बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शवदाह गृहको मेसिन खरिद सम्बन्धी भ्रष्टाचार मुद्दाको पेसी स्थगित

मङ्गलबार, ११ कात्तिक २०८२, १३ : ४०
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दाको पेसी स्थगित गरिएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
  • शवदाह मेसिन खरिद प्रक्रियामा मिलेमतो र सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ।

काठमाडौँ । पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दाको पेसी स्थगित भएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा तोकिएको उक्त पेसी प्रतिवादी पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको हो। आज विशेष अदालतमा सो मुद्दाको मात्रै पेसी तोकिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ गते पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

पशुपति परिसरमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना गरेको, हानि–नोक्सानी पुर्‍याएको र भ्रष्टाचारमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार मुद्दा खेप्नेहरूमा तत्कालीन सदस्य–सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, अन्य कर्मचारीहरू तथा दुई कम्पनीहरू रहेका छन्।

अख्तियारको दाबीअनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा शवदाह मेसिन खरिद प्रक्रिया सुरु गर्नुअघि नै आफूअनुकूल कम्पनीलाई ठेक्का दिने योजना बनाएका थिए। सोही क्रममा उनीहरूले विभिन्न चरणमा बदनियतपूर्वक कार्य गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ।

आयोगका अनुसार अनुभवविहीन परामर्शदाता कम्पनी ‘एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी’ लाई फर्जी कोटेसनका आधारमा परामर्श सेवाको जिम्मा दिइएको थियो। सोही कम्पनीमार्फत भारतीय रुपैयाँमा ३२ लाख ५० हजार पर्ने मेसिनलाई नेपाली रुपैयाँमा १ करोड ५२ लाख पर्ने देखाई अस्वाभाविक रूपमा लागत अनुमान तयार गरिएको दाबी अख्तियारले गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप