रौतहटमा छठको तयारी तीव्र
सारांश
- छठ पर्व शनिबारबाट देशभर विधिवत् रूपमा सुरु भएको छ, जसमा व्रतालुहरूले विभिन्न विधिहरू পালন गर्छन्।
- खरना विधि आइतबार मनाइनेछ, जसमा व्रतालुहरूले खीर र रोटी छठी मातालाई अर्पण गर्छन् र प्रसाद ग्रहण गर्छन्।
- सोमवार साँझ अस्ताउँदो सूर्यलाई र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ।
रौतहट । सूर्यदेवको आराधना र सन्तानको सुख-समृद्धिको कामनासहित मनाइने आस्थाको महान् पर्व छठ शनिबार देखि देशभर विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म अत्यन्त श्रद्धा र संयमका साथ यो पर्व मनाइन्छ।
पहिलो दिन आज व्रतालुहरूले नङ काटेर, नदी, पोखरी वा जलाशयमा स्नान गरी पूजा पाठ गरेर 'नहाय–खाय' विधि सम्पन्न गरेका छन्। यस दिन व्रतालुहरूले शरीर शुद्धीकरण गरी अरवा चामल, चना, रहर दाल र लौका, फर्सीको तरकारी जस्ता सात्त्विक परिकार ग्रहण गर्छन्। यस विधिलाई 'अरबा–अरबाइन' पनि भनिन्छ।
पर्वको दोस्रो दिन भोलि (आइतबार) 'खरना विधि' मनाइनेछ। यस दिन व्रतालुहरूले दिनभर निर्जल उपवास बसेर साँझ साठी धानको चामल, सक्खर र दूधबाट बनेको खीर तथा गहुँको पिठोको रोटी छठी मातालाई अर्पण गरी प्रसादको रूपमा ग्रहण गर्छन्। खरनापछि व्रतालुहरू ४८ घण्टासम्म अन्न र पानी त्यागेर कठोर व्रत बस्ने परम्परा छ।
तेस्रो दिन सोमवार साँझ छठको मुख्य दिन 'सँझिया घाट' हुनेछ। यस दिन अस्ताउँदो सूर्यलाई जलाशय किनारमा पूजा सामग्रीसहित अर्घ अर्पण गरिन्छ। अन्तिम दिन मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिपूर्वक सम्पन्न गरिन्छ, जसलाई 'पारण' भनिन्छ।
छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया, कलश, ठकुवा, भुसुवा, उखु, केरा, मिठाई तथा फलफूल सूर्यदेवलाई अर्घको रूपमा अर्पण गर्ने गरिन्छ। यस पर्वमा प्रसाद वितरण र ग्रहण गर्ने प्रचलनले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ।
हाल तराई–मधेसका सहर–बजारहरूमा छठको रौनक छाएको छ। रौतहटको सदरमुकाम गौरस्थित बरहवा ताल, लालबकैया नदीसहित जिल्लाका १८ वटै पालिकामा नदी र पोखरी किनारलाई आकर्षक रूपमा सजाइएको छ। छठका भोजपुरी र बज्जिका भाषाका भजन-कीर्तनले वातावरण भक्तिमय बनेको छ।
पछिल्ला वर्षहरूमा यो पर्व तराईमा मात्र सीमित नरही काठमाडौँ, पोखरा, नारायणघाट, धरान, इटहरीलगायत पहाडी सहरहरूमा पनि विस्तार हुँदै राष्ट्रिय एकताको प्रतीकका रूपमा स्थापित भएको छ। स्थानीय प्रशासनले पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन विशेष सुरक्षा, स्वास्थ्य र विद्युत् व्यवस्था मिलाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण