बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्समा अनुबन्ध

सोमबार, १० कात्तिक २०८२, १७ : ४२
सोमबार, १० कात्तिक २०८२

सारांश

  • कर्णाली याक्सले नेदरल्यान्ड्सका ब्याट्सम्यान म्याक्स ओ डाउडलाई दोस्रो नेपाल प्रिमियर लिगका लागि अनुबन्ध गरेको छ।
  • यसअघि कर्णालीले स्कटल्यान्डका मार्क वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ।
  • म्याक्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टी-२० खेलमा २,३०९ रन बनाएका छन् र उनी नेपाली मैदानमा परिचित छन्।

काठमाडौँ । कर्णाली याक्स स्पोर्ट्स प्रालिले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ ।  कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि नेदरल्यान्ड्सका अनुभवी ब्याटर अनुबन्ध गरेको जानकारी गराएका छन् । 

यसअघि कर्णाली याक्सले पहिलो विदेशीमा स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र दोस्रो विदेशीको रूपमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको थियो । 

‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुत बनाउने योजनासहित एसोसियट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौँ,’ निर्देशक घिमिरेले भने– ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन् । त्यसले हामीलाई पक्कै फाइदा पुग्नेछ ।’ 

कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् । ३१ वर्षीय म्यान्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टी–२० खेल खेलिसकेका छन् । जसमा उनले २ हजार तीन सय ९ रन बनाएका छन् । उनले एक शतकसहित १६ अर्धशतक बनाएका छन् । 

कीर्तिपुरको मैदानमै उनले मलेसियाविरुद्ध ७३ बलमा करियरकै अविजित सर्वाधिक एक सय ३३ रन बनाएका थिए । उनले नेदरल्यान्ड्सको लागि ६५ एक दिवसीय खेलमा दुई हजार १५३ रन बनाइसकेका छन् । 

दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ । २०८१ मङ्सिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । 

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप