भित्रियो या सशस्त्र प्रहरीले बढी निगरानी गर्यो भन्ने दुवै हुनसक्ने उनको भनाइ छ ।
डीएसपी थापाका अनुसार, पटका आतंक बढ्नुमा नागरिक समाजको सोचाइ पनि जिम्मेवार छ । उनले भने, ‘तपाईं हामीमै पटका नपड्काए त तिहारै होइन भन्ने जस्तो सोचाइ छ ।’
विज्ञहरू भन्छन् : स्वास्थ्य र वातावरणीय जोखिम
वातावरण विज्ञ तथा वायु प्रदूषणमा विद्यावारिधि गरेकी डा. रेजिना मास्के व्याञ्जुले यस वर्ष पटकाको प्रयोग अत्यधिक बढेको अनुभव आफूलाई समेत भएको बताइन् । यसले बालबालिकालाई झन् बढी जोखिममा पारेको उनको भनाइ छ ।
उनले भनिन्, ‘गत वर्षभन्दा यसपाली पटकाको आवाज र मात्रा धेरै नै पाएँ । यस वर्ष सरकार नभएको जस्तो स्थिति भएकाले वा कुनै निकायले जिम्मेवारी नलिएको कारण पनि यस्तो भएको हुनसक्छ ।’
रेजिनाले तिहारको समयमा तनावमुक्त हुन पटका पड्काउने प्रवृत्ति पनि रहेको तर त्यसले निम्त्याउने स्वास्थ्य जोखिमबारे सचेत हुनुपर्ने बताइन् । पटका पड्काउँदा निस्कने धुवाँमा मुख्यतया सल्फर, सल्फरडाइअक्साइड र कार्बन मोनोअक्साइड जस्ता हानिकारक रसायनहरू हुने उनले जानकारी दिइन् ।
‘यसले स्वास्थ्यमा अवश्य पनि गम्भीर असर गर्छ,’ उनले भनिन् । सवारीसाधनबाट निस्कने धुवाँको तुलनामा पटकाको धुवाँ उत्तिकै हानिकारक हुने तर यसमा पाइने रसायनको प्रकार भने केही फरक हुने उनको भनाइ छ ।
पछिल्लो समयमा पटकामा अन्य अर्ग्यानिक पदार्थहरू पनि मिसाइने गरेकाले यसको खतरा अझ बढेको उनले बताइन् ।
डा. रेजिनाले पटकाको धुवाँ सवारीसाधनको जस्तो हावामा बिलिन नभई नजिकै पड्काइने र मानिसहरू नजिकै रहने हुँदा यसको प्रत्यक्ष असर बढी हुने स्पष्ट पारिन् । ‘जति नजिक भयो, त्यति नै हानिकारक हुन्छ,’ उनले भनिन् ।
विशेषगरी बालबालिकाहरूलाई यो झन् बढी हानिकारक हुने उनको भनाइ छ । ‘धेरैजसो बालबालिकाले नै पटका मन पराउँछन् र उनीहरूकै लागि पटका पड्काइने गरिन्छ । प्रदूषित हावा बालबालिकाको लागि स्वतः हानिकारक हुन्छ, त्यसमाथि नजिकै पड्काउँदा यसको असर झन् बढी हुन्छ,’ उनले भनिन् ।
तिहार पर्वको बेला पटका र बारुदको अत्यधिक प्रयोगका कारण काठमाडौँ उपत्यका लगायतका सहरी क्षेत्रमा वायु प्रदूषण बढेको जनगुनासो आउन थालेपछि वातावरणविद् भुषण तुलाधारले प्रदूषण बढेको स्वीकार गरे । यद्यपि उनले दिल्लीको जस्तो भयावह स्थिति नरहेको बताए । हालको अवस्थालाई विगतका वर्षको तुलनामा खासै फरक नभएको र भविष्यमा भने यो समस्या बढ्दै जाने सक्ने चेतावनी उनले दिए ।
दिल्लीमा खतरा तहमा प्रदुषण
भारतको राजधानी दिल्लीमा दीपावलीका अवसरमा पटका, बारुद धेरै जलाउँदा वायु प्रदूषण अति घातक स्तरमा पुगेको छ । मंगलबार बिहान दिल्लीको वायु गुणस्तर सूचकांक बढेर ६८० पुगेको थियो । दिल्लीमा वायु प्रदूषण बढ्नुको कारण यातायात क्षेत्रले १५.६ प्रतिशत योगदान पुर्याएको र उद्योगहरू सहित अन्य कारकहरूले २३.३ प्रतिशत योगदान पुर्याएका छन् ।
दीपावलीको पटका पड्काउने गतिविधिका कारण प्रदूषण ह्वात्तै बढेको भारतीय मिडियाहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण