बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नाउपाभित्रको विवाद

एक्लिइन् रञ्जिता, पार्टी अध्यक्षमा रामलालको दाबी

आइतबार, ०९ कात्तिक २०८२, १६ : ४६
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • नागरिक उन्मुक्ति पार्टीमा रञ्जिता श्रेष्ठ एक्लिएकी छन्।
  • पार्टीबाट हटाएर रामलाल डगौरा चौधरीलाई अध्यक्ष बनाउन १६ जना संस्थापक केन्द्रीय सदस्यले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन्।
  • निर्वाचन आयोगले निवेदनमा छानबिन गरिरहेको छ, भने डगौराले आफूलाई यसबारे थाहा नभएको बताएका छन्।

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पार्टीमा एक्लिएकी छन् । 

एकपटक पुनः पार्टीकी अध्यक्ष श्रेष्ठलाई पार्टीबाट हटाएर रामलाल डगौरा चौधरीलाई अध्यक्ष बनाएको पत्र निर्वाचन आयोगमा दर्ता गराइएको छ । डगौरालाई अध्यक्ष बनाउन १६ जना संस्थापक केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । 

२०७८ पुस १९ गते गठन भएको यस पार्टीमा २१ जना संस्थापक रहेका छन् । निर्वाचन आयोगले पनि यसैलाई मान्यता दिएको छ । २१ जना संस्थापकमध्ये तीन जनाले पहिला नै पार्टी छाडिसकेका थिए । बाँकी १८ मध्ये १६ जनाले डगौरालाई अध्यक्ष बनाउनेगरी आयोगमा पत्र दर्ता गराएका छन् । 

तर डगौराले आफूलाई यसबारे थाहा नभएको बताए । तपाईंको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी पुनर्गठन हुन लागेको हो नि भन्ने जिज्ञासामा उनले यस विषयमा अनभिज्ञता देखाए, बरु बुझेर जानकारी गराउने छोटो प्रतिक्रिया दिए । 

यता निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई हटाएर अर्कोलाई अध्यक्ष बनाउने गरी निवेदन आएको बताएको छ । 

कानुन शाखाका विष्णुप्रसाद पौडेलले निवेदन आएको पुष्टि गरे । उनले भने, ‘निवेदन आएको छ, त्यसमा छानबिन भइरहेको छ, विधान तथा कानुनहरू अध्ययन गर्ने काम भइरहेको छ ।’ कति जनाको हस्ताक्षर रहेको भन्नेबारे पौडेलले जानकारी दिएनन् । 

नाउपा स्रोतका अनुसार डगौरालाई अध्यक्ष बनाएको छ भने विना चौधरीलाई उपाध्यक्ष र गंगाराम चौधरीलाई महासचिव बनाइएको छ । अरू बाँकी सबै सदस्य छन् । यसअघि नै भदौ २९ गते नाउपा संरक्षक रेशम चौधरीले रञ्जिताकोसाथ छाडेको घोषणा गरेका थिए । रेशम छुट्टै नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता गराउने तयारीमा लागेका छन् । 

गत साउन १४ गते पार्टीको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो । तर आयोगले लालवीरलाई अध्यक्षको मान्यता दिएन, आयोगले नाउपाको अध्यक्षका रूपमा लालवीरलाई चिन्दैन । 

आयोगले लालवीरलाई पठाएको पत्रमा भनिएको छ, ‘निज लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य तथा पदाधिकारी नभएको हुँदा सो पार्टीको २०८२ साउन १४ गते सम्पन्न भएको भनिएको राष्ट्रिय भेला सो दलको आधिकारिक अध्यक्षको निर्देशनमा केन्द्रीय कमिटिको बैठकले निर्णय गरी बोलाइएको भेला प्रारम्भमा नै विधानसम्मत देखिन आएन । तसर्थ उक्त दलको विधान २०७८ को धारा १३ एवम् धारा ४१ को उपधारा (१) र (२) विपरीत बोलाइएको भेलाद्वारा सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलगायत पदाधिकारी हेरफेर गरेको विषयको निर्णयलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ को उपदफा (१) र (२) बमोजिम कानून सम्मत नदेखिँदा निवेदक लालवीर चौधरीको साउन १८ गते दलको विवरण अद्यावधिक गरी पाउँ भन्ने दाबी खारेज हुने ठहर्छ ।’

अर्थात् २१ जना संस्थापकमा लालवीर पर्दैनन् । राष्ट्रिय भेलामा संस्थापकसहित महाधिवेशनबाट केन्द्रीय समितिमा आएकाहरूको सहभागिता  थियो । जब कि, महाधिवेशनबाट बनेको नाउपाको केन्द्रीय समितिलाई आयोगले मान्यता दिएको छैन । त्यही भएर लालवीरलाई अध्यक्ष बनाए पनि आयोगले मान्यता दिएको थिएन । 

तर यसपटक २१ जना संस्थापकबाटै हस्ताक्षर गरेर डगौराको अध्यक्षतामा पार्टी पुनर्गठन गर्न निर्वाचन आयोगमा निवेदन दर्ता भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप