मलाई लेखक बनाउने बीपी हुन् : सुबिन भट्टराई
सारांश
- सुबिन भट्टराई एक चर्चित युवा उपन्यासकार हुन्, जसले 'कथाकी पात्र' बाट लेखन सुरु गरे।
- उनका 'समर लभ', 'साया' लगायत सात कृति प्रकाशित छन्, र उनी लेखन प्रक्रियाबारे रातोपाटीमा कुराकानी गर्छन्।
- भट्टराईका अनुसार, साहित्य सिर्जना अध्ययन, अनुभव र निरन्तरको प्रयत्नबाट सहज बन्छ, तर पाठकको अपेक्षा पूरा गर्न गाह्रो हुन्छ।
नेपाली साहित्यका चर्चित युवा उपन्यासकार तथा आख्यानकार हुन् सुबिन भट्टराई । ‘कथाकी पात्र’ कथा सङ्ग्रहमार्फत लेखन क्षेत्रमा उदाएका भट्टराई युवा पुस्तामाझ लोकप्रिय छन् ।
उनका हालसम्म ‘समर लभ’, ‘साया’ र ‘मनसुन’, ‘प्रिय सुफी’, ‘इजोरिया’ र ‘चमेली फूल बैजनी रुमाल’ गरी सात कृति प्रकाशित भइसकेका छन् । रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलाका लागि रमा सुवेदीले उनै भट्टराईसँग गरेको कुराकानी ।
- साहित्यकारको लेखनी दुनियाँबारे केही जानौँ न, खासमा त्यो कस्तो हुन्छ ?
सुरुमा एउटा सानो झिल्को मनमा बल्छ । यो विषयमा लेख्न पाए हुन्थ्यो जस्तो लाग्छ । जहाँ सुकै, जस्तो अवस्थामा पनि त्यसलाई टिपेर मस्तिष्कमा खेलाउन थालिन्छ । कतिपय झिल्काहरू त केही घण्टा वा दिनमै ह्वार्रर बलेर सकिन्छन् । तर जुन झिल्काहरू निभ्न मान्दैनन्, ती शब्द बनेर ओकलिन्छन् । त्यहाँबाट लेखनी सुरु हुन्छ । पहिले एउटा ड्राफ्ट बन्छ । उपन्यास नै हो भने पनि पहिला एउटा ढाँचा बनाउनु पर्यो ।
सुरुवात कहाँबाट गर्ने ? अन्त्य कहाँ गर्ने ? क–कस्ता पात्रहरूलाई के बोल्न लगाउने ? अनि कसरी भन्ने ? यो सबैको रूपरेखा तयार पारिन्छ । बिस्तारै लेख्दै जाँदा कतिपय नयाँ पात्र, घटना र सहयोगी कथानक विकसित हुँदै जान्छन् । यसैक्रममा कतिपय हराउँदै पनि जान्छन् । जेनतेन पहिलो ड्राफ्ट बन्छ । म चाहिँ पहिलो ड्राफ्टलाई बारम्बार पुनर्लेखन गर्छु । पुनर्लेखन १० देखि १५ पटक पनि हुनसक्छ ।
आफैलाई चित्त बुझ्दैन भने अरूले कसरी बुझाउन ? यस दृष्टि विन्दुबाट हेर्दा साहित्य कर्म अप्ठ्यारो छ ।
भाषामा खेल्ने ठाउँ जहिले पनि रहन्छ । यसरी फाइनल ड्राफ्टमा पुगिन्छ । आफूलाई चित्त बुझेपछि नजिकका साथीहरूलाई पढ्न दिन्छु । उनीहरूको सल्लाह ठिक लाग्यो भने त्यसमा थप काम गर्ने, होइन भने अघि बढ्ने ।
- तपाईंका लागि लेखन सजिलो कर्म हो वा अप्ठेरो ?
अध्ययन, अनुभव र दैनन्दिनको प्रयत्नले गर्दा तुलनात्मक रूपमा मेरा लागि यो सजिलो छ । तर पाठक विशिष्ट खाले लेखनीको पर्खाइमा हुन्छन् । यति मात्रै होइन, आफ्नै भित्रको पाठक पनि दिनहुँ विकसित हुँदै गइरहेको हुन्छ । आफू भित्रको पाठकलाई चित्त बुझाउन झनै गाह्रो छ । त्यसैले जे पायो त्यही लेखेर हुँदैन ।
आफैलाई चित्त बुझ्दैन भने अरूले कसरी बुझाउन ? यस दृष्टि विन्दुबाट हेर्दा साहित्य कर्म अप्ठ्यारो छ । कसैले एउटा विषय दिएर भोलिसम्म लेखेर देऊ है भन्यो भने आजै लेखेर दिन सक्छु । तर पत्रिकाका लागि लेख्न मलाई कम्तीमा एक महिना चाहिन्छ । अहिलेका पाठक सचेत छन् । सतर्क छन् । कुनै कुरामा शङ्का लागेमा तत्काल खोजेर त्यसबारे हेर्न सक्छन् । त्यसैले उनीहरूको अपेक्षा पनि बढ्दैछ ।
म तनावमा लेख्न सक्दिनँ । कहिले–कसो आठ–नौ महिनासम्म हल्लेरै बिताइरहेको हुन्छु ।
प्रत्येक कथा वा कृति पहिलेको भन्दा राम्रो बनाउनु पर्ने दबाब हुन्छ । लेखन कर्म आफैमा सजिलो छँदै छैन । पहिले विषय खोज्नु पर्यो, कथा र पात्रलाई न्याय गर्न सक्नु पर्यो । आफ्नो सान्दर्भिकता जोगाउन निरन्तर पढिराख्नु पर्यो । अप्ठ्यारो भनौँ त्यतिसारो अप्ठ्यारो पनि छैन । झन् यो त मेरो फूल टाइम जब भयो । मैले लेखिन भने मेरो त घरमा चुलो बल्दैन । ठ्याक्कै भन्दा सजिलो र गाह्रो दुइटैको बिचतिर कतैबाट बग्छ होला यो ।
- लेखक/साहित्यकारहरूबारे बजारमा अनेकौँ मिथ उडी रहेका हुन्छन् । साहित्यकार भन्ने बित्तिकै काँधमा झोला वा हातमा चुरोटको छवि बन्न पुग्छ । साहित्यकारबारे बुनिने मिथकबारे तपाईंलाई के लाग्छ ?
आफ्नै बारे भन्नु पर्दा म अलिक ‘बोरिङ’ खालको मान्छे छु । मेरो त्यस्तो कुनै किस्सा, काण्ड छैनन् । म चुरोट खान्न । मदिरा बिरलै पिउँछु । स्वास्थ्यप्रतिको सतर्कताले गर्दा मदिरा पिउँदा पनि अति कम पिउँछु । लेख्ने बेला आफूलाई सारै मन परेका केही किताबहरू नजिकै राख्छु । अड्किएँ, अप्ठ्यारो पर्यो वा गाँठो फुकाउनु पर्यो भने ती किताबहरू पल्टाउँछु । १०/१५ पन्ना पढेपछि गाडीमा तेल हाले जस्तै स्वतः ऊर्जा आउँछ ।
कतिपयले साहित्यको नाममा सिधासपाट शब्दहरूको चाङ लगाइरहेका हुन्छन् । मलाई भने त्यस्तो मन पर्दैन ।
म तनावमा लेख्न सक्दिनँ । कहिले–कसो आठ–नौ महिनासम्म हल्लेरै बिताइरहेको हुन्छु । अस्ति एक जना लेखक साथीले, ‘कुन क्याफेमा बसेर लेख्ने गर्छौ ?’ भनी सोधे । म त घरमै बस्छु भने । दिनभरि केही नपढी वा केही नलेखी बित्यो भने साँझसम्म मेरो मनमा खिन्नताले घर गर्न थाल्छ । ‘आज यतिकै गयो मेरो दिन’ भन्ने जस्तो लाग्छ ।
केही न केही त गर्नैपर्छ । केही भएन भने राम्रो सिनेमा हेर्ने गर्छु । किताबका पन्ना पल्टाउनु, लेख्नु र सिनेमा हेर्नु मेरो जम्मा यही तीनवटा काम छ । सक्दो सृजनशील हुने प्रयत्न गरी राख्नु पर्छ । समग्रमा मेरो जीवन औसत र बोरिङ छ भन्दा हुन्छ । यहाँ कुनै मिथ छैनन् ।
- साहित्यलाई पनि आमरुपमा हल्का वा गह्रुङ्गो भनी मूल्याङ्कन गर्ने गरिन्छ, तपाईं आफैले आफैलाई त्यस कसीमा राखी हेर्दा कस्तोमा पाउनु हुन्छ ?
साहित्यमा साहित्यिक लय हुनैपर्छ । कतिपयले साहित्यको नाममा सिधासपाट शब्दहरूको चाङ लगाइरहेका हुन्छन् । मलाई भने त्यस्तो मन पर्दैन । त्यस्ता लेखनलाई म हलुङ्गा भन्छु । त्यस्तोमा लय र दम दुवै पाउँदिन म । कुनै पनि लेखनले त्यसको सामान्य मानकलाई पनि भेट्न सक्दैन भने त्यसलाई साहित्य कसरी मान्नु ? त्यो त समाचार भइहाल्यो नि ।
साहित्यले त कम्तीमा साहित्यिक मूल्य त बोकोस् । बाँकी त्यसमा कस्तो विषय उठान गरिएको छ ? कति गहिराइसम्म पुगेको छ ? पात्रहरूलाई कसरी उभ्याएको छ ? तिनको मनोविज्ञान के हो ? भन्ने महत्त्वपूर्ण हुन आउँछ । समाजमा सामान्य घटना दैनन्दिन भइरहेकै हुन्छन्, त्यो सबैले देख्छन् । तर त्यसभित्र नदेखिएका कुरालाई उजागर गर्नु नै साहित्यको कला हो ।
लेख्नलाई प्रेरित गर्ने कुरा धेरै छन् । साथी–सङ्गति, भेटघाट, हिँड्डुल आदिका क्रममा अनेक दृश्य देखिन्छन् । फरक आँखाले फरक–फरक कुरा पहिल्याउँछ ।
भर्खरैको जेनजी आन्दोलन हेरौँ न । पहिलो र दोस्रो दिन के भयो ? सबैले देखेका छन्, पढेका छन् र त्यसबारे जानकार छन् । तर त्यो भिडको मनोविज्ञान के हो ? राम्रो गर्न खोज्दा–खोज्दै राष्ट्रिय सम्पत्ति कसरी ध्वस्त पारियो ? लुटपाट गर्न कुन मनोविज्ञानले उक्सायो मानिसलाई ? घटनाक्रम कसरी अगाडि बढ्यो ? आम मानिसमा त्रासको मनोविज्ञान कस्तो थियो ? लगायतका विषय समाचारमा आउन सकिरहेका हुँदैनन् । लेखकले त्यसमाथि प्रकाश पार्ने हो ।
- तपाईंलाई के कुराले लेख्न प्रेरित गर्छ र लेख्दै गर्दा त्यसको केन्द्रमा पाठक हुन्छन् वा तपाईं स्वयं ?
लेख्नलाई प्रेरित गर्ने कुरा धेरै छन् । साथी–सङ्गति, भेटघाट, हिँड्डुल आदिका क्रममा अनेक दृश्य देखिन्छन् । फरक आँखाले फरक–फरक कुरा पहिल्याउँछ । यसमा तपाईंलाई सबै भन्दा ठुलो साथ अध्ययनले दिन्छ । साहित्यको विद्यार्थीले भूगोलको वा इतिहासको मात्रै अध्ययन गरेर पुग्दैन । ऊसँग विश्व साहित्यलाई चपाएर निल्न सक्ने क्षमता हुनैपर्छ । त्यसका लागि पढ्नु पर्यो ।
संसारभर के–के विषयमा लेखिएको छ ? कस्ता साहित्यले ठाउँ पाएका छन् ? कस्तो साहित्यले पुरस्कार पाएको छ । यस्ता विषयमा आफैले सोच्नु पर्यो । यो भन्दा पनि मुख्य कुरा विश्व साहित्यको लेखन कस्तो छ ? कुनै कथा पढ्दा त्यसमा अनेक ‘ग्याप’ भेटिन्छन् । ती ग्याप्सबाट आफ्नो छुट्टै कथा बनाउन सक्छौँ, ती ग्याप भर्न सक्छौँ । लेखकले त्यहाँ यस्तो गर्यो, म भएको भए के गर्थेँ भनी सोच्नै पर्छ ।
समर लभ हुरुक्कै भएर मन पर्नेलाई इजोरिया फिटिक्कै मन परेको छैन । इजोरियाप्रति हुरुक्कै हुनेहरू समर लभ पनि किताब हो भन्छन् ।
म सिनेमाबाट पनि प्रभावित हुन्छ । कतिपय सिनेमाले मलाई कथा लेख्नै प्रेरित गरेका छन् । मैले त्यस्तो अभ्यास गरेको छु । मेरो नयाँ कृति ‘चमेलीको फूल बैजनी रुमाल’ मैले सिनेमा हेरेपछि त्यसबाट प्रेरित भएर लेखेको हुँ । लेखकले पाठकलाई मात्रै ध्यान दिएर लेख्नु हुँदैन जस्तो लाग्छ । पहिलो पाठक त लेखक स्वयं हो । आफैलाई चित्त बुझेको छैन भने लेखाइको के मजा भयो र ?
मेरा धेरै चलेका दुई किताब छन्– समर लभ र इजोरिया । समर लभ हुरुक्कै भएर मन पर्नेलाई इजोरिया फिटिक्कै मन परेको छैन । इजोरियाप्रति हुरुक्कै हुनेहरू समर लभ पनि किताब हो भन्छन् । त्यसैले म पाठकबारे धेरै सोच्दिन । पाठकका पनि वर्ग छन् । सबै पाठकको प्यारो हुन सकिँदैन । मेरो एउटै लाइन छ– साहित्य मन छुने हुनुपर्छ । आत्महत्या रोक्न मद्दत पुगोस् भनेर ‘प्रिय सुफी’ लेखेँ यसमा केही हदसम्म सफलता पनि हात लागेको छ ।

- तपाईंको नयाँ कथा सङ्ग्रहको नाम ‘चमेलीको फूल बैजनी रुमाल’ राख्नु भएको छ । यही नाम किन छनोट गर्नु भयो ?
सङ्ग्रह भित्र यही शीर्षकको एउटा कथा छ । कथाहरूमध्ये यही शीर्षक सबैभन्दा राम्रो लाग्यो । मेरा यसअघिका उपन्यास वा कथाका शीर्षक अलिक छोटा हुन्थे तर यो अलिकता लामो भयो । प्रत्येक किताबमा केही नयाँ गरौँ भन्ने लाग्छ । पाँच सय पेजको उपन्यास लेखी आएको मान्छे स्वाट्ट ‘यू टर्न’ गरेर कथामा आएँ । त्यो आफैँमा एउटा नयाँ चिज भइहाल्यो ।
यसका साथै शीर्षकमा पनि केही नयाँ गरौँ भन्ने लागि रहेको थियो । अरू शीर्षक पुराना खालका थिए । मलाई भने पुरानो कुरा त्यति साह्रो मन पर्दैन । नयाँ पुस्तालाई सबै नयाँ दिऊँ भन्ने लाग्छ । यो सङ्ग्रहमा संग्रहित कथा सबै फ्रेस हुन् । यो मेरो सातौँ कृति हो र यसमा सात कथा संग्रहित छन् ।
- तपाईंमा पुस्तकप्रतिको आकर्षण कसरी सुरु भयो ?
पुस्तकप्रतिको आकर्षण मेरो कथाप्रतिको आकर्षणबाट सुरु भयो । बाल्यकालमा स्वर्गका कथा सुनियो, राक्षस र देवता लडेका कथा सुनियो । महाभारतको कथा सुनियो, पछि त्यही टेलिभिजनमा हेरियो । हाम्रो पुस्ता महेन्द्रमाला पढेर हुर्किएको पुस्ता हो । बालकृष्ण समदेखि लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, गोपालप्रसाद रिमाल, रमेश विकल, बीपी कोइराला जस्ता धुरन्धर व्यक्तित्वहरूको रचना पढ्न पाइन्थ्यो । यी सबैलाई पढ्दा आफूले पनि लेख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।
अन्तिम पटक पढेको किताब डाक्टर नवराज केसीको ‘स्वस्पर्श’ हो । निकै राम्रो लाग्यो पुस्तक ।
तर, त्यति बेला जति नै पढेँ भने पनि पढ्नका लागि मात्रै पढियो । अहिले आएर पढ्दा ‘ए यो यस्तो रहेछ’ भन्ने हुन्छ । शब्दहरूलाई यसरी खेलाइने रहेछ भन्ने लाग्छ । त्यसैले म बीपी कोइरालाका कृतिलाई हरेक एक–दुई वर्षमा दोहर्याएर पढ्ने गर्छु । मलाई लेखक बनाउने बीपी हुन् । अहिले पनि ‘हिट्लर र यहुदी’, ‘सुम्निमा’ तथा ‘तीन घुम्ती’ पढ्दा नयाँ–नयाँ आयाम भेटिरहेको हुन्छु ।
आमा राम्रो छन्द कविता लेख्नुहुन्थ्यो । उहाँलाई महाभारत, पुराण र उपनिषद्का कथाहरू कण्ठस्थ थिए । श्लोक हालेर सुनाउने उहाँको बानीले मेरो बाल्यकालमै प्रभाव पारेको थियो । शायद यिनैले मलाई पुस्तकतर्फ डोर्याएको हुनुपर्छ ।
- पछिल्लो समय कुन पुस्तक पढ्दै हुनुहुन्छ ? त्यसबारे केही कुरा भन्नुस् न ।
जेनजी आन्दोलनपछि खासै किताब पढेको छैन । अन्तिम पटक पढेको किताब डाक्टर नवराज केसीको ‘स्वस्पर्श’ हो । निकै राम्रो लाग्यो पुस्तक । आख्यान होइन तर कथाहरू हालेर रोचक बनाइएको रहेछ । दैनिक जीवनमा भेटिएका बिरामी, उनीहरूको परिवारको कथा छ त्यसमा । अर्को पुस्तक तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’ हो । पहिला पढ्न छुटेको रहेछ । त्यो पुस्तक पनि राम्रो लाग्यो मलाई ।
- तपाईंलाई प्रभावित पारेका पाँचवटा विदेशी पुस्तकको नाम लिनु पर्दा क–कसको नाम लिनु हुन्छ ?
फ्योदोर दोस्तोयेभ्स्कीको ‘क्राइम एन्ड पनिसमेन्ट’ सबै भन्दा माथि आउने नाम हो । त्यसपछि क्रमशः सिल्विया प्लाथको ‘द बेल जार’, हान्या यानागिहाराको ‘अ लिटिल लाइफ’, जर्ज अर्वेलको ‘एनिमल फार्म’ तथा मुराकामीको ‘काफ्का अन द शोर’ हो । यतिका वर्षपछि पनि यी कृतिहरू आज प्रयन्तः सान्दर्भिक छन् ।
- मन परेका पाँच नेपाली पुस्तक ?
यो भने गाह्रो प्रश्न सोध्नु भयो । नेपालका यति राम्रा लेखकहरूबाट पाँच ओटा कसरी छान्नु ? तथापि, पहिलो नम्बरमा धच गोतामेको ‘घामका पाइलाहरू’ नै हो । त्यो किताब जस्तो राम्रो मलाई अरू कुनै लाग्दैन । त्यसपछि बीपीका सबै किताब मन पर्छन् । तर, बीपीको ‘हिट्लर र यहुदी’ तथा ‘सुम्निमा’ मास्टरपिस लाग्छ । त्यसपछि ध्रुवचन्द्र गौतमको ‘अलिखित’, भवानी भिक्षुको ‘आगत’ अनि विजय मल्लको ‘अनुराधा’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण