शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राष्ट्रियसभा

राष्ट्रियसभा : फागुन २० देखि क–कसको सकिँदैछ कार्यकाल ?

कुन प्रदेशमा कुन कलस्टरको सिट खाली हुँदैछ ?
बुधबार, १२ कात्तिक २०८२, २० : ०६
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • मन्त्रिपरिषद्ले राष्ट्रिय सभाका एक तिहाइ सदस्यका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ।
  • आगामी फागुन २० गते कार्यकाल सकिने सदस्यहरूको निर्वाचनका लागि यो निर्णय सुशीला कार्की नेतृत्वको सरकारले गरेको हो।
  • निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी र मनोनीत सदस्यहरूको कार्यकाल सकिनेछ।

काठमाडौँ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

आगामी फागुन २० गते सकिने एक तिहाइ सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय सुशीला कार्की नेतृत्वको सरकारले गरेको हो ।

फागुन २० गते कार्यकाल सकिनेमा एमालेका ८, माओवादीका ७, नेकपा (एकीकृत समाजवादी)का १, लोकतान्त्रिक समाजवादीका एक, जनता समाजवादी पार्टीका एक र एक जना मनोनीत छन् ।

सङ्घीय संसद् सचिवालयको रेकर्ड अनुसार नेकपा एमालेबाट कोशी प्रदेशको महिला कलस्टरबाट जितेकी इन्दिरादेवी गौतम, लुम्बिनी प्रदेशको अन्य कलस्टरबाट निर्वाचित भएका गोपाल भट्टराई, मधेस प्रदेशको महिला कलस्टरबाट जितेकी तुलसाकुमारी दाहाल, कोशी प्रदेशको अन्य कलस्टरबाट जितेका देवेन्द्र दाहाल, गण्डकी प्रदेशको महिला कलस्टरबाट जितेकी भागवती न्यौपाने, लुम्बिनी प्रदेशकी महिला कलस्टरबाट जितेकी विमला घिमिरे र सुदूरपश्चिम प्रदेशको महिला कलस्टरबाट जितेकी शारदादेवी भट्ट र कर्णाली प्रदेशको महिला कलस्टरबाट जितेकी सुमित्रा बिसीको कार्यकाल सकिँदै छ ।

घिमिरे अहिले राष्ट्रियसभाकी उपाध्यक्ष हुन् । भगवती न्यौपाने निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिइन् । देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट कोशी प्रदेशको दलित कलस्टरबाट जितेका गोपीबहादुर सार्की अछामी, बागमती प्रदेशको महिला कलस्टरबाट जितेकी गंगाकुमारी बेलबासे, लुम्बिनी प्रदेशको अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायको कलस्टरबाट जितेका जगप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशको अन्य कलस्टरबाट जितेका तारामान स्वार, गण्डकी प्रदेशको अन्य कलस्टरबाट जितेका नारायणकाजी श्रेष्ठ, कर्णाली प्रदेशको अन्य कलस्टरबाट जितेका मायाप्रसाद शर्मा, मधेस प्रदेशको दलित कलष्टरबाट जितेका राधेश्याम पासवानको कार्यकाल सकिँदैछ । श्रेष्ठ माओवादीको निवर्तमान केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष थिए ।

त्यस्तै एकीकृत समाजवादीबाट बागमती प्रदेशको अन्य कलस्टरबाट जितेका डा. बेदुराम भुसालको पनि कार्यकाल सकिँदैछ । उनी पार्टीका वरिष्ठ नेता हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट मधेस प्रदेशबाट अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट जितेका शेखरकुमार सिंहको पनि पदावधि सकिँदैछ ।

जनता समाजवादी पार्टीको तर्फबाट मधेस प्रदेशमा अन्य समूहबाट जितेका मृगेन्द्रसिंह यादवको पनि कार्यकाल सकिँदैछ ।सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतमको पनि कार्यकाल सकिँदैछ । उनी अहिले नेकपा (एकीकृत समाजवादी) वरिष्ठ नेता छन् ।

प्रदेशसभा सदस्य र नगरपालिका प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष रहेको निर्वाचन मण्डलद्वारा सङ्घीय कानुन बमोजिम प्रदेश सभा र स्थानीय तह प्रमुखको मतभार फरक फरक रहनेछ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार आयोगले प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप