मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पेरिसमा १०२ मिलियन डलरका गरगहना चोरी, झ्याल फुटाउन क्रेन ल्याएका थिए

सोमबार, १० कात्तिक २०८२, १३ : १०
सोमबार, १० कात्तिक २०८२

सारांश

  • पेरिसको लुभ्र संग्रहालयबाट बहुमूल्य गरगहना र हीरा चोरीको आरोपमा दुई जना पक्राउ परेका छन्।
  • पक्राउ परेका व्यक्तिहरू फ्रान्सको सेन-सेन्ट-डेनिस क्षेत्रका बासिन्दा हुन्, जसमा एक फ्रान्सेली नागरिक र अर्को फ्रान्सेली र अल्जेरियाली नागरिकता भएका व्यक्ति छन्।
  • चोरी अक्टोबर १९ मा भएको थियो, जसमा चोरहरूले १०२ मिलियन डलर मूल्य बराबरको गहना लुटेका थिए, र उनीहरू करिब सात मिनेटमै मोटरसाइकलमा भागेका थिए।

पेरिस । पेरिसको विश्व प्रसिद्ध लुभ्र संग्रहालयबाट बहुमूल्य गरगहना र हीरा चोरीको आरोपमा दुई संदिग्ध पक्राउ परेका छन् ।

उनीहरू सेन-सेन्ट-डेनिस क्षेत्रका बासिन्दा रहेका समाचारहरूमा जनाइएको छ, जुन फ्रान्सको सबैभन्दा पिछडिएको क्षेत्रहरूमध्ये एक मानिन्छ । 

अधिकारीहरूका अनुसार एक संदिग्धलाई शनिबार राति पेरिस-चार्ल्स डी गाल विमानस्थलमा अल्जेरियाका लागि विमान चढ्न लागेका बेला हिरासतमा लिइएको थियो । दोस्रो संदिग्धलाई केही समयपछि पेरिस क्षेत्रबाटै पक्राउ गरिएको थियो । 

स्थानीयसञ्चार माध्यमको रिपोर्ट अनुसार संदिग्धहरूमध्ये एक फ्रेन्च नागरिक हुन्, जबकि अर्कासँग फ्रेन्च र अल्जेरियाई दुवै नागरिकता छ । दुवैको उमेर ३० वर्ष हाराहारीमा छ र फ्रान्सेली प्रहरीलाई उनीहरूको बारेमा पहिले नै जानकारी भएको बताइएको छ । 

लुभ्रमा यो ठुलो चोरी अक्टोबर १९ मा भएको थियो । चोरहरूले संग्रहालय खुल्ने समयमा माथिल्लो झ्याल फुटाउन क्रेनको प्रयोग गरेका थिए र ग्यालेरी डीअपोलोन, वा अपोलो ग्यालेरीबाट १०२ मिलियन डलर मूल्यका आठ बहुमूल्य गरगहना चोरेका थिए । यो सबै करिब सात मिनेटमा सम्पन्न भएको थियो । त्यसपछि उनीहरू मोटरसाइकलमा भागेका थिए, जसपछि सम्पूर्ण फ्रान्समा व्यापक खोजी सुरु गरिएको थियो । 

घटनाको केही दिनपछि, एउटा भिडियोमा एक चोरहरू नजिकैबाट जाँदै गर्दा सिसाको डिस्प्ले केस काट्दै गरेको देखाइएको थियो । अर्को क्लिपमा निर्माण उपकरण लगाएका दुई लुटेरा चोरीपछि हाइड्रोलिक लिफ्ट प्रयोग गरेर भाग्दै गरेको देखाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप