बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय मुक्ति पार्टीले एकताका लागि पठाएको पत्रबारे जसपामा छलफल

बुधबार, १२ कात्तिक २०८२, १४ : २८
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र अशोक राईको जसपाबीच एकताका लागि गृहकार्य सुरु भएको छ।
  • राष्ट्रिय मुक्ति पार्टीले एकताका लागि जसपालाई आधिकारिक पत्र पठाएको छ, जसको जवाफमा पार्टीले बैठक गर्नेछ।
  • दुवै पार्टीबीच कार्यगत एकता भइसकेको र जेनजी आन्दोलनपश्चात एकताको पहल गर्नुपर्नेमा जोड दिइएको छ।

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बिच एकताका लागि गृहकार्य सुरु भएको छ । 

राष्ट्रिय मुक्ति पार्टी नेपालले एकताका लागि जसपालाई आधिकारिक पत्र पठाइसकेको छ । जसपाका एक नेताले भने, ‘राष्ट्रिय मुक्ति पार्टीले एकताका लागि आग्रह गर्दै पत्र पठाएको छ । त्यो पत्रको बारेमा पार्टीमा बैठक बसेर छलफल गरी जबाफ पठाउने छौँ ।’ 

पार्टी एकता लगायतका विषयमा छलफल गर्न जसपाले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

राष्ट्रिय मुुक्ति पार्टी र जसपाबिच एकता उन्मुख कार्यगत एकता गत साउनको अन्तिम साता नै भएको हो । कार्यगत एकतापछि सामूहिक रूपमा काम गर्दै जाने र अनुकूल समयमा एकता घोषणा गर्ने योजना दुवै पार्टी थियो । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले परिस्थिति फेरिएका कारण तत्काल एकताका लागि पहल गर्नुपर्नेमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जोड दिएको स्रोतले जनाएको छ । राष्ट्रिय मुक्ति पार्टीले कात्तिक महिनाभित्रै एकता टुङ्गो लगाउन प्रस्ताव गरेको छ ।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव सन्तोष मेहताले जसपाबाट आधिकारिक पत्र माग गरेको विषयमा आफूले अध्यक्ष महतोबाट सुनेको तर पत्र पठाए कि पठाएनन् भन्ने जानकारीमा नरहेको बताए । आफू काठमाडौँभन्दा बाहिर रहेको कारणले पत्रको बारेमा जानकारी नरहेको बताउँदै उनले एकताका लागि दुवै पक्ष सकारात्मक रहेको र चाँडै नै एकताको घोषणा हुने दाबी गरे । 

यता, जसपा नेपालका उपमहासचिव प्रदीप यादवले राष्ट्रिय मुक्ति पार्टीले पठाएको पत्रको बारेमा आफूलाई अहिले कुनै जानकारी नरहेको तर एकता वा सहकार्यको बारेमा कुराकानी पहिलादेखि चल्दै आएको बताए । दुवै पार्टीको बिचमा कार्यगत एकता भएको अवस्थामा सबै कुरा मिल्यो भने एकता पनि हुनसक्ने उनको भनाइ छ । पार्टीले त्यसको बारेमा हालसम्म कुनै निर्णय भने नगरेको उनले बताए । 

‘आज पार्टीको कार्यकारी समितिको बैठक बस्दैछ । यदि पत्र आए भए त्यसबारेमा छलफल हुन्छ,’ यादवले भने, ‘जोसँग विचार, सिद्धान्त र मुद्दा मिल्छ, उनीहरूसँग एकता वा मोर्चाका लागि पहल हुन्छ ।’

जेनजी आन्दोलनपछि देशमा उत्पन्न नयाँ परस्थितिबारे समीक्षा गर्दै संगठनलाई कसरी अगाडि बढाउने बारेमा पनि बैठकमा छलफल हुने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप