राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक १८ देखि २० गतेसम्म कतारमा आयोजना हुने शिखर सम्मेलनमा भाग लिनेछन्।
- उनी कतारका अमिरको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुने भएका हुन्।
- सम्मेलनमा सामाजिक विकास, असमानता, जनसङ्ख्या असन्तुलन र प्रविधिका प्रभावबारे छलफल हुनेछ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । सो औपचारिक भ्रमणका लागि उनी यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्ने उनले बताए । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्नेछन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणबारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सो दोस्रो सम्मेलनको महत्त्व र गरिमा अनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गरे ।
सम्मेलनका दौरान राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ । यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक सम्मेलन कतारले आयोजना गरेको हो ।
सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ । सचिव राईले भने, ‘सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्नेछ ।’
संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहि आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेकाले पनि सम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण