‘पार्टी एकता नजिक छौँ, रविलाई अलग गराउने कल्पना कसैले गरेको छैन’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि विभिन्न समूह र नयाँ शक्तिहरूसँग गठबन्धन बनाउने प्रयास गरिरहेको छ।
- पार्टीभित्र रवि लामिछानेको विकल्प खोज्ने विषयमा असन्तुष्टि देखिएको छ, तर बालेन शाह, कुलमान घिसिङलगायतलाई समेट्ने प्रयास जारी छ।
- पुकार बमको नेतृत्वमा गठन भएको संवाद समन्वय कार्यदलले वैकल्पिक शक्तिहरूसँग छलफल गरिरहेको छ, र ८०% सहमति भइसकेको छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जेनजीका विभिन्न समूह र नयाँ वैकल्पिक शक्तिहरूको एउटै छाता समूह निर्माण गर्ने प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखिएको छ ।
रास्वपाले जेनजीको विभिन्न समूहका नेतृत्व, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, मन्त्री कुलमान घिसिङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल लगायतलाई समेट्ने जिम्मा केन्द्रीय सदस्य पुकार बमलाई दिएको छ ।
तर पछिल्लो पटक सभापतिमा रवि लामिछानेको विकल्प खोज्ने विषयलाई लिएर पार्टीभित्रै तरंग पैदा भएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका रविलाई हटाएर मन्त्री घिसिङलाई अन्तरिम सभापति बनाउन लागिएको चर्चा छ । यस काममा गणेश कार्की, डा. तोसिमा कार्की, पूर्वसहमहामन्त्री सुमना श्रेष्ठलगायत नेताहरू सक्रिय रहेको बुझिएको छ । यसले रास्वपामा अन्तरविरोध चर्काएको छ र पार्टी नै विभाजन हुने हो कि भन्ने आशंका गरिएको छ ।
रास्वपाभित्र चुलिँदै गएको असन्तुष्टि, आगामी निर्वाचनमा परम्परागत दलहरूलाई काउन्टर दिन नयाँ वैकल्पिक शक्तिबिच एलायन्स बनाउने गृहकार्यलगायत विषयमा 'संवाद समन्वय कार्यदल'का संयोजक पुकार बमसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः
- तपाईं रास्वपाबाट वार्ता टोलीको संयोजक हुनुहुन्छ । वैकल्पिक र नयाँ भनिएका दलहरू, जेनजी पुस्तालाई समेटेर एउटै एलायन्स बनाउने तयारी कहाँ पुग्यो ?
सबैभन्दा पहिला वार्ता टोली वा कार्यदलभन्दा पनि पार्टीमा दुई दिन चलेको केन्द्रीय समितिको बैठक, जुन हाम्रो सर्वोच्च निकाय हो । त्यसबाट बनेको ‘संवाद समन्वय कार्यदल’ हो । नयाँ र वैकल्पिक शक्तिहरू, अभियानका शक्तिहरू, स्वतन्त्र भनिएका शक्तिहरू र अहिले भर्खरै आएको जेनजीको लहरका शक्तिहरूसँग संवाद र समन्वय गर्नका लागि यो कार्यदल बनेको हो ।
यस कार्यदलमा म संयोजक छु र सदस्यहरूमा गणेश कार्की, ज्वाला संग्रौला, सोबिता गौतम र क्रान्तिशिखा धितालसमेत हुनुहुन्छ । यो किन बन्यो भने, २१ फागुनमा चुनाव घोषणा भइसकेपछि अन्तिममा जाने त चुनावमै हो । चुनावमा सबैभन्दा ठुलो स्टेकहोल्डर जेनजी पनि भएको र छरिएर रहेका वैकल्पिक शक्तिहरूसँग समन्वित संवाद गर्ने क्रममा हामीले काम थालेका हौँ । त्यो घोषणा भएको दुई–तीन दिनदेखि नै हामी निरन्तर संवादमा छौँ । तपाईंले नाम सुन्नुभएका, चलेका जेनजी अभियन्ता, नेतृत्वकर्तादेखि लिएर वैकल्पिक शक्तिहरूसम्म, सबैसँग हामीले लगभग एकदेखि तीन चरणसम्मका वार्ता र संवाद गरिसकेका छौँ ।
र, यो एकताको प्रयास करिब–करिब धेरै नजिक पुगिसकेको छ । तर राजनीतिमा अन्तिम समयसम्म के हुन्छ भन्न सकिन्न । कतिखेर को कहाँ पल्टिन्छ थाहा हुँदैन । हाम्रो तर्फबाट प्रयास एकदमै निष्पक्ष छ । म आफैँ पनि हिजो विवेकशीलको पृष्ठभूमिबाट आएको हुनाले १५–१७ वर्षदेखि मान्छेहरूलाई एक ठाउँमा मिलाउने र शक्तिहरूलाई एक ठाउँमा ल्याउनुपर्छ भन्नेमा विश्वास गर्छु । किनभने अबको लडाइँ ‘महायुद्ध’ हो र महायुद्ध लड्न ‘महाअभियान’मा सबैलाई समेट्नुपर्छ तर, त्यो पनि विचार, व्यवहार र सिद्धान्त मिल्नेहरूलाई मात्र । यी नमिल्नेहरूसँग सहकार्य गर्न गाह्रो हुन्छ । अहिलेसम्म मेरो व्यक्तिगत संयोजकको हिसाबले भन्नुपर्दा हामी ८० प्रतिशतभन्दा बढी ‘ब्रेक थ्रु’को अवस्थामा पुगिसकेका छौँ ।
- नयाँ एलायन्समा बालेन शाह, सुदन गुरुङ, कुलमान घिसिङ, गोपी हमाल समूह लगायत टिमलाई एक ठाउँमा ल्याउने प्रयास हो ?
मैले ८० प्रतिशत किनभने भन्दा बाँकी २० प्रतिशत रास्वपाभित्रै पनि मिलाउनुपर्ने छ । माथिल्लो तहदेखि लिएर ग्रासरुट, वडा, टोलसम्मै संगठित भइसकेको एउटा शक्ति हो । त्यसकारणले अब यो विधानले चलेको पार्टी हो । यहाँनिर आफ्नो विभिन्न नीति, नियमहरू हुन्छन् । संवैधानिक, वैधानिक सीमाहरू हुन्छन् । पार्टीभित्रै मिलाउनुपर्ने एउटा कुरा छ । बाहिरबाट आएको साथीहरूसँग पनि हामीले संवाद गरिरहेको छौँ । उहाँहरूले पनि एक खालको एस्योरेन्सहरू खोजि राख्नुभएको छ । कोही एक्लै आउन खोजिराख्नुभएको छ, कोही टिमसँग आउन खोजिराख्नुभएको छ, कोही हिजोको दिनमा लामो बिरासत बोकेर अभियानसँग जोडिएका साथीहरू हुनुहुन्छ ।
अब यो विषय शीर्षस्थ नेताहरू बसेर अन्तिम निर्णय गर्ने तहमा पुगेको छ । यदि उहाँहरूले यो अन्तिम महायुद्ध हो र यसका लागि महाअभियान नै आवश्यक छ भन्ने महसुस गर्नुभयो भने यो सम्भव छ । शीर्षस्थ नेताहरू बसेरै टुंग्याउनुपर्छ । कतिपय कुराहरू शीर्ष नेतृत्व तहमा भइसकेका पनि छन्, हामीले उहाँहरूसँग संवाद पनि गरिराखेका छौँ, जहाँबाट सकारात्मक प्रतिक्रिया आएको छ ।
निश्चल बस्नेतले त स्पष्ट रूपमा रवि दाइलाई अहिलेको भन्दा बढी महान् भएर हामी देख्न चाहन्छौँ भन्नुभएको छ । योभन्दा बढी शक्तिशाली भएको हामी देख्न चाहन्छौँ । यो अभियान उहाँले नै सिर्जना गरेको हो, उहाँले नै बनाउनुभएको हो भनेर भनेका छन् ।
तर, कहिलेकाहीँ मिडियामा आउने विभिन्न ‘मिडिया ट्रायल’ले गर्दा समस्या हुन्छ । एकातिर रास्वपाका साथीहरू झस्किनुहुन्छ । उहाँहरूलाई के लाग्छ भने रविलाई रास्वपाबाट छुट्याएर यिनीहरूले गद्दारी गर्न थाले भन्नेखालको भाष्य निर्माण भएको छ, हामी सबैसँग भेटिरहेका छौँ—जेनजीदेखि रास्वपालाई मन पराउने–नपराउने, शंका गर्ने–नगर्ने, मिल्नुपर्छ भन्ने–नपर्ने सबैसँग संवाद गरिरहेका छौँ ।
रविलाई रास्वपाबाट छुट्ट्याएर यिनीहरूले गद्दारी गर्न थाले भन्ने खालको न्यारेटिभ पनि बनेको रहेछ, त्यसलाई पनि हामी सम्मान गर्छौँ । किनभने यो सबै रास्वपा रवि लामिछानेको एकल प्रयासले अभियानमा पछि हामी जोडिएका हौँ । त्यसमा दुईमतै छैन । त्यसैले उहाँलाई रास्वपाबाट अलग गराएर अगाडि जाने भनेको कसैले कल्पना गरेको छैन । त्यो बालेनले पनि सोच्नुभएको छैन, कुलमानले पनि सोच्नुभएको छैन । हामीसँग जोडिनुभएका सागर ढकालदेखि जो–जो छन्, जति पनि जोडिनुभएको छ, मिलन पाण्डे, विवेकशील साझा, जेनजीका विभिन्न समूह सुदन गुरुङ, बब्लु गुप्ता, पुरुषोत्तम यादव, रक्षा बम, जेनजी युनाइटेडका साथीहरूदेखि जेनजी एलायन्सका साथीहरू समेत सकारात्मक हुनुहुन्छ ।
तर यो मिडिया ट्रायलले गर्दा हाम्रा संगठित, लाखौँ सदस्यहरूमा शंका उब्जेको छ । त्यो नाजायज होइन । किनभने रवि लामिछाने जसले रास्वपा बनाउनुभयो, त्यो रास्वपामा अरूलाई समेट्दै गर्दाखेरि अलिकति बढी उदार, अलि बढी स्याक्रिफाइस हामीले गर्नुपर्छ । अभिभावकीय जिम्मेवारी हामीले लिनुपर्छ भनेर मात्रै हो । तर गणेश कार्कीले, मैले, तोसिमाले, सोबिताजीले, ज्वालाजीले, क्रान्तिशिखाले भनेर होइन ।
अब जेनजीको पार्टी पनि खोल्न सम्भव छैन । जेनजीको अहिले छरिएर बसेको मान्छेलाई एक ठाउँमा आउनलाई पनि गाह्रो छ । त्यसकारण कम्तीमा अहिलेलाई धेरै खराबहरूमध्ये अलिकति कम खराब या अलिकति कम दाग लागेको रास्वपा छ । यसलाई हामी बनाउन सक्छौँ । अगाडि बढाउन सक्छौँ । तर रविजी आफैले अपिल पत्र जारी गरेर सबैलाई एक ठाउँमा आउनलाई आह्वान गरेर हुन्छ कि उहाँको केस टुङ्गो नलागुन्जेलसम्म साझा निष्कर्षमा पुग्न सकिन्छ । अहिले हामीले तीनवटा फ्रन्टमा काम गरिरहेको छौँ ।
- तपाईंले मिडिया ट्रायलको कुरा गर्नुभयो । रास्वपाको कात्तिक २१ देखि २२ गतेसम्म केन्द्रीय समितिको विस्तारित भेला बस्दै छ । सभापति रवि लामिछानेको विकल्पसहित कुलमान घिसिङ, सुमना श्रेष्ठ, बालेन शाह, सुदन गुरुङलाई समेटेर एउटा नयाँ एलायन्स बनाउन खोज्दै छ भन्ने चर्चा सत्य हो ?
यो पुकार बम वा गणेश कार्कीले भनेको होइन । हरेक वार्ता र संवादमा आएका छलफलका प्रस्तावहरू हुन् यी । मान्छेहरूले आ–आफ्ना प्रस्ताव ल्याउँछन्, जुन कुरा मैले सचिवालयमा पनि जानकारी गराएको हुँ । त्यसपछि नै यो विषयलाई गम्भीर रूपमा लिएर स्वर्णिमजीको नेतृत्वमा उच्चस्तरीय कार्यदल पनि बनेको हो । तपाईंले भनेको कुरा पुकार बमले प्रस्ताव गरेको होइन, बाहिरबाट आएका प्रस्तावमा यस्तो आशय छ भनेर छलफल भएको हो, जसलाई मिडियाले ‘यिनीहरूले यस्तो गर्न खोजे’ भनेर प्रचार गर्यो ।
हामीले सबैसँग संवाद गरिरहेका छौँ । स्वर्णिमजी र डीपीजीसँग पनि मेरो प्रस्ट कुरा भएको छ । यो ‘आर्टिकल’ले राम्रो गरेन भनेर मैले भनेको छु । बिचरा कुलमानजीले आफैँले अध्यक्ष मागेको होइन, यी त छलफलमा आउने कुरा हुन् । कहिले ‘सभापति रवि, प्रधानमन्त्री कुलमान’ भन्ने प्रस्ताव आउँछ, कहिले आलोपालो प्रधानमन्त्रीको कुरा आउँछ । छलफलको चरणमा यस्ता प्रस्तावहरू आउँछन्, जुन स्वाभाविक हो । तर यसलाई अन्तिम निर्णय भइसके जसरी बुझ्नुभएन । यो सबै शीर्ष नेताहरू–कुलमान, बालेन, रविजी, स्वर्णिमजी, डीपीजी बसेर टुंग्याउने कुरा हो । त्यसैले, यस्ता छलफलका कुराले तरंगित हुनुपर्ने कारण म देख्दिनँ ।
रास्वपा अहिले वैकल्पिक पहिलो र मूलधारको पनि प्रमुख शक्ति हो । यस्तो बेला हामीले सानो मुटु बनाउनु हुँदैन । रविको केस छिनोफानो भइसकेपछि त्यसपछि अर्को कार्यकाल उहाँ नै सभापति हुनुहुन्छ ।स्ट्र्याटेजिकल्ली के गरेर हुन्छ मिलाएर जाउँ भनेको छु । बालेनको कार्यकाल सकिसकेपछि तेस्रो कार्यकाल बालेन प्रधानमन्त्री र सभापति आलोपालो बनाएर जान सकिन्छ । यी सबै प्रस्तावमा आएका विषय हुन्, हामीले ल्याएको होइन । त्यो पार्टीको साथीले त्यसरी बुझ्दिनुभएन । छलफल गर्दै जाने हो, नेगोसिएसन गर्दै जाने हो, बहस गर्दै जाने हो । त्यो छलफल र नेगोसिएसनको पनि स्टेप्सहरू हुन्छ ।
जस्तैः अहिले कुलमानजीलाई सभापति बनाउने कन्फर्म भइसक्या छैन । यो भोलिको दिनमा कुलमान, बालेन, रवि, डीपी अर्याल, स्वर्णिम वाग्लेले संवादमा बसेर कन्फर्म गर्नुहुन्छ होला । तर यही कुरा संवादमा आएकै कारण केही कुरा छलफल भएकै कारण तरंगित हुनुपर्ने मैले देख्दिनँ । त्यत्रो सानो मुटु बनाउन जरुरी देख्दिनँ । कम्तीमा अहिले वैकल्पिक शक्तिको रूपमा रास्वपा छ । सबभन्दा ठुलो अभिभावकीय जिम्मेवारी रास्वपाले नै लिनुपर्छ भनेर मैले यतिसम्मै प्रस्ताव गरेँ । भोलि आवश्यक परे पुकार बम केन्द्रीय सदस्य र अरू जिम्मेवारी छाडेर साधारण सदस्य बन्न पनि तयार छ ।
रास्वपालाई एउटै छातामा लिएर चुनाव चिह्न घण्टीबाटै निर्वाचन लड्नेगरी त्यतिसम्म कन्भिन्स गरिसक्या हो । यसमा बालेनसमेत कन्भिन्स भइसक्नुभएको थियो । कुलमानजी कन्भिन्स भइसक्नुभएको छ, सागर ढकालजस्तो मान्छेहरू कन्भिन्स हुनुभएको छ ।
- यो प्रस्ताव तपाईंले रविजीसँग भेटेर राख्नुभएको हो ?
हो, मैले र गणेशजीले दुई घण्टा बसेर उहाँसँग स्पष्ट कुरा राखेका थियौँ । यो हाम्रो मात्र होइन, बाहिरबाट आएको आवाज हो भनेर हामीले भनेका थियौँ । हामीले उहाँलाई भन्यौँ, ‘यो बेला तपाईं महान् बन्ने हो, उदारता देखाउने हो, तपाईंले नै बढी जिम्मेवारी लिनुपर्छ, तपाईंले भनेकोबाहेक अरूले भनेका पार्टी पङ्क्तिले सुन्दैनन् ।’
त्यो बेला उहाँ धेरै सकारात्मक हुनुहुन्थ्यो । त्यसपछि मैले भेट्न पाएको छैन, त्यसैले उहाँको मुखबाट नसुनी म अरूको कुरामा विश्वास गर्दिनँ । रविजी सबैलाई समेट्न सक्ने व्यक्ति हो । उहाँले नै बालेन, कुलमान, सुमना, गणेश, म सबैलाई जोड्न सक्नुहुन्छ । यो क्षमता अरू नेतामा छैन । त्यसैले, ‘दाइ, यो तपाईंकै जिम्मेवारी हो, सबभन्दा उदार र महान् तपाईं नै बन्नुपर्छ’ भनेर हामीले अनुरोध गर्दा उहाँले धेरै हदसम्म स्वीकार गरेर सकारात्मक हुनुभएको थियो । रवि दाइलाई हिजोको दिनमा प्रतिशोध भएकै हो भनेर धेरैले भन्नुभएकै छ । नक्खु कारागारबाट अपिल पत्र जारी गरेर सबैलाई एक ठाउँमा आउने उहाँले बनाउनुपर्छ । अहिले बल रास्वपाकै कोर्टमा छ । त्यसमा सबैभन्दा बढी जिम्मेवारी रवि दाइ नै हुनुपर्छ भन्ने खालको हिसाबमा धेरै साथीहरूले भन्नुभएको छ ।
खाली सभापतिको केसमा मात्रै अलिकति अड्किएको कुरा हो । अहिले एक्लाएक्लै गएर कतै पुगिँदैन भन्ने कुलमानजीको भनाइ छ । कांग्रेस, एमाले, माओवादीदेखि लिएर उहाँहरूको गठबन्धन भएर जुन चुनाव लड्दै छ, त्यसलाई भत्काउन एक ठाउँमा आउनुपर्ने सेन्सिटिभिटी बुझ्नुभएको छ ।
निश्चल बस्नेतले त स्पष्ट रूपमा रवि दाइलाई अहिलेको भन्दा बढी महान् भएको हामी देख्न चाहन्छौँ भन्नुभएको छ । योभन्दा बढी शक्तिशाली भएको हामी देख्न चाहन्छौँ । यो अभियान उहाँले नै सिर्जना गरेको हो, उहाँले नै बनाउनुभएको हो भनेर भनेका छन् ।
- कुलमानजीलाई सभापति बनाउने भन्ने कुरा पनि मिडिया ट्रायल मात्र हो ?
यो छलफलमा आएको एउटा प्रस्ताव हो । तर कुलमानजीले आफैँले अध्यक्ष बन्छु भन्नुभएकै छैन । उहाँ एकदमै लचक हुनुहुन्छ र एकताका लागि त्याग गर्न तयार हुनुहुन्छ । मैले उहाँलाई एउटा प्रस्ताव के राखेको थिएँ भने ‘अध्यक्षको हकमा सर्वसम्मत गरौँ, तर प्रधानमन्त्री र चुनावको अनुहार अहिलेलाई कुलमानजीलाई बनाऊँ । पहिलो कार्यकाल तपाईं, त्यसपछि रविजीको केस टुंगिएपछि उहाँ र पछि बालेनजीको कार्यकाल सकिएपछि उहाँलाई बनाउन सकिन्छ ।’ यो मेरो प्रस्ताव थियो । अस्ति भर्खर गणेशजी र म लगभग डेढ–दुई घण्टा बसेका थियौँ । कुलमानजी धेरै लचक हुनुहुन्छ ।
पार्टीभित्र र बाहिर सर्वसम्मत हुने हिसाबले अहिले बालेन प्रधानमन्त्री बन्नु हुन्न । उहाँ प्रधानमन्त्री र अध्यक्षको रेसमा अहिले हुनुहुन्न । गोपाल हमाल अहिले आफ्नो स्वास्थ्यको कारणले यो रेसमै हुनुहुन्न । तर उहाँले त्यस्तै पर्यो भने समर्थन गर्छु भन्ने खालको कुरा संवादको क्रममा बताउनुभएको छ । म आफैले समन्वय गरेर सुमनाजीलाई गोपाल हमाल कहाँ पठाएर कन्भिन्स गरेका थियौँ । बालेन, कुलमान, रवि, गोपी हमाललगायत एक ठाउँमा आउनुपर्छ भनेर गरिएको प्रयास हो । एक हिसाबले प्रयास जारी छ । ‘ब्रेक थ्रु’ हुन सक्ने सम्भावना एकदमै बढी देखेको छु । तर रास्वपाभित्रकै साथीहरूले बढी उदारता देखाउनुपर्छ, आत्तिनु हुँदैन । कतै पनि रविलाई माइनस गरेर जाने कम्प्रोमाइज र छलफल कतै भएको छैन ।
हामीलाई अहिले सबभन्दा मुख्य कुरा दुई तिहाइ बहुमतको एकल सरकार चाहिएको हो । को के बन्ने केही ठुलो कुरै होइन । भोलि सभापति आलोपालो गर्न मिल्छ । प्रधानमन्त्री आलोपालो गर्न मिल्छ । दुई वर्ष के डेढ वर्ष कुलमान, डेढ वर्ष या दुई वर्ष रवि, डेढ वर्ष बालेनजीले पनि चलाउनुहुन्छ । खाली सभापतिको केसमा मात्रै अलिकति अड्किएको कुरा हो । अहिले एक्लाएक्लै गएर कतै पुगिँदैन भन्ने कुलमानजीको भनाइ छ । कांग्रेस, एमाले, माओवादीदेखि लिएर उहाँहरूको गठबन्धन भएर जुन चुनाव लड्दै छ, त्यसलाई भत्काउन एक ठाउँमा आउनुपर्ने सेन्सिटिभिटी बुझ्नुभएको छ उहाँले ।
अहिलेसम्म लगभग दुई सयभन्दा बढीसँग भेटघाट, छलफलहरू भइसकेको छ । १५–२० वटाभन्दा ग्रुपहरूसँग समूहहरूसँग छलफल भइसकेको छ । अधिकांशको अनुरोध स्वयं रवि लामिछानेले नै पार्टी र जनताको नाममा अपिल जारी गरेर सबैलाई एक ठाउँमा आउने वतावरण बनाउनुपर्छ भन्ने छ । त्यसपछि सबैलाई मिल्न गाह्रो हुँदैन ।
- पछिल्लो समय रास्वपाभित्र असन्तुष्टि बढ्दै गएको देखिन्छ । सुमनाजीले त नेतृत्वको कार्यशैलीप्रति आक्रोश पोख्दै पार्टी नै छोड्नुभयो । गुटबन्दी हाबी भएको हो कि अवसरवाद ?
सुमनाजीको केसमा, उहाँले अझै बढी संघर्ष गर्नुपथ्र्यो र साथीहरूलाई बुझाउन समय दिनुपथ्र्यो जस्तो लाग्छ । रास्वपाका साथीहरू नबुझ्ने होइनन्, तर बुझाउन अलि समय लाग्छ । सायद उहाँले अलि हतार गर्नुभयो कि ! हामी– म, गणेश, तोसिमा–पार्टी छोड्दैनौँ, किनभने हाम्रो लागि व्यक्तिभन्दा अभियान ठुलो हो । यो अभियानमा धेरैलाई अटाउनुपर्छ, त्यसका लागि हामीले ठाउँ खाली गर्नुपर्छ । आवश्यक परे साधारण सदस्य भएर बस्न पनि हामी तयार छौँ । हामी भविष्यका लागि लडिरहेका छौँ, त्यसैले अहिले खाइने गाली–गलौज सामान्य हो ।
- निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया सुरु भइसकेको छ । यो अवस्थामा तपाईंहरूको एलायन्स रास्वपाभित्रै समेटिएर बन्छ कि छुट्टै बन्ने अवस्था छ ?
हाम्रो दोस्रो विकल्प ‘वर्स्ट केस सिनारियो’ हो, त्यो हाम्रो रोजाइ होइन । हाम्रो सबै प्रयास पहिलो विकल्पकै लागि हो– एउटै छातामुनि, एउटै चुनाव चिह्न, एउटै पार्टी भएर अगाडि बढ्ने । म व्यक्तिगत रूपमा दोस्रो विकल्पको पक्षमा छैन, किनभने मैले विगतमा विवेकशील अभियानमा यो सबै भोगेर र देखेर आएको छु । त्यो गल्ती फेरि नदोहोरियोस् भनेर नै हामी ज्यान दिएर लागेका छौँ ।
- त्यसो भए अबको चुनावमा परम्परागत दल एकातिर र रास्वपासहित बालेन, कुलमान, सुदन गुरुङको एलायन्स अर्कोतिर हुन्छ भनेर ग्यारेन्टी दिन सकिन्छ ?
हाम्रो प्रयास, हाम्रो संवाद, हाम्रो पहल सबै त्यसैका लागि हो । ८० प्रतिशतभन्दा बढी काम भइसकेको छ । अब बाँकी नेतृत्वले कति उदारता देखाउँछ, कति ‘मै मात्र’ भन्ने भावना त्याग्छ भन्नेमा भर पर्छ । यदि ‘हामी मात्रै’ भन्ने हो भने २० सिटको ठाउँमा २५ सिट आउला, तर देश बन्दैन ।
- नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने बल अब रविजीको हातमा छ हैन ?
हो, यो बल रविजीको हातमा छ, त्योभन्दा पनि रास्वपाको हातमा छ, र अन्तिममा रविजीकै हातमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण