शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खरनासँगै मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

आइतबार, ०९ कात्तिक २०८२, १२ : १७
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • छठ पर्वको खरनापछि मिथिलाञ्चलमा दाजुबहिनीको प्रेमको प्रतीक सामा-चकेवा पर्व सुरु हुन्छ।
  • यो पर्वमा सामा, चकेवा, चुगला लगायतका मूर्ति बनाई सामूहिक गीत, नृत्य र खेल प्रदर्शन गरिन्छ।
  • पर्वले सामाजिक सद्भावको सन्देश दिने र लोप हुँदै गएको पर्वलाई युवा पुस्ताले पुन: स्थापनाको प्रयास गरिरहेका छन्।

जनकपुर । छठ पर्वको खरना अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनदेखि मिथिलाञ्चलमा सामा–चकेवा पर्व मनाउन सुरु गरिन्छ । करिब दस दिनसम्म चल्ने यो पर्व दिदीबहिनी र दाजुभाइबिचको अमर प्रेम, सद्भाव र आपसी समर्पणको प्रतीक मानिन्छ ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार, भगवान् श्रीकृष्णकी छोरी श्यामा  र उनका दाजु साम्बसँग सम्बन्धित पौराणिक कथा यस पर्वको मूलमा रहेको छ । झुटो आरोपका कारण चरामा परिणत भएकी सामालाई भाइ साम्बले तपस्या गरी उद्धार गरेपछि दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु र कल्याणको कामना गर्दै यो पर्व मनाउन थालेको धार्मिक विश्वास छ ।

यो पर्वको प्रारम्भमा दिदीबहिनीहरूले खेतबाट चोखो माटो ल्याएर सामा, चकेवा, चुगला, सतभैया, वृन्दावन लगायतका पात्रहरूको मूर्ति बनाउँछन् । साँझपख टोकरीमा ती मूर्तिहरू राखी बिचमा दियो बाल्दै सामूहिक रूपमा गीत, नृत्य र खेल प्रदर्शन गरिन्छ। अन्तिम दिन पूर्णिमाको रातमा मूर्तिहरूलाई विसर्जन गरी पर्व सम्पन्न गरिन्छ ।

सामा–चकेवा पर्वले सत्य, पारिवारिक एकता र सामाजिक सद्भावको सन्देश दिने मात्र होइन, मिथिलाञ्चलको लोककला र परम्परागत हस्तकलालाई पनि जीवित राखेको छ । यस पर्वमा “चुगला” नामक पात्रको प्रतीकात्मक दहनमार्फत चुगली र झूटो आरोपजस्ता सामाजिक विकृतिहरूको विरोध गरिन्छ ।

हाल आधुनिक जीवनशैली र सहरीकरणका कारण यो लोकपर्व बिस्तारै लोप हुँदै गइरहेको चिन्ता व्यक्त गर्दै स्थानीय समुदाय र युवाहरू यसलाई पुनः स्थापनाको अभियानमा जुटेका छन् । विद्यालयस्तरका सांस्कृतिक कार्यक्रम, डिजिटल प्रचार र सामुदायिक प्रदर्शनमार्फत यस पर्वलाई पुनः जीवित पार्ने प्रयास भइरहेका छन् ।

sss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप